परीक्षा प्रणालीका असान्दर्भिक पक्षहरू

वर्तमान परीक्षा प्रणालीलाई निरन्तर मूल्यांकनमा परिणत गरी शिक्षालाई पूर्णतः राज्यको दायित्व र सेवामूलक क्षेत्रका रूपमा स्थापित गरिनुपर्छ

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

शिक्षा राष्ट्रनिर्माणको मेरुदण्ड भए पनि वर्तमान शिक्षा प्रणाली साक्षरता र प्रमाणपत्रका लागि अंकको प्रतिस्पर्धामा मात्र सीमित हुन पुगेको छ । बजारको आवश्यकताअनुसार शैक्षिक जनशक्ति उत्पादन गर्न नसक्दा सामाजिक रूपबाट वर्तमान शिक्षा प्रणाली टाढिँदै छ ।

दिगो विकासको लक्ष ४ अन्तर्गत गुणस्तरीय र जीवनपर्यन्त सिकाइको अवसर सिकारुलाई प्राप्त हुँदैन । यसले गर्दा परीक्षामा सफल नहुने विद्यार्थीले आफूलाई जीवनमै असफल ठान्छन् । राष्ट्र, समाज, परिवार र स्वयं व्यक्तिका लागि समेत यो ठुलो मानवीय क्षति हो । राज्यका शैक्षिक नीतिले भावनात्मक सम्बन्ध बुझ्नुपर्ने हो, तर प्रशासनिक जडता, नीतिगत कठोरता र शासकीय अहम्ले देशमा जुनसुकै तन्त्र आए पनि जनता र शासकको शैक्षिक दूरी घटाउन सकेन ।

विद्यालायहरू शैक्षिक प्रयोगशालामा परिणत नहुँदा विज्ञान, प्रविधि, गणित, भाषाजस्ता विषयलाई समेत व्यावहारिक विज्ञानमा परिणत गर्न सकिएको छैन । विद्यार्थी मूल्यांकनमा परीक्षा प्रणालीलाई महत्व दिइएको छ । पुस्तकीय ज्ञानलाई अंकमा परिणत गरी मापन गरिँदा तहगत सक्षमताका आधारमा विद्यार्थीको मूल्य निर्धारण हुने देखिँदैन । आधारभूत, माध्यमिक तथा उच्च तह पार गरेका विद्यार्थीको ज्ञान, सिप, क्षमता, मूल्य र प्रवृत्तिजस्ता पाठ्यक्रमका सक्षमता हासिल भएर जीवनमा सफलता सुनिश्चित हुने शैक्षिक तथा सामाजिक वातावरण बन्न सक्ने देखिँदैन ।

वर्तमान विद्यालय तहको पाठ्यक्रमले सिपविहीन जनशक्ति उत्पादन गरेर शैक्षिक बेरोजगार बढाइरहेको छ भने आन्तरिकभन्दा बाह्य परीक्षालाई महत्व दिइँदा शैक्षिक क्षति झनै जटिल बनिरहेको छ । लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार विषयगत रूपमा आन्तरिकतर्फ ‘सी’ र सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त गर्न नसक्ने विद्यार्थीका लागि मूल प्रमाणपत्र उपलब्ध नगराइने व्यवस्थाले विद्यालयामा कोचिङ र ट्युसनको सुगारटाइ चलिरहेको छ । वृहत् र अव्यावहारिक परम्परागत पाठ्यक्रम तथा मूल्यांकन प्रणालीका कारण विद्यालयदेखि उच्च तहसम्मका परीक्षा प्रणाली कमजोर छन् ।

