एलजीका डुअलकुलर एसी सार्वजनिक

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

एलजी इलेक्ट्रोनिक्सले आफ्नो नवीनतम डुअलकुलर इन्भर्टर एयर कन्डिसनर (एसी) शृंखला सार्वजनिक गरेको छ । सिजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नयाँ उत्पादन सार्वजनिक गरेका हुन् । 

कम्पनीका अनुसार नयाँ डुअलकुलर एयर कन्डिसनरमा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट ऊर्जा व्यवस्थापन प्रविधि समावेश गरिएको छ । उक्त प्रविधिले प्रयोगकर्तालाई विद्युत् खपत सीमा निर्धारण गर्न, वास्तविक समयमै ऊर्जा उपयोग अनुगमन गर्न तथा अनावश्यक विद्युत् खर्च नियन्त्रण गर्न सहयोग पुर्याउने बताइएको छ । नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा–दक्ष तथा लागत–सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर यी एसी विकसित गरिएको कम्पनीले बताएको छ । 

कम्पनीका अनुसार डुअल इन्भर्टर कम्प्रेसरले ७० प्रतिशतसम्म ऊर्जा बचत तथा ४० प्रतिशत छिटो शीतल प्रदान गर्छ । यस्तै, फ्रिज क्लिन सुविधाले इभापोरेटरमा रहेका ब्याक्टेरिया ९९ प्रतिशसम्म हटाउन सहयोग गर्ने बताइएको छ । त्यसैगरी, नयाँ मोडेलमा कनभर्टिबल फाइभ–इन–वन मोड, गोल्ड फिन प्लस एन्टी–कोरोसन कोटिङ, शतप्रतिशत कपर ट्युब तथा स्टेबलाइजर–फ्री सञ्चालनजस्ता सुविधा समावेश गरिएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै सिजी इलेक्ट्रोनिक्सका मार्केटिङ विभागका महाप्रबन्धक गौरव हमालले नेपाली उपभोक्तामाझ ऊर्जा दक्ष तथा लागत–सचेत घरेलु उपकरणको माग बढ्दै गएको उल्लेख गरे । उनले नयाँ किलोवाट म्यानेजर प्रविधिले उपभोक्तालाई विद्युत् खपत र घरेलु खर्च व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

See More On

सुझावित समाचार