२०औँ एसियन क्रिकेट छनोट : चीनलाई हराए नेपाल एसियाली खेलकुदमा छनोट

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण
  • सेमिफाइनलमा मलेसियासँग पराजित भएपछि सिधै एसियन गेम्समा छनोट हुन चुकेको नेपाल तेस्रो स्थानका लागि चीनलाई हराए छनोट हुने

मलेसियासँग २ विकेटले पराजित भएपछि नेपालले सिधै जापानमा हुने २०औँ एसियाली खेलकुदको महिला क्रिकेटमा छनोट हुने अवसर गुमाएको छ । शनिबार सेमिफाइनलमा हार भोगेको नेपालले आज तेस्रो स्थानको लागि हुने खेलमा चीनलाई हराए एसियाली खेलकुदमा छनोट हुनेछ । यस प्रतियोगिताबाट तीन टिम एसियाली खेलकुदमा छनोट हुनेछन् । छनोटको फाइनलमा पुगेका मलेसियासँगै थाइल्यान्डले एसियाली खेलकुद खेल्ने पक्का गरेका छन् । 

यसअघि नेपालले समूह चरणमा चीन र इन्डोनेसियालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । त्यसैले तेस्रो स्थानको खेलमा पनि इन्दु बर्माको कप्तानीमा रहेको नेपालले खेल जित्ने अनुमान गरिएको छ । 

१२७ रनको लक्ष्य
मलेसियाको वायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २७ रनको लक्ष्य दियो । प्रत्युत्तरमा मलेसियाले १८.४ ओभरमा ८ विकेट गुमाउँदै जित निकाल्यो । मलेसियाको जितमा आइना हमिजा र एल्सा हन्टरले दोस्रो विकेटको लागि ७० रनको साझेदारी गर्दै सहज जित दिलाए । एल्साले २४ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् । आइनाले १८ रनको योगदान गरिन् ।

धनसुरी मुहुनान २१ रन जोडिन् । नेपालकी रिया शर्माले ३ किवेट लिइन् । मनीषा उपाध्याय र रुबिना क्षेत्रीले समान दुई विकेट लिएका थिए । त्यसअघि पहिलो इनिङ्समा नेपालले सुरुवात राम्रो गर्न सकेन । ओपनर सम्झना खड्का २ र सोनी पाख्रिन ६ रनमा आउट भएका थिए । कप्तान इन्दु बर्माले ४१ बलमा ५ चौकाको सहयोगमा ४६ रन बनाइन् । कविता कुँवर १५ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाउँदा रुबि पोद्दार र १७ तथा उपकप्तान पूजा महतो १५ रन जोडेका थिए । रुबि र कप्तान इन्दुले तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । मलेसियाका लागि बिनिफ्रेड दुराई सिंघमले २ तथा माहिरा इस्माली र आइसा एलिसाले समान १ विकेट आफ्नो नाममा गरिन् ।

पुरुष टिम पनि चीनसँग खेल्दै 

एसियन गेम्स छनोटको तेस्रो स्थानका लागि महिलातर्फ नेपाल र चीन प्रतिस्पर्धा गर्दा पुरुषतर्फ पनि नेपालले चीनकै सामना गर्दै छ । प्रतियोगितामा पुरुष टिमले पहिलो खेल खेल्न लागेको हो । पुरुष टोली छनोट खेलका लागि सिंगापुरमा रहेको छ । प्रतियोगितामा नेपालसहित सात देशले सहभागिता जनाउँदै छन् । नेपाल रहेको समूह ‘ए’मा चीन र मलेसिया छन् । समूह ‘बी’मा ओमान, हङकङ बहराइन र सिंगापुर छन् ।

हरेक समूहका शीर्ष दुई राष्ट्र एसियन गेम्सको पुरुष क्रिकेटका लागि छनोट हुनेछन् । छनोट भएका चार टोलीले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र आयोजक जापानसँग एसियन गेम्समा खेल्नेछन् । 

नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्दै छन् । टिममा रोहित पौडेल कुशल भुर्तेल, आसिफ सेख, सन्दीप लामिछाने, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, करण केसी र साहब आलम छन् । 

See More On

सुझावित समाचार