हेटौँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

फास्ट ट्र्याक निर्माणस्थलमा कामदारको ज्यान गयो

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

मकवानपुरमा छुट्टाछुट्टै घटनामा एक महिलासहित दुईजनाको मृत्यु भएको छ। हेटौँडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ भने फास्ट ट्र्याक सुरुङ निर्माणस्थलमा काम गर्ने क्रममा एक कामदारको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका– १, चौकीटोल तरकारी मण्डीस्थित डेरामा बस्दै आएका मनहरी गाउँपालिका– ३ निवासी ४५ वर्षीय रामलाल ब्लोनले आफ्नी श्रीमती ४२ वर्षीया ओमकुमारी भुजेललाई कुटपिट गर्दा उनको मृत्यु भएको हो।

मंगलबार बिहान करिब १०:३० बजे भएको घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चौकीटोलबाट खटिएको टोलीले गम्भीर घाइते अवस्थामा रहेकी ओमकुमारीलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो । तर, उपचारकै क्रममा बिहान ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार मृतकको मुख, दुवै हातखुट्टा तथा ढाडमा नीलडामसहित चोटपटक देखिएको छ । घटनामा संलग्न श्रीमान् रामलाल ब्लोनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ। शव हेटौँडा अस्पतालमा राखिएको छ।

यस्तै, मकवानपुरको भीमफेदी गाउँपालिका– ८, महादेवटारस्थित तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत सुरुङ निर्माणस्थलमा काम गर्ने क्रममा एक कामदारको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार राति करिब ९:४५ बजे सुरुङभित्र काम गरिरहेका वेला प्रयोग हुने फलामजन्य उपकरण तथा ढुंगा खसेर लाग्दा बर्दिया घर भएका करिब ३० वर्षीय रामगोपाल चौधरी गम्भीर घाइते भएका थिए। घटनामा थाहा नगरपालिका– ५, सानोपाखाका २२ वर्षीय सन्तोष बमजन सामान्य घाइते भएका छन्।

दुवै घाइतेलाई उपचारका लागि चुरेहिल अस्पताल मकवानपुर लगिएको थियो। अस्पताल पुगेको केही समयपछि राति ११:४० बजे उपचारकै क्रममा रामगोपाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। सन्तोष बमजनको भने सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार