बाघ, चितुवा र अजिंगरकाे मुखबाट बचेर आउँछन् हरेक दिन ढकेला गाउँका विद्यार्थी

विद्यालयबाट सन्तान घर नआउन्जेल चैनको श्वास फेर्दैनन् बाआमा

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

चारैतिर बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले ढाकेको वन। वनको बिचमा छ फराकिलो फाँट । त्यो फाँटमा रहेको छ सुन्दर ढकेला गाउँ । गाउँ जति सुन्दर छ, त्यति पीडा पनि छ गाउँमा। यो कुनै लोककथाको गाउँ नभएर बारबर्दिया नगरपालिका– ९ को ढकेला गाउँको कथा हो । गाउँमा प्राथमिक तहसम्मको विद्यालय छ । त्यसभन्दा माथिल्लो तहको शिक्षा लिनका लागि गाउँदेखि टाढा जानुपर्छ । कक्षा ६ मा पढ्ने ११ वर्षभन्दा माथिका विद्यार्थी साइकल चलाएर दैनिक सात किलोमिटर दूरीमा पर्ने विद्यालय जान्छन् भने करिब ४० जना विद्यार्थी गाडीमा बसेर संस्थागत विद्यालयमा जाने गरेका छन् । 

विद्यालय जान पनि त्यति सहज छैन । विद्यालय जाँदा बाटोमा पर्ने वन हिंस्रक वन्यजन्तुको वासस्थान हो । यही हिंस्रक वन्यजन्तुको वासस्थानको बाटो भएर ढकेला गाउँका १२० जना विद्यार्थी बारबर्दिया नगरपालिका– ९, कर्तनियामा रहेको धर्मभक्त माध्यमिक विद्यालयमा पढ्न जाने गरेका छन् ।

विद्यालय जाँदा झोलामा कापी–कलम र किताब अनि मस्तिष्कमा वन्यजन्तुको डर–त्रास बोकेर विद्यार्थी विद्यालय पुग्छन्। ढकेला गाउँमा २५७ घरधुरी छ । प्रत्येक घरमा विद्यालय जाने विद्यार्थी छन् । विद्यालय नपठाउने हो भने बालबालिका अशिक्षित हुन्छन् कि भन्ने पीर लाग्छ । विद्यालय पठाउँदा वन्यजन्तुको डर हुने गरेको ढकेलाका ६० वर्षीय कल्चु थारूले बताए। 

मनमा अनेक कुरा खेलाउँदै उनले भने, ‘मेरी नातिनी अहिले कक्षा १० मा पढ्दै छिन् । घरबाट विद्यालय जाने सवारीसाधन भनेको साइकल हो । विद्यालय जाने बाटो त्यति राम्रो छैन । घना जंगलको बाटो भएर जानुपर्छ । जंगलमा बाघ, चितुवा, अजि‌ंगरलगायतका वन्यजन्तु छन् । नातिनी विद्यालयबाट घर नफर्किँदासम्म मनमा त्रास हुन्छ ।’

गाउँमा रहेको भवानी प्रताप प्राथमिक विद्यालयबाट कक्षा पाँच पास गरेर कल्चुको नातिनी धर्मभक्त माध्यमिक विद्यालयमा पढ्न गएकी हुन् । भवानी प्रताप प्राथमिक विद्यालयमा अहिले करिब ८० जना विद्यार्थी छन् । शैक्षिक सत्र ०८२ मा  सो विद्यालयबाट कक्षा पाँच पास गरेर २२ जना विद्यार्थी गएको विद्यालयकी प्रधानाध्यपक सीता ढकालले जानकारी दिइन् । 

उनले भनिन्, ‘विद्यालयबाट कक्षा पाँच उत्तीर्ण  भएर गएका विद्यार्थी पनि संस्थागत विद्यालयमा गएर कक्षा घटाएर पढ्न गएका छन् । किन यस्तो गरेको भनेर सोध्दा विद्यार्थीको अभिभावकले जंगलको बाटो भएर विद्यालय पठाउन मन लागेन । सामुदायिक विद्यालयको बस छैन । संस्थागत विद्यालयको बस छ, त्यही भएर कक्षा घटाएर भए पनि संस्थागत विद्यालयमा पठाएको हुँ भन्ने जवाफ दिने गर्नुभएको छ ।’ 

