नेपालले २०औँ एसियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि सोमबार हङकङविरुद्ध खेल्दै छ । सिंगापुरमा आइतबार भएको सेमिफाइनल खेलमा नेपाल र हङकङले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै उपाधि भिडन्त पक्का पारेका हुन् । अहिलेसम्म यी दुवै टोली अपराजित छन् । प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई आठ विकेटले हरायो । हङकङले मलेसियामाथि ६ विकेटको जित निकाल्यो । समूह ‘ए’मा नेपालले चीन र मलेसियालाई हराएको थियो ।
हङकङले ओमान, बहराइन र आयोजक सिंगापुरलाई पाखा लगाएको थियो । ओमान र मलेसियाबिच सोमबार नै तेस्रो स्थानका लागि खेल हुनेछ । सेमिफाइनलमा पुगेका चारै टोली यसअघि नै जापानमा हुने एसियाली खेलुकदमा छनोट भइसकेका छन् । अब एसियाली खेलकुदमा यी चार टोलीसहित आयोजक जापान, टेस्ट राष्ट्रहरू अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । नेपाल लगातार दोस्रोपटक एसियाली खेलकुदमा छनोट भएको हो ।
नेपालको सहज जित पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ
गरेको ओमान १९.४ ओभरमा ९४ रनमा अलआउट भयो । प्रत्युत्तरमा नेपालले ९.२ ओभरमा दुई विकेटको क्षतिमा जित निकाल्यो । नेपालको सानदार जितमा लोकेश बमले २६ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ४४ रन बनाए । ओपनर कुशल भुर्तेलले २० रन बनाउन आठ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । भुर्तेलले यसअघि मलेसिया र चीनविरुद्धको लगातार खेलमा शतकीय इनिङ्स खेलेका थिए । पूर्वकप्तान रोहित पौडेल २० बलमा २१ रनमा अविजित रहे ।
ओमानका लागि समिर ओथामनले दुई विकेट लिए । ओमानको ब्याटिङ कमजोर बनाउन नेपालका फास्ट बलर करण केसीले चार ओभरमा २० रन खर्चेर तीन विकेट लिएका थिए । उनी खेलका म्यान अफ दी म्याच बने । ओमानका लागि कप्तान सफियान मोहम्मदले ४२ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३८ रन बनाए । जुबिर अली अकबरले १४ बलमा पाँच चौकासहित २२ रन जोडे । सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट हात पारे । कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।
हङकङ ६ विकेटले विजयी
दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेट हराएको थियो । मलेसियाले पहिलो ब्याटिङ गरी नौ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । हङकङले साहिद वासिफको अर्धशतकको सहयोगमा चार विकेट गुमाएर जित निकाल्यो । हङकङले १८.२ ओभरमा जित निकालेको हो । साहिदले अविजित ५९ रन बनाउन ४२ बलमा तीन चौका र ६ छक्का हिर्काएका हुन् । बाबर हायतले अविजित २४ रन बनाए । उनले ३२ बलमा समान एक चौका र छक्का हिर्काएका थिए ।
मलेसियाका लागि बिरन्दिपले नै ४१ बलमा सर्वाधिक ४५ रन जोडेका थिए । उनले चार चौका र दुई छक्का प्रहार गरे । हङकङका इहसान खानले सर्वाधिक चार विकेट लिएका थिए । आयुष शुक्ला, हसन खानले समान दुई विकेट लिएका थिए ।