गत २५ चैतमा ललितपुरको कृष्ण मन्दिरमा भएको दाजुभाइको हत्या भएको घटनामा तीनजनाविरुद्ध मुद्दा दायर भएको छ। एकजनालाई मुख्य अभियुक्त र दुईजनालाई मतियारको रूपमा सोमबार जिल्ला अदालत, ललितपुरमा मुद्दा दायर भएको हो।
फोनमा भएको विवादमा ३२ वर्षीय सुमित नेम्वाङ र उनका २४ वर्षीय भाइ सिर्जन लिम्बूको हत्या भएको थियो। हत्यामा संलग्न ललितपुर– ९, भोलढोकाका ३२ वर्षीय सञ्जीव नेपाली, पूर्वी नवलपरासीको गैँडाकोट– १ घर भएका २१ वर्षीय गगन सुनार र झापाको कमल गाउँपालिका– ६ घर भएका २७ वर्षीय विकास लिम्बूविरुद्ध मुद्दा दायर भएको हो। उनीहरूमध्ये नेपालीलाई जन्मकैद सजायको माग गरिएको छ भने अन्य दुईजनालाई मतियारका रूपमा मुद्दा दायर भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी गौतम मिश्रले बताए।
मुद्दा दायर भएकामध्ये लिम्बू मृतक नेम्वाङ दाजुभाइकै साथी हुन्। अनुसन्धानमा खुलेअनुसार प्रमुख अभियुक्त नेपालीसँग पनि उनको सामान्य चिनजान थियो। २५ चैतको साँझ उनी नेम्वाङ दाजुभाइसँग कृष्ण मन्दिर घुम्न गएका थिए। चिया पिइरहेको वेला सुमितले आफ्नो मोबाइल लिएको र सञ्जीव नेपालीसँग फोनमा झगडा गरेका थिए। त्यही क्रममा नेपालीलाई कृष्ण मन्दिर बोलाएका थिए। त्यहाँ उनीहरूबिच झगडा हुँदा छुरा हानेर नेपालीले नेम्वाङ दाजुभाइको हत्या गरेका हुन्। घटनाको कारण विकासकै मोबाइल भएको र उनले झगडा मिलाउने प्रयाससमेत नगरेको भन्दै उनलाई पनि प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको हो। अर्का अभियुक्त सुनार भने सञ्जीवका साथी हुन्। उनी प्रत्यक्ष रूपमा घटनामा संलग्न नभए पनि शंकास्पद भूमिका देखिएको भन्दै उनलाई पनि मुद्दा दायर गरिएको छ।