हिमालयन रिसहित पाँच कम्पनीको तीन अर्ब ७३ करोड दुरुपयोग
- बिमा कसुरमा पाँच वर्ष कैदको माग गर्दै सिआइबीले सरकारी वकिल कार्यालयमा बुझायो अनुसन्धान प्रतिवेदन
हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीको तीन अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर खरिद गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिचौलिया दीपक भट्टसहित ४० भन्दा धेरैविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । बिमा कसुरमा पाँच वर्षसम्म कैद सजायको माग गर्दै मुद्दा चलाउन बुधबार सिआइबीले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाएको हो ।
सिआइबीले हिमालयन रिका तत्कालीन सञ्चालक, उच्च व्यवस्थापक, सहायक कम्पनीका सञ्चालक र व्यवस्थापन तथा सेयर ब्रोकर कम्पनीका सञ्चालकमाथि मुद्दा चलाउन सिफारिस गरेको छ ।
‘बिमा ऐनअनुसारको कसुरमा अनुसन्धान सकेर हामीले आफ्नो प्रतिवेदन बुझाएका छौँ,’ सिआइबीका निर्देशक एआइजी डा. मनोजकुमार केसीले भने, ‘यसमा ४० भन्दा धेरैको मिलेमतो देखिएको छ ।’
भट्टसँगै हिमालयन रिका तत्कालीन अध्यक्ष शेखर गोल्छासहित सञ्चालकहरू सुलभ अग्रवाल, अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला र भारतीय नागरिक मनीष कुमार तथा सिइओ उपासना पौडेललगायतको यसमा मिलेमतो रहेको सिआइबीको निष्कर्ष छ । उनीहरूमध्ये दीपक भट्ट र सुलभ अग्रवाल भने हिरासतमै छन् ।
भट्टले इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रिमा ४.५० प्रतिशत अर्थात् ४६ लाख ८० हजार कित्ता सेयर लगानी गरेका छन् । उनकै पहलमा यो रि–इन्स्योरेन्स स्थापना भएको हो । हिमालयन रि–इन्स्योरेन्स स्थापनामै ठुलो नीतिगत र संगठित अनियमितताको आरोप लाग्दै आएको छ । स्थापनापछि पनि उनले निजी कम्पनीका रूपमा कम्पनीको पैसा दुरुपयोग गरेको खुलेको छ ।
‘उनले जे भन्यो सञ्चालक समिति र कर्मचारीले त्यही गर्ने देखियो,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारी भन्छन्, ‘बिमकको पैसा उनीहरूको अनुमतिविना प्रयोग गर्न पाइँदैन, तर अरबौँ रकम दुरुपयोग गरी व्यक्तिगत सेयर खरिद गरेको देखियो ।’
बिमा प्राधिकरणले नै सुरुमा यस विषयमा छानबिन गरेको थियो । प्राधिकरणकै छानबिन प्रतिवेदनमा टेकेर सिआइबीले पहिलो चरणको अनुसन्धान पूरा गरेको हो । सिआइबीको अनुसन्धान प्रतिवेदन अध्ययन भइरहेको र सम्भवतः आगामी साता सरकारी वकिल कार्यालयमा मुद्दा दर्ताको सम्भावना रहेको सरकारी वकिल कार्यालयका अधिकारी बताउँछन् ।
पाँच कम्पनीमार्फत तीन अर्ब ७३ करोड अपचलन
बिचौलिया भट्ट र उनको समूहले कम्पनीमा तीन अर्ब ७३ करोड दुरुपयोग गरी आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गरेका थिए । सो पैसा उनीहरूले सेयर खरिदमा प्रयोग गरेका थिए । सेयर बजारमा निश्चित कम्पनीको मूल्य बढाउने र घटाउने गरी सेयर खरिद–बिक्री गर्दै आएका थिए । जसमा सिआइबीले धितोपत्रसम्बन्धी कसुरमा छुट्टै अनुसन्धान गरिरहेको छ ।
