उदयपुरमा अब राहदानी घरमै पुग्ने

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

उदयपुरमा अब राहदानी घरमै पुग्ने भएको छ । नागरिकले राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हट्दै घरमै आउने भएको हो ।

सरकारले सुरु गरेको शासकीय सुधार अभियानअन्तर्गत हुलाक सेवामार्फत घरमै राहदानी पुर्याउने सेवा उदयपुरमा औपचारिक रूपमा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयले जानकारी दिए । 

उनका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको निर्णयअनुसार हुलाक सेवालाई ‘गभर्नमेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने योजना अघि बढाइएको छ । उनले भने, ‘सोही योजना कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला हुलाक कार्यालय उदयपुरबिच वैशाख १७ गते सम्झौता भई सेवा प्रारम्भ भएको छ ।’
नयाँ व्यवस्थाअनुसार अब राहदानी आवेदन दिने सेवाग्राहीले आवेदनकै समयमा नै राहदानी कहाँबाट लिने भन्ने विकल्प छनोट गर्न सक्नेछन् । चाहनेले हुलाकमार्फत घरमै प्राप्त गर्न सक्नेछन् भने चाहनेले जिल्ला प्रशासन कार्यालयबाटै बुझ्न सक्ने व्यवस्था गरिएको पाण्डेयको भनाइ छ । 

यो सेवाले सेवाग्राहीको समय, खर्च र प्रशासनिक झन्झट घटाउने बताइएको छ । विशेषगरी टाढा–टाढाका नागरिकलाई जिल्ला सदरमुकामसम्म बारम्बार धाउनुपर्ने समस्या हट्ने पाण्डेयले दाबी गरे । 

जिल्ला प्रशासन कार्यालयले राहदानी आवेदन गर्दा नै आफ्नो रोजाइ स्पष्ट रूपमा उल्लेख गर्न सबै सेवाग्राहीलाई आग्रह पनि गरेको छ ।

See More On

सुझावित समाचार