बागमती सरकारले दुई प्रतिशत ब्याजमा ऋण दिने

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले स्वरोजगारमूलक व्यवसायका लागि दुई प्रतिशत ब्याजमा ऋण दिने भएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बुधबार भक्तपुरको गठ्ठाघरमा ग्रान्ड ब्युटी एक्स्पो उद्घाटन गर्दै युवालाई सिपमूलक तालिम दिने र स्वरोजगारमूलक व्यवसायका लागि सस्तो ब्याजमा पुँजी उपलब्ध गराउने बताए ।

‘स्वरोजगारमूलक व्यवसायका लागि बागमती प्रदेश सरकारले दुई प्रतिशत ब्याजमा ऋण दिने गरी बजेटमै व्यवस्था गर्दै छ,’ उनले भने । शैक्षिक प्रमाणपत्र अथवा सिपमूलक तालिमका प्रमाणपत्र पेस गरेर युवाहरूले न्यूनतम १५ लाख रुपैयाँसम्म सस्तो ऋण पाउने उनको भनाइ छ ।

मन्त्री थापाले युवाहरूको चाहनाबमोजिम प्रदेश अस्पतालका सेवाहरूलाई प्रविधिमैत्री बनाएकोसमेत बताए । स्वास्थ्य मन्त्रालयले सिन्धुली अस्पताल, चौतारा अस्पताल, धादिङ अस्पताल र बकुलहर अस्पतालबाट पेपरलेस सेवा परीक्षण सुरु गरेको बताउँदै उनले आगामी आर्थिक वर्षबाट प्रदेशका १३ वटै अस्पतालमा पेपरलेस प्रणाली लागू गरिने जानकारी दिए । यसले सेवा प्रवाह छिटोछरितो हुनुको साथै रिपोर्टहरू सुरक्षित हुने र खोजिएको बखत प्राप्त गर्न सकिनेसमेत उनको भनाइ छ । 

See More On

सुझावित समाचार