लोकतन्त्रमा प्रश्नबाट भाग्ने प्रवृत्ति शुभसंकेत हाेइन : सांसद राई

प्रधानमन्त्री उपस्थित नभए आज पनि संसद चल्न नदिने चेतावनी

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद निस्कल राईले लोकतन्त्रमा प्रश्नबाट भाग्ने प्रवृत्ति शुभसंकेत नभएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले संसद् चियापसलजस्तो नभएर गुरुकुलजस्तो हुनुपर्ने बताए।

उनले  स्वयं प्रधानमन्त्रीले नै  गुरुकुल र विश्वविद्यालयलाई बंक गर्न थालेको आरोप लगाए।  देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुखद मात्र नभई संसदीय अभ्यासप्रतिको उदासीनता भएको उल्लेख गरे। 
तर, यो विषयलाई सत्तापक्षका सांसदहरूले सामान्य बनाउनु दुखद भएको बताए। 

‘नीति तथा कार्यक्रम  देशको रोडम्याप हो। यसलाई तीन करोडले हेरेका छन् भन्नुभएको थियो सभामुखज्यू, तर तपाईंले प्रधानमन्त्रीलाई रुलिङ गरेर किन ल्याउन सक्नुभएन ?’ संसद् भवनभित्रको केही दूरीमा रहेका प्रधानमन्त्रीलाई यति महत्त्वपूर्ण विषयमा छलफलका लागि ल्याउन उनले आग्रह गरे। आफूहरूले संविधानको धारा ७६ (१०) अनुसार प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउन चाहेको भन्दै यदि प्रधानमन्त्री नआए आज पनि संसद् अवरोध गर्ने चेतावनी दिए। 

सुझावित समाचार