हेटौँडामा अवैध सालको काठसहित गाडी नियन्त्रणमा

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

हेटौँडामा प्रहरीले अवैध सालको काठसहित एउटा गाडी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गत वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा काठ बरामद गरेको हो । प्रहरीका अनुसार शुक्रबार दिउँसो हेटौँडा– ६, चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा.२०च १८६१ नम्बरको योद्धा गाडीलाई हेटौँडा उपमहानगरपालिका– ५, क्याम्पाडाँडा क्षेत्रमा रोकी जाँच गर्न खोजिएको थियो ।

प्रहरी टोलीले जाँच गर्न खोजेपछि गाडीचालक फरार हुने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले गाडीलाई पछ्याउँदै हेटौँडा– २, सानोपोखरा चोकस्थित भित्री सडकखण्डबाट नियन्त्रणमा लिएको जनाएको छ ।गाडीको तलासीका क्रममा त्रिपालले छोपेर लुकाइराखिएको अवस्थामा सालको फन्टा ४१ थान फेला परेको प्रहरीले जनाएको छ । बरामद काठको परिमाण ७२.५९ क्युफिट रहेको छ।

प्रहरीले काठसहित गाडी नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हेटौँडा पठाएको जनाएको छ।

सुझावित समाचार