पुस्तकीय ज्ञानको परीक्षणमा केन्द्रित रहँदा विद्यार्थीको रचनात्मक र व्यावहारिक पक्षको मूल्यांकन भएको छैन । विद्यार्थीको संज्ञानात्मक पक्षको मात्र मापन गरियो । शिक्षक र विद्यार्थी पाठ्यपुस्तक केन्द्रित हुँदा शैक्षिक कार्यशैली फरक भएन । फरक त परीक्षामा सफल र असफल हुने विद्यार्थीमा मात्र देखियो । असफल हुनेका लागि शैक्षिक आकाश नै खस्ने र सफल हुनेमा पनि सिकाइ सक्षमताका आधारमा सिपगतअन्तर खासै देखिएन । यस्ता अव्यावहारिक पाठ्यक्रम र सैद्धान्तिक परीक्षाका कारण शिक्षक तथा विद्यार्थी अध्ययन र अनुसन्धानात्मक वातावरणबाट क्रमशः टाढिँदै जाँदा राज्यले शैक्षिक क्षति व्यहोर्नुपरिरहेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्ल्यास रिपोर्टअनुसार ०७३ मा कक्षा १ मा भर्ना भएका १० लाख ५३ हजार ८ सय २४ विद्यार्थीमध्ये ०८२ चैतमा भएको एसइईमा राष्ट्रिय परीक्षा बोर्डका अनुसार ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भए । भर्ना भएकामध्ये ५१.३७ प्रतिशत विद्यार्थी परीक्षामा अनुपस्थित देखिए । त्यस्तै, ०७१ मा कक्षा १ मा भर्ना भएका ११ लाख ७१ हजार ९ सय १६ मध्ये ०८३ वैशाख १४ गते सञ्चालित कक्षा १२ को एसएलसी परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० गरी जम्मा ४ लाख १८ हजार ८ जना परीक्षार्थीको मात्र परीक्षामा सहभागिता देखिन्छ ।

अव्यावहारिक परम्परागत पाठ्यक्रम तथा मूल्यांकन प्रणालीका कारण विद्यालयदेखि उच्च तहसम्मका परीक्षा प्रणाली कमजोर छन् । पुस्तकीय ज्ञानको परीक्षणमा केन्द्रित रहँदा विद्यार्थीको रचनात्मक र व्यावहारिक पक्षको मूल्यांकन भएको छैन । 

कक्षा १ मा भर्ना भएकामध्ये करिब ७१.६६ प्रतिशत विद्यार्थी कक्षा १२ को नियमित परीक्षासम्म पुग्न सकेनन् । २८.३४ प्रतिशत विद्यार्थी मात्र नियमित परीक्षामा सहभागी भए पनि त्यसको ५० देखि ६० प्रतिशत विद्यार्थी मात्र सफल हुन्छन् । उल्लिखित एसइई र एसएलसी परीक्षाको तथ्यांकअनुसार नेपालको विद्यालय शिक्षा प्रणालीको दयनीय अवस्थाको चित्रण गर्छ । तैपनि, विद्यार्थीलाई परीक्षामा विद्यालय साटासाट हुनुपर्ने अवस्थाले दुर्गम क्षेत्रका विद्यार्थी र उसका अभिभावकले अनावश्यक दुःख र खर्च व्यहोर्नुपरेको छ भने दुर्घटनाका समाचार पनि प्रशस्तै सुनिएका छन् । 

राष्ट्रिय पाठ्यक्रम प्रारूप ०७६ ले विद्यालय शिक्षाको 
पाठ्यक्रममा देशभरि एकरुपता कायम गरेको छ । कक्षा १० सम्म अनिवार्य गरिएका गणित तथा विज्ञानलगायत केही विषय कक्षा ११ र १२ मा ऐच्छिक पढ्न पाउने व्यवस्था गरिएको छ । कक्षा १० सम्मका विद्यार्थी ती विषयमा नन्ग्रेड प्राप्त गर्दा माथिल्लो कक्षामा भर्ना पाउँदैनन् र कक्षा ११ र १२ मा पुगेपछि ती विषय ऐच्छिक हुनुले वर्तमान परीक्षा प्रणालीमा विद्यार्थी फेल गरेर मानसिक तनाव दिनुको अर्थ के होला ?

