स्थायी रूपमै दुई दिन सार्वजनिक बिदा दिन अध्ययन भइरहेको छ : शिक्षामन्त्री पोखरेल

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले  स्थायी रूपमै दुई दिन नै सार्वजनिक बिदा दिने विषयमा अध्ययन भइरहेको बताएका छन्। त्यसका लागि पाठ्यक्रम संशोधनलगायत विषयमा गृहकार्य भइरहेको  उनको भनाइ छ।  

सोमबार मन्त्रालयमा आयोजित उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँगको छलफलमा मन्त्री पोखरेलले यससम्बन्धी जानकारी दिएका हुन्। 

छलफलमा उनले शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीन तहका सरकारबिच बलियो समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे। उनले शुल्क निर्धारणको विषय र छात्रवृत्तिको विषयमा मन्त्रालयमा गुनासो आएको भन्दै छात्रवृत्ति वितरण पारदर्शी बनाउन अनुरोध गरेका छन्। 

उनले संस्थागत विद्यालयमा शुल्क नियमन, मन्त्रालयमा आएका शुल्कसम्बन्धी गुनासो पालिकामै पठाइदिने संयन्त्र बनाइएको भन्दै आवश्यक सहजीकरणका लागि मन्त्रालय तयार रहेको बताएका छन्।

छलफलमा काठमाडौं महानगरपालिकाकी 
कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले दुई दिन सार्वजनिक बिदा गर्दा पाठ्यक्रम समायोजन चाँडो गर्नुपर्नेमा जोड दिइन् । उनले दरबन्दी व्यवस्थापनमा मन्त्रालयले गर्ने निर्णयमा महानगरले समन्वय गर्ने विश्वास व्यक्त गरिन्। 

ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले निजी विद्यालयमा छात्रवृत्ति वितरण पारदर्शी बनाइनुपर्नेमा जोड दिँदै धेरै विद्यालयको जग्गा आफ्नाे भोगाधिकारको जग्गा नरहेकाले नीतिगत प्रबन्ध गरिनुपर्ने बताए। 

नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले शिक्षा निःशुल्क पाउने व्यवस्था गर्न माग गरे । उनले शुल्क निर्धारण स्थानीय सरकार आफैँले गर्ने र आफैँ जिम्मेवार हुनुपर्नेमा जोड दिए।  उनले १० प्रतिशत छात्रवृत्ति आफैँ अनुगमन गर्ने, २२० दिन नघट्ने गरी विद्यालय सञ्चालन गरिनुपर्ने तथा कक्षा १ देखि ५ सम्मको परीक्षामा मापदण्ड बनाइनुपर्ने सुझाव दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शुल्क निर्धारण तथा नियमन स्थानीय सरकारले नै गर्ने  बताइन्। 

छलफलमा गृह मन्त्रालय र शिक्षा मन्त्रालयका उच्च अधिकारीको पनि उपस्थिति रहेको थियो । तीनै तहका सरकारसँगको समन्वयमा मात्रै शिक्षा क्षेत्रमा सुधार हुने शिक्षामन्त्रीको विश्वास छ ।  मन्त्रालयले चाँडै नै प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रीहरुसँग पनि बैठक गर्ने गर्ने योजना रहेको जनाएको छ। 
 

सुझावित समाचार