प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढ्यो : महासंघ

एक वर्षमा १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल पत्रकार महासंघले यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेको जनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा महासंघले शनिबार विज्ञप्ति प्रकाशित गर्दै पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिमजस्ता कारणले प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको निष्कर्ष निकालेको छ । वर्तमान सरकारले अख्तियार गरेको कदमबाट लोकतान्त्रिक संस्कृतिको संरक्षणमै शंका हुने स्थिति सिर्जना भएको महासंघको भनाइ छ । 

‘सञ्चार क्षेत्रको आर्थिक संकट समाधान, पत्रकार पलायन, निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन तथा सूचनामा लगाइएको रोक, सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचनाको प्रतिरक्षा गर्नु महासंघका सामु चुनौती छन् । निर्वाचनपछि बनेको सरकारले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, जनताको मौलिक हकको प्रत्याभूति र लोकतान्त्रिक संस्कृतिको सरक्षण गर्छ भन्नेमा महासंघ सशंकित छ,’ महासंघको विज्ञप्तिमा छ ।

महासंघ सञ्चार अनुगमन इकाइले ४ मे २०२५ देखि ३० अप्रिल २०२६ सम्म संकलन गरेको विवरणअनुसार चालू वर्ष एक सय ३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । गत वर्ष ७३ वटा घटना भएका थिए । त्यसभन्दा अघिल्लो वर्ष ६२ वटा थिए । तुलनात्मक विश्लेषण गर्दा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढिरहेको तथ्यांकले देखाएका छन् ।

सुझावित समाचार