कांग्रेस नेता डा. शेखर कोइरालाले हदैसम्म लचक बनेर पार्टी एकता जोगाउन सभापति गगन थापाको ध्यानाकर्षण गराएका छन् । सभापति थापासँग मंगलबार भएको भेटमा उनले गम्भीर ध्यानाकर्षण गराएका हुन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबारको बैठकले निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेता पूर्णबहादुर खड्का तथा कोइरालालगायतका अग्रज नेतासँग संवाद गरेर एकताको वातावरण बनाउने जिम्मेवारी सभापति थापालाई दिएको थियो । त्यही सिलसिलामा थापाले कोइरालासँग मंगलबार विशालनगरस्थित उनको सम्पर्क कार्यालयमा करिब एक घण्टा कुराकानी गरेका हुन् । नेता खड्कासँग भने बुधबार मात्रै भेट्ने समय तय भएको छ ।
‘पार्टीभित्रको एउटा ठुलो समूह बाहिर रहेको अवस्थामा राम्रो सन्देश गएको छैन, एकताबद्ध महाधिवेशनको वातावरण पनि बनेको छैन, त्यसैले सबै अनुभवी सिनियर नेताहरूसँग भेटेर संवाद गर्नुस्, पार्टीलाई एकढिक्का बनाएर महाधिवेशनमा जाने कि नजाने नेतृत्वका हिसाबले अबको बल तपाईंकै कोर्टमा छ,’ शेखरको भनाइ उद्धृत गर्दै स्वकीयसचिव दिनेशचन्द्र थपलियाले भने, ‘म एकताका लागि जुनसुकै भूमिका खेल्न र योगदान दिन तयार छु, पार्टीलाई एक बनाएर महाधिवेशनमा जानुपर्छ ।’
जवाफमा सभापति थापाले आफू एकताका लागि लचक बन्न तयार रहेको बताएका थिए । पहिले सबैसँग एकसरो संवाद गर्ने नीति रहेको जानकारी गराउँदै थापाले सबै विषय हल गरेर जान सकिने जानकारी गराएका थिए । ‘उहाँहरूबिच मिलेर जाने, सहकार्य गरेर जाने विषयमा सकारात्मक संवाद भएको छ,’ थापाका स्वकीयसचिव शंकर कुइँकेलले भने ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सभापतिले अग्रज नेताहरूसँग पार्टीलाई एकताबद्ध बनाएर लैजाने उद्देश्यले संवाद सुरु गरेको जानकारी दिए । ‘अग्रज नेताहरूसँग वार्ता र संवाद गरेर पार्टीको एकता कायम गर्ने, मतभिन्नता न्यूनीकरण गर्ने जिम्मेवारी केन्द्रीय कार्यसम्पादन समितिले सभापतिलाई दिएको थियो । त्यसअनुसार नै उहाँले भेटेर संवाद गर्नुभएको हो ।’ उनले संवादको सिलसिला जारी नै रहने पनि बताए ।
देउवा र कोइराला समूहले १५औँ महाधिवेशन गर्ने निर्णयपछि क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबाट एकता बिथोलिने चेतावनी दिँदै आएका छन् । मिलेर महाधिवेशनमा सहभागी हुन पहिलो सर्त नै विवादअघि अद्यावधिक गरी कायम गरिएको सदस्यता हुनुपर्ने अडान राख्दै आएका छन् ।
थापासँगको पछिल्लो भेटमा कोइरालाले फेरि सदस्यता नवीकरण र अद्यावधिक गर्ने निर्णय फिर्ता नभए मिलेर जाने प्रस्ताव मान्न सकिने अवस्था नहुने घुमाउरो तरिकाले चेतावनी नै दिएका थिए । ‘मिलेर जाने कुरामा दुईमत छैन, तर त्यसका लागि नवीकरण भइसकेको र विधिपूर्वक अद्यावधिक गरिएको सदस्यतालाई आधार मान्नुपर्छ,’ कोइरालाको भनाइ थियो, ‘फेरि क्रियाशील सदस्यता विस्तार गरेर महाधिवेशनमा जाने हो भने मान्य हुन सक्दैन, एकताका लागि त्यो निर्णयबाट फिर्ता हुनुस् ।’
प्रवक्ता चालिसेले पार्टीलाई एकढिक्का बनाएर महाधिवेशनमा जान धेरै कुरा सभापतिकै तहबाट मिलाउनुपर्ने भएकैले संवाद सुरु भएको बताए ।