पूर्ण सुकुमवासी, भूमिहीन, स्ववासी तथा अव्यवस्थित बसोबासी एक होऊँ भन्ने नारासहित संयुक्त सुकुमवासी मोर्चा नेपालले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
सरकारले सुकुमवासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीका घरमा डोजर चलाएर जबर्जस्ती हटाएको आरोप लगाउँदै मोर्चाले प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले वैकल्पिक बसोबासको व्यवस्था नगरी आफूहरूलाई उठीवास गराइएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले थाल ठटाएर विरोध जनाएका थिए। उनीहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने माग गरेका छन्।
मोर्चाले प्रभावित परिवारलाई उचित व्यवस्थापन तथा पुनर्स्थापनाको ग्यारेन्टी गर्न सरकारसँग आग्रह गरेको छ।