काभा महिला च्याम्पियनसिप, भलिबलमा ६ नयाँ अनुहार

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल भलिबल संघ (एनभिए)ले ६ नयाँ खेलाडी समावेश गर्दै काभा महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा गरेको छ । एनभिएले शुक्रबार नै नयाँ कप्तानको जिम्मेवारी निरुता ठगुन्नालाई दिएको थियो । १४ सदस्यीय टिममा ६ खेलाडी नयाँ छन् । प्रतियोगिता जेठ ८ देखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना हुँदै छ । जसमा नेपालसहित सेन्ट्रल एसियाका आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षक जगदीश भट्टले आउटसाइड हिटरमा कप्तान निरुतासँगै उषा भण्डारी, सलिना बुढामगर र मीना सुनारलाई अवसर दिएका छन् । अप्पोजिट हिटरमा कामना विष्ट र रिमा कुँवर छन् । मिडल ब्लकरमा सुमित्रा रेग्मी, बसन्ती साउद, सुनिता खत्री र एलिसा मानन्धरले मौका पाए । अरुणा शाही अस्ट्रेलिया गएपछि प्रगति नाथ र जसना महतोले सेटरमा मौका पाउने निश्चित भएको थियो । अरुणा टिमको कप्तान हुँदा प्रगति वैकल्पिक सेटरको रूपमा खेल्दै आएकी थिइन् । लिबेरोमा सलिना श्रेष्ठ र शान्तिकला तामाङले निरन्तरता पाएका छन् । ६ नयाँ खेलाडीमा आउटसाइट हिटर सलिना र मीना, सेटर जसना तथा मिडर ब्लकरहरू बसन्ती, एलिना र सुनिता खत्रीले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका हुन् । 

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग जेठ ८ गते पहिलो खेल खेल्दै छ । यस्तै, नेपालले जेठ ९ गते किर्गिस्तान र जेठ १० गते माल्दिभ्ससँग खेल्नेछ । इरान, कजाकस्थान, श्रीलंका र बंगलादेश समूह ‘बी’ मा छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालले सन् २०१९ र सन् २०२२ मा काभा च्याम्पियनसिप जितिसकेको छ । त्यसपछि नेपाल लगातार दुईपटक उपाधि जित्नबाट वञ्चित भयो । नेपालाई घरेलु कोर्टमै हुने काभा च्याम्पियनसिप जित्ने अवसर रहेको छ । 

See More On

सुझावित समाचार