पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू व्यक्तिगत रूपमा ढल्न र पसारिन सक्ने भए पनि घुँडा टेक्ने वा शिर झुकाउने व्यक्ति नभएको बताएका छन् ।
बुधबार नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले देश र जनताको पक्षमा लड्ने संकल्प ६० वर्षअघि लिएको उल्लेख गर्दै आफू कमजोर नभई थप बलियो बनेको दाबी गरे।
उनले आफू अन्याय, अत्याचार र प्रतिक्रियावादी शक्तिहरूको दबाबसामु नझुक्ने बताएका छन्। उनले देशको सार्वभौमसत्ता, स्वाधीनता तथा भौगोलिक अखण्डताजस्ता विषयमा कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारे। साथै, प्रतिक्रियावादी शक्तिहरूको दमन, धाकधम्की, त्रास र भयको वातावरणबाट आफू विचलित नहुने उनको भनाइ थियो।
कतिपय सञ्चारमाध्यमले आफ्नो अभिव्यक्तिलाई ‘दम्भ’का रूपमा प्रस्तुत गर्न सक्ने उल्लेख गर्दै उनले त्यो दम्भ नभई देशप्रतिको प्रेम भएको जिकिर गरे। सबैले यस विषयलाई सही ढंगले बुझ्नुपर्ने उनको भनाइ थियो।