- धितोपत्रसम्बन्धी कानुन छल्दै सुलभ अग्रवालले करिब २५ करोडको सेयर छोराको नाममा हस्तान्तरण गरी बिक्री गर्ने प्रयास गरेको प्रहरी अनुसन्धानमा पाइएको छ
व्यापारिक घराना शंकर ग्रुपका सुलभ अग्रवालले आफू अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्सको करिब आठ लाख कित्ता सेयर गैरकानुनी रूपमा आफ्नै छोराको नाममा हस्तान्तरण गरेको खुलासा भएको छ । श्रीमतीसँगको अंश मुद्दालाई आधार बनाई धितोपत्रसम्बन्धी कानुन छल्दै करिब २५ करोडको सेयर छोराको नाममा स्थानान्तरण गरी बिक्री गर्ने प्रयास गरिएको अनुसन्धानमा देखिएको हो ।
हाल सम्पत्ति शुद्धीकरणलगायत कसुरमा दुई महिनादेखि थुनामा रहेका अग्रवालविरुद्ध यसै प्रकरणमा छुट्टै मुद्दा दायर गर्ने तयारी भइरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुलभ अग्रवाल र उनका छोरा कृषिव अग्रवालविरुद्ध नयाँ अभियोग अघि बढाउने तयारी गरेको हो ।
अग्रवालले आफू अध्यक्ष भएकै वेला आठ लाख तीन हजार ३१ कित्ता सेयर छोराको नाममा हस्तान्तरण गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए, जुन धितोपत्र ऐनको बर्खिलाप छ । धितोपत्रसम्बन्धी कानुनअनुसार पब्लिक कम्पनीका सञ्चालकले पद छोडेको एक वर्षसम्म सेयर बिक्री गर्न नपाइने व्यवस्था छ । तर, सुलभ अग्रवालले आफू अध्यक्ष रहँदै ठुलो परिमाणमा सेयर छोराको नाममा हस्तान्तरण गरेको देखिएको छ ।
अदालतमा बनावटी मुद्दा
अनुसन्धानअनुसार कानुन छल्ने योजनाअनुसार अग्रवालकी श्रीमती सुभीले ३ भदौ ०८० मा जिल्ला अदालतमा अंशबन्डा माग गर्दै सुलभ अग्रवाललाई विपक्षी बनाई मुद्दा दायर गरेकी थिइन् । तर, सम्बन्ध बिग्रिएर नभई पारिवारिक सहमतिमै रणनीतिक रूपमा उक्त मुद्दा दायर गरिएको देखिएको छ । त्यसरी अंशचलनको मुद्दाबाट सुलभको नाममा रहेको सेयर बिक्री गर्ने योजनाअनुसार मुद्दा दायर भएको थियो । जुन मुद्दामा २० चैत ०८१ मा मिलापत्र भयो । सुभीले नभई छोरा कृषिवलाई आठ लाख तीन हजार ३१ कित्ता सेयर र एक करोड रुपैयाँ नगद दिने भनेर यसरी नाटकीय रूपमा मिलापत्र भयो ।
सोही मिलापत्रको कागज पेस गरी भृकुटी स्टकमार्फत सेयर हस्तान्तरण गरिएको थियो । त्यसपछि सेयर बिक्री गर्न थालिएको थियो । कम्पनीको सेयर मूल्य घट्ने भएकाले अग्रवाल परिवारले त्यसरी मुद्दाको प्रपञ्च गरेर सञ्चालककै नामको सेयर बिक्री गरेको हो । त्यसवेला करिब ३२ करोड रुपैयाँबराबरको सेयर हस्तान्तरण भएको सिआइबीको अनुसन्धानमा खुलेको छ । सिआइबीका अनुसार यो प्रक्रिया कानुन छल्ने उद्देश्यले गरिएको हो र यस सम्बन्धमा छुट्टै मुद्दा दायर गर्न सिफारिस गरिएको छ । सिआइबीका एआइजी डा. मनोजकुमार केसीका अनुसार यस विषयमा थप अनुसन्धान जारी छ । पब्लिक कम्पनीका सञ्चालकले पद छाडेको एक वर्षसम्म पनि सेयर बिक्री गर्न नपाइने व्यवस्था धितोपत्रसम्बन्धी कानुनमा छ । सोही कानुन छल्नका लागि सुलभले आफू अध्यक्ष भएकै वेला त्यसरी छोराको नाममा करोडौँ मूल्यको सेयर हस्तान्तरण गरेका हुन् ।
एकैपटक चार मुद्दा दायरको तयारी, सयभन्दा धेरै प्रतिवादी
बिचौलिया दीपक भट्ट र शंकर समूहसँग सम्बन्धित विभिन्न आर्थिक अपचलनका विषयमा एकैपटक चारवटा मुद्दा दायर गर्ने तयारी भएको छ । सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयले सम्भवतः बिहीबार मुद्दा दायर गर्दै छन् । विशेष अदालतमा सम्पत्ति शुद्धीकरण र जिल्ला अदालतमा धितोपत्र कसुर तथा बैंकिङ कसुरको मुद्दा दायर हुन लागेको छ । धितोपत्रको कसुरमा दुईवटा छुट्टाछुट्टै मुद्दा दायर हुन लागेको छ । विशेष अदालतले भट्ट र सुलभ अग्रवाललाई बुधबारसम्म थुनामा राख्न म्याद दिएको थियो । चारवटै मुद्दामा गरेर सयभन्दा धेरै प्रतिवादी रहेको स्रोत बताउँछ । जसमा शंकर ग्रुपका सञ्चालकदेखि शेखर गोल्छा तथा हिमालयन रिइन्स्योरेन्सका सहायक कम्पनीका सञ्चालक र सिइओहरू छन् । नेपालमा धितोपत्र र सम्पत्ति शुद्धीकरणमा यो अहिलेसम्मकै ठुलो मुद्दा हुनेछ । बिहीबार मुद्दा दायर गर्ने गरी गृहकार्य भइरहेको विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी पूर्णेन्द्र पाण्डेय बताउँछन् ।