श्रीमान्–श्रीमती छुटेर बस्दा गर्भनिरोधक साधनको प्रयोग कम हुँदै

एक वर्षमा सरकारले वितरण गर्‍यो दुई करोड ६६ लाखवटा कन्डम

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

वितरण सही नहुँदा र बसाइँसराइका कारण नेपालमा गर्भनिरोधक साधनको प्रयोग निकै कम देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययनअनुसार हाल नेपालमा ४३ प्रतिशत दम्पतीले मात्रै प्रयोग गर्छन् । स्वास्थ्य मन्त्रालयले ०८१ मा गरेको अध्ययन र नेसनल डेमोग्राफिक सर्भे २०२२ मा कन्डम, पिल्स, डिपो, आइसिडी र इम्प्लान्टजस्ता निःशुल्क उपलब्ध गराउनुपर्ने गर्भनिरोधक साधनमध्ये ३२ जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा नभएको पाइएको थियो । अहिले पनि ती साधन स्वास्थ्य संस्थामा अपुग हुने गरेको परिवार योजना शाखा प्रमुख शर्मिला दाहालले बताइन् । 

सरकारले पाँच किसिमका गर्भनिरोधक साधन आफैँ किनेर पठाउनुपर्छ । तर, कतिपय जिल्लामा भने सबै प्रकारका साधन पुग्न नसकेको अध्ययनले देखाएको छ । हाल गर्भनिरोधक साधन प्रयोग गर्नुपर्ने उमेरका अधिकांश विदेश पलायन भएपछि गर्भनिरोधक साधनको समेत प्रयोग कम हुन थालेको विज्ञहरू बताउँछन् । ‘गर्भनिरोधकका साधनको प्रयोग जसले गर्नुपर्ने थियो उनीहरू विदेशमा छन् । जोडी छुट्टिएपछि यस्ता साधनको प्रयोगमा समेत कमी आएको छ,’ यौन तथा प्रजनन स्वास्थ्यविज्ञ डा. खेम कार्कीले भने, ‘हाल नेपालबाट करिब ४० लाख युवा विदेशमा छन्, त्यसमध्ये अधिकांश जोडी छुट्टिएर बसेका छन्, यसकारण पनि गर्भनिरोधक साधनको कम प्रयोग भएको देखिन्छ ।’

कार्कीका अनुसार गर्भनिरोधक साधनको प्रयोगको दर जति हुनुपर्ने हो त्यो हुन सकेको छैन । यौन चाहना तथा सम्पर्क गर्न सक्षम व्यक्तिहरू छुटेर बस्दा साधनको प्रयोगमा पनि कमी आइरहेको उनको भनाइ छ । कार्कीका अनुसार साधन प्रयोग गरिरहेकामध्ये २५ प्रतिशतले चाहेजस्तो साधन पाउन नसकेको नेसनल डेमोग्राफिक सर्भेले देखाएको छ । सर्भेले नेपालमा दम्पती तथा यौनसम्पर्क गर्न योग्य व्यक्तिले चाहेजस्तो गर्भनिरोधक साधन प्रयोग गर्न नपाएकोसमेत उल्लेख गरेको छ । ‘अहिले एक बच्चा मात्रै जन्माउनेको संख्या बढी छ, त्यसकारण जनसंख्या ऋणात्मक देखिन्छ,’ कार्कीले भने, ‘यसले गर्दा जनसंख्या पनि असन्तुलित हुँदै गएको छ ।’

स्वास्थ्य सेवा विभाग परिवार योजना शाखा प्रमुख शर्मिला दाहालले परिवार नियोजनको साधनहरूको वितरण सहज हुन नसकेको बताइन् । ‘परिवार योजनाका गर्भनिरोधक साधनको प्रयोग घटेको छ, यसको कारण, बसाइँसराइ, साधनको वितरण सही नहुनु र थाहा नभएर हुन सक्छ,’ उनले भनिन्, ‘कुन साधनको कस्तो प्रभावकारिता छ भन्ने सही तथ्यांक हामीसँग पनि छैन, तर साधन नियमित वितरण गरिरहेका छौँ । कतिपय साधनको म्याद गुज्रिएर खेर जाने अवस्थामा पनि छ, अर्कातर्फ परिवार योजना र कल्याणमा बजेट निकै कम छ ।’ 

दाहालले हाल नेपालमा जनसंख्या कम भएको भन्दै परिवार नियोजन साधन निरुत्साहित गर्नुपर्छ भनेर फैलाइएको विषय सत्य नभएको बताइन् । उनले बरु साधनको प्रयोगबारे जनचेतना प्रवाह गर्नुपर्ने, सुरक्षित मातृत्वमा ध्यान दिनुपर्ने र परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्नुपर्ने औँल्याइन् ।

