सरकारले संगीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद, गुनासा र प्रणालीगत समस्याको अध्ययन गर्न पाँच सदस्यीय जाँचबुझ समिति गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षणपछि लक्ष्मण बिडारी ‘शेष’को अध्यक्षतामा समिति गठन गरेको हो। मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरिएको जानकारी दिएको छ।
समितिमा सूचना तथा प्रसारण विभागका प्रमुख, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयकी रजिस्ट्रार सविता कार्की तथा संस्कृति मन्त्रालयअन्तर्गत पुरातत्त्व तथा सम्पदा शाखाकी प्रमुख सुभद्रा भट्टराई सदस्य रहेका छन्। मन्त्रालयको संस्कृति शाखाकी उपसचिव निर्मला न्यौपाने सदस्यसचिव तोकिएकी छिन्।
समितिलाई गठन भएको मितिले १० दिनभित्र आवश्यक सिफारिससहित प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। समितिले गीत–संगीत क्षेत्रसँग सम्बन्धित स्रष्टा, कलाकार, उत्पादक तथा अन्य अधिकारवालामाथि हुने बौद्धिक सम्पत्ति चोरी, प्रतिलिपि अधिकार हनन तथा अनधिकृत प्रयोगका घटनाको अध्ययन गरी सुधार र कारबाहीका उपाय सुझाउनेछ।