राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन, सञ्चालन र स्वास्थ्य सेवाको अवस्थाप्रति प्रतिनिधिसभामा गम्भीर चासो व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कार्कीले विश्वविद्यालयको वास्तविक सञ्चालन केन्द्रबारे नै अन्योल रहेको टिप्पणी गरे। उनले विश्वविद्यालय गोठगाउँमा रहेको भए पनि केही डिन कार्यालय तथा परीक्षा व्यवस्थापन कार्यालय अझै विराटनगरबाट सञ्चालन भइरहेको उल्लेख गर्दै यसको स्पष्टता आवश्यक रहेको बताए।
‘पूर्वाञ्चल विश्वविद्यालय कहाँ छ ? गोठगाउँमा छ कि विराटनगरमा ? हेर्दा थाहा पाउन नै गाह्रो भइरहेको छ,’ उनले भने।
कार्कीले विश्वविद्यालयअन्तर्गत सञ्चालित शिक्षण अस्पतालको अवस्था पनि सन्तोषजनक नरहेको बताए। स्थानीयवासीले चिकित्सक नियमित रूपमा उपस्थित नहुने गुनासो गर्ने गरेको उल्लेख गर्दै उनले त्यसका कारण बिरामीको आकर्षणसमेत घटेको बताए।
उनका अनुसार डाक्टरहरूले भने आइसियू, भेन्टिलेटरलगायतका आधारभूत स्वास्थ्य सेवा तथा उपकरणको अभाव रहेको गुनासो गर्दै आएका छन्।
सांसद कार्कीले विश्वविद्यालयका समस्या केवल आर्थिक अभावका कारण नभई व्यवस्थापकीय कमजोरीका कारण पनि उत्पन्न भएको बताए। पूर्वाञ्चल विश्वविद्यालयमा देखिएको बेथितिले मोरङ, कोशी प्रदेश तथा समग्र देशकै स्वास्थ्य र शैक्षिक क्षेत्रको प्रतिष्ठामाथि प्रश्न उठाएको उनको भनाइ थियो।
उनले विश्वविद्यालयको अवस्था सुधारका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्न आग्रह गरेका छन्।