नवलपुरको कावासोतीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका– ८ स्थित कालीगण्डकी चोकमा रोकेर राखेको ट्रकमा स्कुटर ठोक्किँदा हुप्सेकोट गाउँपालिका– ३ की ३६ वर्षीया निशा कुमालको मृत्यु भएको हो ।
फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग.प्र.०४-००२ प २६२५ नम्बरको स्कुटर अनियन्त्रित भई सडककिनारमा रोकेर राखेको प्र.नं.२-०४-००१ ख ००८२ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी कुमाललाई उपचारका लागि कालीगण्डकी अस्पताल लगिएकोमा चिकित्सकले बिहान ५:०४ बजे मृत घोषणा गरेका थिए ।
स्कुटरचालक कावासोती– ८ का ३७ वर्षीय शंकर श्रेष्ठ घाइते भएका छन् । उनको बायाँ हात र आँखामा चोट लागेको छ । उनलाई थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको छ । प्रहरीले ट्रक, स्कुटर र बारा जितपुर सिमराका २८ वर्षीय ट्रकचालक मुकेश राय चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।