विद्यार्थीलाई निर्वाचन, सदन र यसले गर्ने काम कारबाहीबारे बुझाउन विद्यालयमै निर्वाचन र सदनको अभ्यास गरी विद्यालयका विभिन्न सदनको लागि नेतृत्व चयन गरिएको छ। उक्त अभ्यास काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यू स्कुलले गरेको हो।
विद्यालयमा हरेक वर्ष चारवटा सदनको निर्वाचन हुन्छ। हरेक सदनमा नेतृत्वको लागि निर्वाचन नै गरिन्छ। निर्वाचित भएकाहरूले एक वर्ष आआफ्नो सदनको क्याप्टेनका रूपमा काम गर्छन्। त्यसको लागि निर्वाचनको तयारी, निर्वाचन गराउने, मतदान गर्ने र आ–आफ्नो सदनको नेता चुन्ने कार्य विद्यार्थीबाटै हुन्छ।
बुधबार पनि भ्याली भ्यू स्कुलका विद्यार्थीलाई यस वर्षको आआफ्नो सदनको नेतृत्वकर्ता चुन्ने चटारो थियो। त्यसको लागि कोही मतदान गर्न लाइनमा तम्तयार देखिन्थे भने कोही मतदान गरेर फर्किँदै थिए। केहीले मतपत्र पट्याएर बुथमा खसाल्दै थिए। डोरीको घेराबाहिर डेक्ससहित बसेका निर्वाचन कमिटीका व्यक्तिहरूलाई निर्वाचन गराउन आफ्नै चटारो थियो। कतिपयले मतदानस्थलमा सुरक्षा प्रदान गरिरहेका थिए। निर्वाचन सकिएपछि व्यवस्थित किसिमले मतगणना भयो। मतगणनापछि चार सदन हेलेन, नाइटिङ्गेल, पारिजात र टेरेसामा कप्तान र उपकप्तान चयन भए।
नेपालमा हुने निर्वाचन प्रणाली र प्रक्रिया सिकाउन ४ देखि १० कक्षासम्मका विद्यार्थीलाई हरेक वर्ष विद्यालयले यसरी नै अभ्यास गराउने गर्छ। मतदान शिक्षा दिन, नेतृत्व चयन र चुनावी प्रक्रिया सिकाउन यसो गरिएको विद्यालयका प्रधानाध्यापक सुभाषचन्द्र भण्डारीले बताए। ‘यसले विद्यार्थीलाई नेतृत्व गर्ने क्षमताको विकास गर्छ, सदन र निर्वाचनका बारेमा बुझ्न सहज हुन्छ,’ उनले भने, ‘राज्य सञ्चालन विधि र प्रक्रियाका बारेमा विद्यार्थीलाई बुझाउन आवश्यक छ, यसको महत्व सिकाउन र बुझाउन यस्तो अभ्यास गराउँछौँ।’
विद्यालयले गरेको निर्वाचन र सदन अभ्यासका क्रममा वास्तविक निर्वाचनमा जेजस्तो गरिन्छ सोही प्रक्रिया अपनाइने गरिएको उनले बताए। विद्यालयको चारवटा सदनका उम्मेदवारले मत माग्ने, आफ्ना एजेन्डा प्रस्तुत गर्ने, मौन अवधिको पालना गर्नेलगायत नियम पालना गरेका थिए।