क्रेडिट आवर र परीक्षा प्रणालीको असान्दर्भिकता :  राष्ट्रिय पाठ्यक्रम प्रारूप, ०७६ ले शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्न र विद्यार्थीको सिक्ने समयलाई महत्व दिन क्रेडिट आवरको व्यवस्था गरिएको छ । वर्तमान परीक्षा प्रणालीले अझै पनि अन्तिम परीक्षामा तीन घण्टामा लेखेको उत्तरलाई मात्र महत्व दिन्छ । २५ प्रतिशत आन्तरिक मूल्यांकन (प्रयोगात्मक)लाई क्रेडिट आवरसँग जोड्न खोजिए पनि अधिकांश विद्यालयमा यसलाई सित्तैमा दिइने अंकका रूपमा लिइन्छ । कुनै विद्यार्थीले वर्षभरि कक्षामा क्रेडिट आवर पूरा गर्यो, तर अन्तिम परीक्षामा ३५ प्रतिशत ल्याउन सकेन भने उसको त्यो क्रेडिटको कुनै मूल्य रहँदैन । उल्टै नन्ग्रेड भनेर असफल भएको प्रमाणित गरिन्छ ।

अन्तर्राष्ट्रिय अभ्यासमा विद्यार्थीले एउटा विषयमा क्रेडिट पूरा गरेपछि अर्को विषय वा विद्यालय जाँदा त्यो क्रेडिट जोडिन्छ । त्यसैले, कुनै विषयमा नन्ग्रेडिङ आउँदैमा अगाडिको पढाइबाट वञ्चित गराइनु हुँदैन । यसलाई वास्तविक बनाउन विद्यार्थीले प्राप्त गर्ने नन्ग्रेडलाई हटाएर ‘क्रेडिट अपूर्ण’ भन्नुपर्छ । यस्तो कार्यले विद्यार्थीलाई असफल भएको हीनताबोध गराउँदैन । बरु मैले यो विषयमा अझै समय बिताउनुपर्नेछ भन्ने सन्देश दिन्छ । राष्ट्रिय शिक्षा नीति, २०७६ ले शिक्षालाई सीप र श्रमसँग जोड्न क्रेडिट बैंकिङको अवधारणाअनुसार औपचारिक शिक्षा बिचमै छाडेका वा प्राविधिक शिक्षा लिएकाहरूले आफ्नो क्रेडिटका आधारमा पुनः शिक्षामा प्रवेश पाउने बाटो खोलेको भए पनि वर्तमान परीक्षा प्रणालीका प्रक्रियागत अवस्थाले सहज हुने देखिँदैन ।

पाठ्यक्रम तथा मूल्यांकनबिचको असान्दर्भिकता :  राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले सक्षमतामा आधारित पाठ्यक्रमलाई सैद्धान्तिक रूपमा कार्यान्वयन गरेको छ । ज्ञान, सिप, प्रवृत्ति तथा मूल्य–मान्यताको सम्मिश्रण गरी सिकाइलाई आफ्नो दैनिक जीवनका समस्या समाधानमा प्रयोग गर्न सक्ने क्षमता विद्यार्थीमा हुनुपर्छ । कक्षागत सिकाइ उपलब्धि तथा तहगत सक्षमता, एकीकृत पाठ्यक्रमका व्यवहारकुशल सिप, २१औँ शताब्दीका जीवनोपयोगी सिप प्राप्त गर्न सक्षमतामा आधारित पाठ्यक्रमले निरन्तर विद्यार्थी मूल्यांकनको साधनलाई महŒव दिन्छ । तर, वर्तमान परीक्षा प्रणालीमा मूल्यांकनभन्दा मापनको अंकन प्रक्रियामार्फत सफल र असफलको घोषणा गरिरहन्छ भने सक्षमतामा आधारित पाठ्यक्रमको व्यावहारिक उपयोग कसरी भयो ? 

