संखुवासभाको मकालु गाउँपालिका– २, सेदुवामा पहिरोको उच्च जोखिममा परेको दुई घर सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । स्थानीय कासुवाखोला हाइड्रोपावरले सडक खनेपछि ती दुई घर पहिरोको उच्च जोखिममा परेका हुन् । घरको आँगनकाे डिलदेखि नै पहिरो गएपछि मकालु गाउँपालिका– २, सेदुवाका स्थानीय नरबहादुर चुहान र कृष्णबहादुर घिमिरेको दुई परिवारलाई सुरक्षित ठाउँ छिमेकीको घरमा स्थानान्तरण गरिएको हो ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले कासुवा हाइड्रोपावार जाने सडकमा पहिरो जाँदा दुई घर उच्च जोखिममा परेकाले स्थानान्तरण गरिएको बताइन् । अहिले नै विस्थापित भन्न मिल्दैन, घरको आँगनैदेखि पहिरो गएकाले बस्न जोखिम हुने भएकाले सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बताउँदै दुई घरसँगै हेमान्द्री माध्यमिक विद्यालययसमेत पहिरोको जोखिममा परेको उनले बताइन् ।
‘स्थलगत अध्ययनका लागि मकालु गाउँपालिका र कासुवा हाइड्रोपावरका प्राविधिक टोलीसहित खटिएको छ । त्यसैगरी, सुरक्षाका लागि सेना र प्रहरीसमेत खटाएका छौँ । त्यहाँको सबै रिपाेर्ट प्राप्त भएपछि तत्कालका लागि गर्न सकिने राहत दिनेदेखि अन्य व्यवस्थापनको पाटोमा हामी लाग्छौँ,’ प्रजिअ थपलियाले भनिन् ।
केही दिन अगाडिदेखि आएको अविरल वर्षाका कारण बिस्तारै घरको आँगनकाे डिलदेखि धस्किँदै गएको स्थानीय नरबहादुर चुहानले बताए । पहिरोले सडकसँगै घरको आँगन र सिकुवासमेत बगाएपछि आज (बिहीबार)देखि घरमा बस्न छोडेको स्थानीय चुहानले बताए । ‘नेपाली सेना र प्रहरी बिहानै घरमा आउनुभयो र तपाईं यहाँ नबस्नुहोस्, घर खाली गर्नु भन्नुभयो, अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छौँ,’ चुहानले भने, ‘घरै पहिरोले लैजाने खतरा बढेपछि घरभित्रका सामानहरू सारेर अहिले छिमेकीको घरमा आश्रय लिएका छौँ । श्रीमती, दुई छोरा र दुई छोरीसहित ६ जनाको परिवार आश्रय लिएर बसेका छौँ ।’
नरबहादुरको घरअगाडि करिब ५० मिटर पहिरो आँगनको डिलबाट नै खसेको उनको भनाइ छ । नरबहादुर मात्रै होइन, अर्का कृष्णबहादुर घिमिरेको घरमा पनि पहिरोको उच्च जोखिम भएपछि छिमेकीको घरमा आश्रय लिएर बस्न थालेका छन् । कृष्णबहादुरको घरमा श्रीमान्, श्रीमती र एक छोरासहित तीनजनाको परिवारको बिचल्ली भएको छ ।
नरबहादुर र कृष्णबहादुरलाई अब छिमेकीको घरमा कति दिन बस्नुपर्ने हो भन्ने थाहा छैन । निरन्तर वर्षा भइरहेको हुँदा तत्कालै अर्को घर बनाउन पनि सम्भव नभएको उनीहरू बताउँछन् । नरबहादुरले गुनासो पोख्दै भने, ‘पहिले घरअगाडिदेखि हाइड्रोपावर जाने सडकको ट्रयाक ओपन गर्दा जग्गाको मुआब्जा दिने र केही जोखिम भए सबै व्यहोरिदिने भनेका थिए । पोहोर सालदेखि जग्गा चर्किने र पहिरो जाने खतरा भएपछि हाइड्रोपावरका मान्छेलाई गुनासो सुनाउँदा भइहाल्छ भन्दै टारे, जग्गाको मुआब्जा पनि दिएन । अहिले घरै छोडेर छिमेकीको घरमा बस्नुपर्दा तल्लो दर्जाका कर्मचारी आउँछन्, म माथि रिपाेर्ट गर्छु भन्छ केही गरेको छैन । हाइड्रोपावारका ठुला मान्छे हेर्न नै आउँदैनन् ।’
नरबहादर र कृष्णबहादुर दुवैजनाको जस्तापाताले छाएको तीनतले घर रहेका छन् । घरअगाडिदेखि पहिरो गएपछि दुवै परिवार विस्थापित बन्न बाध्य भएका हुन् । उक्त पहिरो ती दुई घरसँगै हेमान्द्री माध्यमिक विद्यालयको मुख्य प्रवेशद्वारमा रहेको तीनकोठे शौचालयमा समेत क्षति पुर्याएको छ । विद्यालयको अगाडि लगाएको ग्याभिङ वाल र जाली पहिरोले धस्काएपछि जोखिम बढाएको छ ।
उक्त ठाउँमा भीमदल गण हेदाङनाका जमदार डम्बरप्रसाद योगीको कमान्डमा ११ जना र मकालु प्रहरी चौकीबाट प्रहरी वरिष्ठ हवल्दार भोजराज देवकोटाको कमान्डमा चारजना प्रहरी खटिएर गएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । सेना र प्रहरी गएर स्थलगत अवलोकन गरेपछि स्थानीयलाई सुरक्षित स्थानान्तरण गरिएको हो । मकालु गाउँपालिका– २, सेदुवामा ४५ मेगावाटको कासुवाखोला हाइड्रोपावार निर्माणाधीन अवस्थामा रहेको छ ।
यसअघि पनि विभिन्न समयमा स्थानीय संघर्ष समिति र हाइड्रोपावारबिच मतभेद हुँदै आएको थियो । उक्त हाइड्रोपावारले स्थानीयहरूको जग्गाको मुआब्जा नदिएको, मनपरि गरेको, जालसाँझी गरेकोलगायत विभिन्न आरोपहरू लगाउँदै आएका थिए।