- स्वीकृत दरबन्दीभित्र झन्डै पाँच सय नर्सिङ, २४२ विशेषज्ञ तथा कन्सल्टेन्ट चिकित्सक, १८२ मेडिकल अधिकृत, ३९ जना मिडवाइफरीलगायत छन् ।
अर्थ मन्त्रालयले स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टरसहितका ९७७ जना नयाँ स्थायी प्राविधिक दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको छ । विद्यमान जनशक्तिका कारण स्वास्थ्य संस्था सञ्चालनमा समस्या भएको भन्दै स्वास्थ्य मन्त्रालयले दरबन्दी बढाउन माग गर्दै गरेको सिफारिस अर्थले स्वीकृत गरेको हो । मन्त्रिपरिषद्बाट निर्णय भएपछि कार्यान्वयनमा आउनेछ । यो जनशक्तिले स्वास्थ्य सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।
हाल नेपालमा ०४८ मा निर्धारण गरिएको दरबन्दी कायम छ । त्यसवेला नेपालको जनसंख्या एक करोड ८१ लाखहाराहारी थियो । अहिले जनसंख्या झन्डै तीन करोड पुगेको छ ।
तर, स्वास्थ्यमा ०४८ कै दरबन्दी कायम रहँदा हालको अवस्थामा स्वास्थ्य सेवा प्रवाहमा सकस हुने गरेको छ । कतिपय अस्पतालको संरचना व्यवस्थित बनेपछि जनशक्ति अभावका कारण सेवा प्रवाह व्यवस्थित हुन सकेको छैन ।
वर्तमान जनसंख्याकै आधारमा स्वास्थ्य जनशक्ति हुनुपर्ने भन्दै यस क्षेत्रका विज्ञहरूले आवाज उठाउँदै आएका थिए । हाल अधिकांश अस्पतालमा विशेषज्ञ चिकित्सक, एमबिबिएस, नर्स, ल्याब टेक्निसियन, जनस्वास्थ्यविद् र अन्य स्वास्थ्यकर्मीको अभाव छ ।
नयाँ दरबन्दीले अभाव भएका अस्पतालमा ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ । अर्थ मन्त्रालयले स्वीकृत गरेको दरबन्दीभित्र स्टाफ नर्ससहितका झन्डै पाँच सय नर्सिङ जनशक्ति छन् । २४२ विशेषज्ञ तथा कन्सल्टेन्ट चिकित्सक, १८२ मेडिकल अधिकृत, ३९ जना मिडवाइफरी, अन्य जनस्वास्थ्यविद्हरू छन् ।