नेपालको वर्तमान पाठ्यक्रम तथा मूल्यांकन प्रणाली परम्परागत ढाँचा र संरचनामा आधारित छ । वर्तमान परीक्षा प्रक्रिया संरचनात्मक र प्राविधिक रूपमा आधुनिक देखिए पनि मूल दर्शन र प्रवृत्तिमा यो १९९० कै तीनघण्टे लिखित परीक्षाको परिमार्जित रूपको निरन्तरता मात्र हो । विद्यार्थीले वर्षभरि के सिक्योभन्दा पनि त्यो तीन घण्टामा के लेख्यो भन्नेले नै उसको भविष्यको मापन गरेर निर्णय गर्छ । जबसम्म सिपमूलक व्यावहारिक पाठ्यक्रमको निरन्तर मूल्यांकनबाट विद्यार्थीको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्न सकिन्न तबसम्म पाठ्यक्रम र मूल्यांकनबिचको सान्दर्भिकता देखिँदैन ।

प्रयोगात्मक र सैद्धान्तिक परीक्षाको असान्दर्भिकता :  लेटर ग्रेडिङ निर्देशिका ०७८ ले विद्यालय तहको मूल्यांकन प्रणालीमा सैद्धान्तिक र प्रयोगात्मक पक्षको प्राप्तांकलाई छुट्टाछुट्टै गणना गर्ने व्यवस्था गरेको छ । कक्षा १ देखि ७ सम्मको उदार कक्षानीतिका कारण विद्यार्थीले सैद्धान्तिक परीक्षामा शून्य ल्याए पनि प्रयोगात्मक अंक थपेर पास हुने परिपाटी बस्यो । यसले गर्दा कक्षा १० पास गरेका विद्यार्थीमा न्यूनतम साक्षरता र विषयगत ज्ञानसमेत नभएको पाइयो । त्यसैले, न्यूनतम सक्षमता सुनिश्चित गर्न प्रयोगात्मक र सैद्धान्तिक परीक्षामा छुट्टाछुट्टै अंक ल्याउनुपर्ने नियम कडा पारिएको हो भन्ने सैद्धान्तिक तर्क सरकारको देखिन्छ ।

विद्यालय शिक्षालाई गुणस्तरीय र जीवनपर्यन्त सिकाइ बनाउन परीक्षाबाहेकको विकल्प नखोजिनु व्यावहारिक समाधान होइन भन्ने शिक्षाविद्हरूको व्यावहारिक बुझाइ छ । किनभने विद्यार्थीले प्रयोगात्मक परीक्षामा शतप्रतिशत सिप देखाउँछ, तर सैद्धान्तिक परीक्षामा स्वास्थ्य समस्या वा अन्य कारणले ३५ प्रतिशत अंक ल्याउन सकेन भने उसलाई अनुत्तीर्ण गराउनु न्यायोचित देखिँदैन । यसले विद्यार्थीको सर्वांगीण क्षमताको वृहत् पक्षलाई भन्दा संज्ञानात्मक पक्षको सीमित तहलाई मात्र बढी प्राथमिकता दिएको देखिन्छ । त्यसैले सैद्धान्तिक र प्रयोगात्मकलाई जोडेर न्यूनतम अंक तोकिनुपर्छ ।

निष्कर्ष :  जनताले तिरेको कर र राजस्वभन्दा चालू खर्च बढ्ता हुँदा पनि जनताले सेवा लिन घण्टौँ लाइनमा बस्नुपर्ने शासनलाई नै सुशासन भनिरहँदा शैक्षिक प्रणालीको मूल्यांकन भएन । शिक्षा सैद्धान्तिक र अव्यावहारिक हुँदा गरिखानेभन्दा गराई खाने हाकिमी प्रवृत्ति भएका आलोचनात्मक गुण सम्पन्न शिक्षित नागरिक तयार भइरहँदा पनि शिक्षालाई वस्तुका रूपमा किनबेच गर्न छोडिएन । पारिवारिक स्वास्थ्य, शिक्षा कमजोर हुँदा ‘जंक फुड’हरू स्वादिष्ट भएर स्थानीय परिकारलाई विस्थापित गरिरहँदा पनि सामुदायिक स्वास्थ्य शिक्षाले महत्व पाएन ।

