विद्यालयको भवन निर्माणसम्बन्धी अनियमितताको भ्रष्टाचार मुद्दामा खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाले जनाले सफाइ पाएका छन्। विशेष अदालतले मुद्दामा फैसला सुनाउँदै शुक्रबार सफाइ दिएको हो।
तत्कालीन जिशिअहरू डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल, ज्ञानमणि नेपाल, लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सबइन्जिनियर शिवराज राईसहित विद्यालय व्यवस्थापन समिति र उपभोक्ता समितिका पदाधिकारीले सफाइ पाएका हुन्।
०७१ सालमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ४ स्थित लक्ष्मी माविको भवन निर्माणमा २४ लाख अनियमितता गरेको भन्दै गत १५ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अख्तियारको छानबिनमा दुई लाख ७२ हजारको काम गरेर २४ लाख भुक्तानी दिइएको देखिएको थियो। झुटा बिल बनाई भुक्तानी गरिएको अख्तियारको दाबी थियो।
विशेषले भने त्यसमा भ्रष्टाचार नभएको फैसला गरेको छ। विशेषका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सफाइको फैसला गरेको हो।