सदस्यता अद्यावधिक नगर्ने अडानमा कांग्रेस इतर समूह १५औँ महाधिवेशनमा भाग लिनबाट कोही वञ्चित हुने छैनन् : खड्का

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

कांग्रेसको इतर पक्षले क्रियाशील सदस्यता अद्यावधिकको विषय १५औँ महाधिवेशनको आधार बन्न नसक्ने दाबी गरेको छ । नवीकरणलाई आधार मान्नुपर्ने र अद्यावधिक जरुरी नहुने इतर पक्षले स्पष्ट पारेको छ ।

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले अद्यावधिक नगरेको निहुँमा कसैलाई १५औँ महाधिवेशनमा भाग लिनबाट वञ्चित गर्न/गराउन नसक्ने बताएका छन् । ‘१५औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरूलाई अद्यावधिक नगरेको निहुमा कसैलाई १५औँ महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न/गराउन सक्दैन,’ खड्काले आइतबार सामाजिक सञ्जालमा भनेका छन्, ‘सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो ढुक्क हुनुस् ।’

नेताहरूको क्रियाशील सदस्यता अद्यावधिक स्वतः केन्द्रले गराइदिन्छ भनी फैलाइएका अफवाह पार्टीपंक्तिमा भ्रम पार्न गराइएका हल्ला मात्र भएको खड्काले दाबी गरेका छन् । उनले सभापति गगन थापासँग कुनै पनि प्रकृतिको संवाद नभएको ३१ दिन भएको पनि स्पष्ट पारेका छन् । 

दुई महिनादेखि पार्टीको सम्पूर्ण एकताका लागि इमानदार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति नभएको उनले बताएका छन् । ‘दुई महिनादेखि पार्टीको सम्पूर्ण एकताका लागि इमानदार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति भएको छैन । अहिले आएर केही दिनयता पार्टीबारे चलाइएका यथार्थभन्दा फरक हल्ला र विकसित घटनाक्रमबाट चिन्तित भएको छु । १५औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्य साथीहरूलाई अद्यावधिकको नाममा दिइएका दबाबका कुराहरू देशैभरिबाट फोनबाट चार–पाँच दिनदेखि मलाई साथीहरूले जुन तरिकाले जानकारी गराइराख्नुभएको छ, यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ खड्काले भनेका छन् । 

इतर पक्षका नेता मीन विश्वकर्मा आन्तरिक एकताको बाधक मानसिक तत्परता भएको बताउँछन् । ‘बाधक मानसिक तत्परता हो । मिलाउने कि नमिलाउने भन्ने कुरा हो । मिल्ने विषय ठुलो छैन । १४औँ महाधिवेशनको कार्यसमितिमा रहेका र विशेष महाधिवेशनमा भाग नलिएकालाई मिलाएर लैजाने कुरा हो । मिल्न सकिन्छ, अद्यावधिक नगरेकै कारणलाई आधार मान्नुभएन,’ उनले भने, ‘जग्गाको सन्दर्भमा हालसाबिक नभएकै कारण बिक्री–वितरण नगर्ने भन्ने होइन, किनबेच भएपछि पनि अद्यावधिक गर्न सकिन्छ । पार्टीको सन्दर्भमा पनि नवीकरणलाई आधार मानौँ, अद्यावधिकलाई होइन ।’

अहिलेसम्म बनेका समितिलाई समावेशी बनाउने, निष्पक्ष, स्वतन्त्र महाधिवेशनको ग्यारेन्टी गर्ने, क्रियाशील सदस्यता छानबिन समितिमा सहमतिका आधारमा अघि बढ्ने विषय मुख्य भएको उनले बताए । ‘कम्तीमा १५औँ महाधिवेशनसम्म अल्पमत, बहुमत गर्नुभएन । कांग्रेसको अभ्यास पनि यही हो । विगतमा सहमतिमै निर्णय हुँदै आएका छन् । १५औँ महाधिवेशनसम्म मनको प्रयोग गरौँ,’ उनले भने, ‘मुलुकको राजनीतिक परिस्थिति विषम छ । एकताबद्ध भएर कांग्रेसले चुनौतीको सामना गर्नुपर्छ । कांग्रेसको आन्तरिक एकताले अस्थिरताका धेरै बादल फाट्दै जान्छन् । भित्र हुनेले के गर्नुहुन्छ, त्यसैमा भर पर्छ ।’

सुझावित समाचार