सामुदायिक स्वास्थ्य शिक्षा कमजोर हुँदा अस्वस्थ खानाले बाल्यकालदेखि नै दीर्घरोगी बनेर जीवनका महत्वपूर्ण खुसी लुटिइरहँदा शिक्षा सामाजिक रूपान्तरणको साधनसम्म बन्न सकेन । नेपालको संविधान २०७२ को धारा ५१(ज)मा शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सिपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने राज्यको नीति भए पनि वर्तमान पाठ्यक्रम तथा परीक्षा प्रणालीबाट विज्ञान, प्रविधि तथा वैज्ञानिक आविष्कारका लागि सहज हुने देखिँदैन ।

विद्यार्थीले परीक्षाका लागि मानसिक तनाव र अनावश्यक दुःख पाइरहँदा जीवनपर्यन्त सिकाइका माध्यमबाट सफलताका लागि पूर्ण आत्मविश्वासको न्यूनतम अपेक्षासमेत प्राप्त हुन सहज भएन । अधिकारमा आधारित शैक्षिक न्यायको कारण प्रतिस्पर्धात्मक शिक्षाको धरातल कमजोर देखिन्छ । त्यसैले धारा ३१ मा शिक्षाको मौलिक हकमा अनिवार्य र निःशुल्क विद्यालय शिक्षा अधिकारका लागि उल्लेख गरियो, तर सामाजिक न्यायका लागि गुणस्तरीय शिक्षालाई जोडिएन ।

शिक्षा जीवन जिउने कला र समाज रूपान्तरणको माध्यम भएकाले नेपालको शैक्षिक प्रणालीलाई नवप्रवर्तन र उद्यमशीलताको केन्द्रमा रूपान्तरण गरिनुपर्छ । वृहत् पाठ्यक्रम र जटिल परीक्षा प्रणालीलाई साधन बनाएर विद्यार्थीको मानसिक व्यापारका लागि शिक्षालाई वस्तुका रूपमा व्यापार गरिनुहुँदैन । अधिकारमा आधारित शिक्षा कार्यान्वयनका क्रममा हुने लुछाचुँडीले मात्र सामुदायिक र निजी विद्यालयबिचको खाडल बढ्दै गएको हो । परीक्षाको डर देखाएर कोचिङ र ट्युसन भन्दै विद्यार्थीको मानसिक बाध्यताको किनबेचमा संस्थागत र सामुदायिक विद्यालयको कार्यशैली फरक छैन ।

विद्यार्थीको भावनात्मक सामाजिक सिकाइका लागि वर्तमान पाठ्यक्रम र परीक्षा प्रणालीमा आमूल परिवर्तन भएर निरन्तर मूल्यांकन प्रणालीलाई कार्यान्वयन गरिनुपर्छ । वर्षभरिको सिकाइलाई तीन घण्टाको परीक्षामार्फत मापन गरिनु विद्यार्थीको वास्तविक मूल्यांकन होइन । यो त शैक्षिक क्षतिको सीमाविहीनता मात्र हो । त्यसैले वर्तमान परीक्षा प्रणालीलाई निरन्तर मूल्यांकनमा परिणत गरी शिक्षालाई पूर्णतः राज्यको दायित्व र सेवामूलक क्षेत्रका रूपमा स्थापित गरिनुपर्छ । 

(कोइराला नेपाल शिक्षक महासंघ, गोलन्जोर गापा समिति, सिन्धुलीका अध्यक्ष हुन्)
 

सुझावित समाचार