एनआइएमबी बैंकले भन्यो– सिइओले राजीनामा दिएका छैनन्, झुट नफैलाऔँ

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी)ले प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेले राजीनामा दिएको भनी विभिन्न मिडियामा आएको समाचारको खण्डन गर्दै झुट नफैलाउन ध्यानाकर्षण गरेको छ ।

बैंकले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सिइओ पाण्डेको राजीनामाका सम्बन्धमा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बैंकका अनुसार, ती समाचारहरू पूर्णतः भ्रमपूर्ण, आधारहीन र तथ्यहीन रहेका छन् । विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रमुख कार्यकारी अधिकृत पाण्डे हाल पनि आफ्नो जिम्मेवारीमा सक्रिय छन् र बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा निरन्तर संलग्न छन् ।

बैंकले कुनै पनि समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्नुअघि आधिकारिक स्रोतबाट पुष्टि गर्न सम्पूर्ण सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ । साथै, बैंकले आफ्ना ग्राहकवर्ग, सेयरधनी तथा आमसर्वसाधारणको विश्वासलाई सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेकोसमेत स्पष्ट पारेको छ ।

सुझावित समाचार