बाजुरा र हुम्लाको सीमा क्षेत्र रानीसैन–लाम्पाटा च्याचौर क्षेत्रमा उत्पन्न सिमाना विवाद हिंसात्मक बनेपछि ६ जना गम्भीर घाइते भएका छन् । सीमा क्षेत्र लाम्पाटामा बाजुरा प्रहरीले अस्थायी प्रहरी चौकी स्थापनाका लागि भवन निर्माणको काम अघि बढाएपछि उक्त क्षेत्र हुम्लामा पर्ने भन्दै विवाद बढेको हो । यही क्रममा साइपालको आधार शिविर रानीसैन जान लागेको बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको सर्केगाडको रिपगाउँ र खार्पुनाथका राय, थालीगाउँका युवाहरूको समूहले आक्रमण गरेको हो ।
साइपाल जान लागेको धनगढी उपमहानगरपालिकाको टोलीलाई पनि युवा समूहले फर्काइदिएको छ । घाइतेमध्ये चारजनालाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत उपचारका लागि बुधबार सुर्खेत लगिएको छ । कुटपिटबाट घाइते भएका वडासदस्यसमेत रहेका हिमाली– ३, लाम्पाटाका पेमा गाराप गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, सोही वडाको गुम्बा गाउँका नरबहादुर गुरुङ र मीनु कुँवरलाई हेलिकोप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारिसले बताए ।
स्थानीयको कुटपिटबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र प्रहरी सहायक हवल्दार महेश धामी पनि घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिमाली–३, फुलिङबाट हेलिकोप्टरले घाइतेको उद्धार गरेको र उनीहरूको अवस्था चिन्ताजनक नरहेको बुझिएको डिएसपी हवारिसले बताए । खार्पुनाथ र सर्केगाडका तीनवटा गाउँबाट करिब डेढ सयको संख्यामा लाम्पाटा पुगेका स्थानीयले रानीसैन जान लागेको टोलीमाथि आक्रमण गर्दै निर्घात कुटपिट गरेका हुन् । घटनास्थलको एउटा भिडियोमा स्थानीय युवाहरूले हिमालीका प्रमुख प्रशासकीय अधिकृत थापामाथि कुटपिट गरेको देखिएको छ । लाम्पाटा आएका हुम्लाका स्थानीयले उक्त क्षेत्र हुम्लाको भएको भन्दै कुटपिट गरेको घाइते नरबहादुरले बताए ।
घटना मंगलबार बिहान साढे १० बजेतिरको हो । घटनास्थल र नजिकको गुम्बा गाउँमा फोन लाग्दैन । करिब आधा दिन पैदल हिँडेर वडा नम्बर ३ को बौडी भन्ने ठाउँमा पुगेपछि मात्र फोनले काम गर्छ । हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ३६ जनाको टोली रानीसैनको पर्यटन प्रवर्द्धनका लागि रानीसैन बहस गर्न भनेर त्यसतर्फ जाँदै थियो । मल्लले आफ्नो टोलीमाथि आक्रमण गरेर केहीलाई घाइते बनाएको र केहीको मोबाइलसमेत थुतेर लगेको बताए ।
सीमा विवाद के हो ?
जिल्ला प्रहरी कार्यालय बाजुराअन्तर्गत लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न भवन निर्माणको काम अगाडि बढेको थियो । गाउँपालिका कार्यालयका अनुसार चौकी बनाउन सुदूरपश्चिम प्रदेश सरकारले यसपालि ४० लाख विनियोजन गरेको छ । घटनाको केही दिनअघि चौकी बनाउन स्थानीय उपभोक्ता समितिले जमिन सम्याएर जग हाल्ने काम सुरु गरेको थियो । प्रहरी चौकी बनाउन लागेको जानकारी पाएपछि त्यहाँबाट करिब एक दिनको पैदल दूरीमा रहेका रिप, पाली र रायगाउँका स्थानीय तीन दिनअघि आएर हुम्लाको जमिनमा भवन बनाउन लागिएको भन्दै सामान फाल्नुका साथै प्रहरी चौकी बनाउन जमिन दिएका वडासदस्य पेमाको परिवारलाई पनि कुटपिट गरेका उपभोक्ता समितिका अध्यक्ष नरबहादुर गुरुङले बताए ।
पेमाकी श्रीमती लक्ष्मीले तीन दिनदेखि उनीहरूले आफ्नो घर कब्जामा लिएको बताइन् । भवन निर्माणको काम गरिरहेका गुम्बागाउँका २१ जनालाई पनि नियन्त्रणमा लिएर त्यहीँ राखेका अध्यक्ष गुरुडले बताए । हुम्लाबाट आएका स्थानीयले तीन दिनदेखि आफ्नो घर कब्जामा लिएर बसेको उनले बताइन् । लाम्पाटामा पेमा र अर्का एक स्थानीयको गरी दुई घर मात्र छन् । बाजुराको पूर्वी–उत्तरी क्षेत्रका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाले संयुक्त विज्ञप्ति जारी गर्दै लाम्पाटा, च्याचौर, रानीसैनलगायत क्षेत्र बाजुराकै भूभाग भएको दाबी गरेका छन् ।
धनगढीको टोलीलाई पनि फिर्ता पठाए
साइपाल र त्यसको पूर्वी बेसक्याम्प रानीसैनको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले त्यहाँ गइरहेको धनगढी उपमहानगरपालिकाको टोलीलाई पनि हुम्लाका स्थानीयले लाम्पाटाबाट फिर्ता पठाइदिएका छन् । उपमहानगरले थालेको ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान लिएर मेयर गोपाल हमालको नेतृत्वमा ३० जनाको टोली त्यसतर्फ जाँदै थियो । धनगढी र हिमालीको टोली केही अघिपछि थियो । धनगढीका मेयर हमालले स्थानीयले लखेटेपछि आफूहरू फिर्ता आएको बताए । उनले आफूहरू रानीसैनको पर्यटन प्रवर्द्धनका लागि त्यहाँ जान खोजेको बताए । अभियानअन्तर्गत सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन भ्रमण गरेर उपमहानगरको टोली हिमाली पदयात्राको गन्तव्य साइपाल जाँदै थियो ।