सिआइबीले बुझाएको प्रतिवेदनमा हिमालयन रिबाट दुई अर्ब ८१ करोड ३३ लाख १५ हजार, हिमालयन रिकै सहायक कम्पनी हिमालयन क्याप सर्व ३७ करोड, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडबाट २२ करोड १९ लाख ७१ हजार, एचएलआई लार्ज क्याप फन्डबाट २५ करोड १४ र नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख दुरुपयोग गरेका थिए । सिआइबीले हिमालयन इन्भेस्टमेन्ट बैंकका कपिलकुमार दाहाल, दीपककुमार श्रेष्ठ, एचएलआई लार्ज क्याप फन्डका सुमेरशमशेर जबरा, जावलाखेल डिस्टिलरीका राजबहादुर शाह, भृकुटी ब्रोकरका सञ्चालक सन्दीप चाचनलगायतविरुद्ध धितोपत्रसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।
धितोपत्र ऐनअनुसार एक करोडभन्दा धेरै बिगो रहेको मुद्दामा तीनदेखि पाँच वर्षसम्म कैद र बिगोअनुसार जरिवानाको सजाय हुने प्रावधान छ । सोहीअनुसार यसमा सिआइबीले मागदाबी लिएको छ ।
हिमालयन रिका पूर्वअध्यक्ष शेखर गोल्छालाई पनि सिआइबीले अनुसन्धानका क्रममा पक्राउ गरेको थियो । उनी सर्वोच्चको आदेशमा छुटिसकेका छन् । उनीमाथि धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।
त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रष्ठलाई समेत सिआइबीले पक्राउ गरेकोमा उनी हाल हाजिरी जमानीमा छन् । सिआइबीले छानबिन सुरु गरेपछि हिमालयन रिका अध्यक्ष गोल्छासहित सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र सुवास झुनझुनवालाले राजीनामा दिएका थिए ।
आगामी साता बिमासम्बन्धी र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउने तयारी
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि दीपक भट्ट र सुलभ अग्रवालमाथि अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेका छन् । गत महिना नै उनीहरूले विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएका हुन् । पहिला अर्को फौजदारी कसुरमा मुद्दा दायर गरेपछि मात्र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्ने तयारी छ । ‘सम्पत्ति शुद्धीकरणको कसुरमा सम्बद्ध अपराध चाहिने प्रावधान छ,’ विशेष सरकारी वकिल कार्यालयका एक अधिकारीले भने, ‘केही दिनमै बिमासम्बन्धी कसुरमा मुद्दा दायर भएलगत्तै हामी सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गर्छौँ ।’ बिमासम्बन्धी कसुरमा जिल्ला अदालत तथा सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर हुनेछ ।
धितोपत्र कसुरमा भट्टको सञ्जालमा रहेका व्यवसायीसहित ७५ भन्दा धेरै तानिँदै
बिचौलिया भट्टसँग मिलेर सेयर बजारमा भित्री कारोबार गरेको कसुरमा व्यवसायीसहित ७५ जनाभन्दा धेरै छानबिनको दायरामा छन् । जसमध्ये उनीनिकट कम्पनीका ५६ सञ्चालकको सिआइबीले बुधबार एकैपटक सेयर रोक्का गरी कारोबारको विवरण मगाएको छ । यसमा शंकर समूहको मुख्य मिलेमतो देखिएको स्रोत बताउँछ । त्यस्तै, जावलाखेल डिस्टिलरीका राजबहादुर शाहदेखि गोल्यान समूहका सदस्य पनि यसमा तानिँदै छन् । सिआइबीले भट्ट र उनको समूहमाथि धितोपत्र र बैंकिङ कसुरमा अनुसन्धान जारी राखेको छ । शंकर समूहले सिद्धार्थ बैंकबाट एउटा प्रयोजनमा लिएको कर्जा दुरुपयोग गरेको खुलेपछि बैंकिङ कसुरमा पनि मुद्दा चल्न लागेको हो ।