नेसनल डेमोग्राफिक सर्भेले गर्भनिरोधकको साधनको प्रयोग कम हुँदै जानु मुख्यतः बसाइँसराइ भएको उल्लेख गरेको थियो । सर्भेले गर्भनिरोधकका साधनको प्रयोग निकै कम हुँदै गएको देखाएको थियो । प्रतिवेदनमा यौनसम्पर्क गर्न योग्य व्यक्तिमध्ये ४३ प्रतिशतले मात्रै गर्भनिरोधक साधनको प्रयोग गरेको देखाएको छ । स्वास्थ्य सेवा ऐनले पाँचथरी गर्भनिरोधक साधनलाई आधारभूत सेवाको रूपमा राखेको छ । सबै (आठ हजार) स्वास्थ्य संस्थाबाट कन्डम, पिल्स, डिपो, आइसिडी र इम्प्लान्ट सेवा निःशुल्क दिनुपर्छ । तर, अधिकांश स्वास्थ्य संस्थामा यी साधन सहजै पाइँदैनन् । 

गर्भनिरोधकका साधनमा वार्षिक ५४ करोड खर्च 
हाल गर्भनिरोधकका साधनमा वार्षिक ५४ करोड खर्च हुने गरेको छ । त्यसमध्ये अधिकांश बजेट विभिन्न दातृ निकायले वस्तुगत अनुदानमा दिन्थे । चालू आर्थिक वर्षमा ३२ करोड अनुदान प्राप्त भएको थियो । तर, अब दातृ निकायहरूले उक्त बजेट खुम्च्याएर १५ करोड मात्रै दिने बताएपछि परिवार योजना शाखाले नेपाल सरकारले अब गर्भनिरोधक साधनमा लगानी बढाउनुपर्ने भन्दै १७ करोड रुपैयाँ प्रस्ताव गरेको छ । ‘हामीकहाँ वार्षिक ५४ करोडबराबरको गर्भनिरोधकका साधन चाहिन्छ, तर बढीजसो अनुदानमै भर पर्नुपरेको छ ।

अहिले त अनुदान पनि कटौती भएको छ, त्यसकारण सरकारले बजेट बढाउनुपर्छ । बजेट पर्याप्त भयो भने देशैभरका स्वास्थ्य संस्थामा आधारभूत गर्भनिरोधक सामान वितरण गर्न सकिन्छ,’ शाखा प्रमुख दाहालले भनिन्, ‘यदि बजेट भएन भने साधन किन्न सकिँदैन, तर सरकारले विगतमा भन्दा क्रमशः बजेट बढाउँदै लगेको छ ।’ 

आर्थिक वर्ष ०८१/८२ मा सरकारले दुई करोड ६६ लाख २८ हजार ८६१ वटा कन्डम वितरण गरेको थियो । जुन निःशुल्क हो । सोही वर्ष बन्ध्याकरण सेवा लिनेको संख्या ११ लाख पाँच हजार ५०९ रहेको छ । त्यस्तै, पिल्सका नियमित प्रयोगकर्ता एक लाख ६४ हजार ६४० छन् भने डिपोका प्रयोगकर्ता तीन लाख १७ हजार ३३१ छन् । आयुसिडीका प्रयोगकर्ता एक लाख १५ हजार ५७८, इम्प्लान्टका प्रयोगकर्ता पाँच लाख ३६ हजार १९३ र सायना प्रेसका प्रयोगकर्ता ४० हजार ८३१ रहेका छन् । 

आव ०८१/८२ मा परिवार योजनाका सबै साधनमा ६ करोड खर्च भएको थियो । चालू आर्थिक वर्षका लागि १० करोड बजेट छुट्याइएको थियो । उक्त रकममध्ये सात करोड हाराहारी खर्च भइसकेको छ । आगामी आर्थिक वर्षका लागि १७ करोडको प्रस्ताव गरिएको दाहालले बताइन् । चालू आर्थिक ०८२/८३ को फागुनसम्म बन्ध्याकरण सेवा ११ लाख २४ हजार ५०९, पिल्स एक लाख ४१ हजार, आइयुसिडी एक लाख १६ हजार ३११, इम्प्लान्ट पाँच लाख सात हजार ४७९, सायना प्रेस ३१ हजार ४९० र कन्डम दुई करोड २६ लाख ७७१ थान प्रयोग भएको छ । 

 शर्मिला दाहाल, प्रमुख, स्वास्थ्य सेवा विभाग परिवार योजना शाखा परिवार योजनाका गर्भनिरोधक 
साधनको प्रयोग घटेको छ, यसको कारण बसाइँसराइ, साधनको वितरण सही नहुनु र थाहा नभएर हुन सक्छ । कुन साधनको कस्तो प्रभावकारिता छ भन्ने सही तथ्यांक हामीसँग पनि छैन । कतिपय साधनको म्याद गुज्रिएर खेर जाने अवस्थामा पनि छ, अर्कातर्फ परिवार योजना र कल्याणमा बजेट निकै कम छ ।

 डा. खेम कार्की यौन तथा प्रजनन स्वास्थ्यविज्ञ गर्भनिरोधकका साधनको 
प्रयोग जसले गर्नुपर्ने थियो उनीहरू विदेशमा छन् । जोडी छुट्टिएपछि यस्ता साधनको प्रयोगमा समेत कमी आएको छ । हाल नेपालबाट करिब ४० लाख युवा विदेशमा छन्, त्यसमध्ये अधिकांश जोडी छुटेर बसेका छन्, यसकारण पनि गर्भनिरोधक साधनको कम प्रयोग भएको देखिन्छ ।

सुझावित समाचार