काठमाडौं जिल्लाको टोखा नगरपालिका– ५, बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट)मा बुधबार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा करिब आठकरोड रुपैयाँबराबरको क्षति भएको छ।
प्रहरीका अनुसार बिहान अन्दाजी २:५२ बजे सुरु भएको आगलागी ११ वटा दमकल, एक पानी ट्यांकर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायहरूको संयुक्त प्रयासमा करिब ५:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
आगलागीबाट सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज पूर्ण रूपमा नष्ट भएको छ। साथै अन्नपूर्ण किराना स्टोर र प्रतीक्षा इलेक्ट्रोनिक्समा समेत उल्लेखनीय क्षति पुगेको छ। त्यस्तै, लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेसनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति भएको बताइएको छ।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीको कारण, क्षतिको यथार्थ विवरण तथा अन्य पक्षबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब आठ करोड रुपैयाँबराबरको आर्थिक क्षति भएको छ।