विद्यालय आउजाउ गर्दा सधैँ वन्यजन्तुको डर छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष ०७५/७६ देखि चालू आर्थिक वर्ष ०८२/८३ को फागुनसम्ममा ४३ जनाको मृत्यु, ५० जना शक्त घाइते र ३२ जना सामान्य घाइते भएको बर्दिया राष्ट्रिय निकुञ्जको तथ्यांक रहेको छ । साना बालबालिका जंगलको बाटो भएर विद्यालय जाँदा  राज्यको कुनै पनि निकायको ध्यान गएको छैन । यसबारेमा सरोकारवाला निकाय गम्भीर छैनन् ।

चुनावको समयमा अनेक आशा देखाएर निर्वाचित भएका जाने जनप्रतिनिधिले पनि ढकेला गाउँको पीडा देखेनन् । बालबालिकाको घरदेखि  विद्यालय टाढा छ । आउजाउ गर्दा साइकल बिग्रेमा मर्मत गर्ने ठाउँ छैन । घामपानीमा ओत लाग्ने ठाउँ छैन।  तिर्खा लाग्दा पानी पिउने ठाउँ छैन । राज्यले कुनै गम्भीर घटना नभएसम्म यस्ता कुरा गौण ठान्ने गरेको छ। 

धर्मभक्त माध्यमिक विद्यालय कक्षा आठमा पढ्ने  सिमरन थारूले विद्यालयबाट घर फर्किने समयमा कहिलेकाहीँ बाघसमेत देखिने गरेको बताइन् । ‘बाघ देखेकोबारे कुरा गरिरहँदा उनको  अनुहारमा त्रास देख्न सकिन्थ्यो,’ उनले भनिन्, ‘घरबाट स्कुल जान एक घण्टा लाग्छ । जंगलको बिचमा बनेको बाटोमा ग्राभेल छ । साइकल चलाउन पनि गाह्राे हुन्छ । त्यसमाथि कहिलेकाहीँ बाघ–चितुवा देखिन्छ । त्यसवेला के गरुँ कसो गरुँ हुन्छ ।’

ढकेला गाउँकी ५५ वर्षीया लाहानी थारूले गाउँमा आएर बाघ–चितुवाले वस्तुभाउ खाने गरेको बताइन् । उनले भनिन्, ‘गाउँ निकुञ्जसँग जोडिएको छ । त्यही भएर वेलावेला गाउँमा  बाघ र चितुवा आउँछ । धन्न बाघ र चितुवाले आजसम्म मान्छेलाई आक्रमण गरेको छैन । त्यहीँ भएर कुनै मानवीय क्षति भएको छैन । गाउँसँग जोडिएको वनमा धेरै प्रकारका वन्यजन्तु छन्। नाति–नातिनीलाई स्कुल पठाउँदा पनि डर लाग्छ । कम्तीमा स्कुल आउन–जानका लागि बस भएको भए सजिलो हुन्थ्यो ।’ एकछिन टोलाएर लाहानीले भनिन्, ‘हाम्रो कुरा खोइ कसले सुनिदेला ?’

धर्मभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव बस्यालले ढकेला गाउँबाट पढ्न आउने विद्यार्थीले जीवनलाई हत्केला राखेर आउने गरेको बताए । ‘कक्षा ६ मा भर्ना भएर पढ्न आउने विद्यार्थीको उमेर हेर्दा ११–१२ वर्षका होलान् । ती साना बालबालिका वन्यजन्तुको उच्च जोखिम भएको बाटोबाट साइकल चलाएर आउँछन् । उनीहरूलाई साइकल चलाएर विद्यालय आउनु रहर नभएर बाध्यता हो । बाध्यता पनि यस्तो कि वन्यजन्तुको वासस्थान भएको बाटोबाट विद्यालय आउने ।’ उनले भने, ‘विद्यार्थीले गरेको संघर्ष हेर्दा निकै दुःख लाग्छ । कम्तीमा  पनि ढकेला गाउँबाट आउने विद्यार्थीका लागि बसको व्यवस्थापन हुन सकेमा बालबालिकाले जोखिमपूर्ण यात्रा गर्नुपर्ने थिएन ।’ 

यस्ता गम्भीर विषयमा सरकार कहिले जिम्मेवार बन्न सकेको छैन  । जनताको पीडमा मल्हम लगाउने काम सरकारले कहिले गर्छ कि भनेर ढकेला गाउँका जनता अझै पनि सरकारको उपस्थिति  खोजिरहेका छन् ।

सुझावित समाचार