आइतबार १० बजेसम्मका प्रमुख १० खबर

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

वास्तविक सुकुमवासीलाई यसरी गरिँदै छ स्थायी व्यवस्थापन

सरकारले विगतका तथ्यांक र अहिलेको ‘स्क्रिनिङ’पछि वास्तविक सुकुमवासी पहिचान गरेर उनीहरूलाई दीर्घकालीन बसोबास मिलाउने योजना बनाएको छ ।

पहिलो चरणमा वास्तविक सुकुमवासी छान्ने र त्यसपछि दीर्घकालीन बसोबास निर्क्योल गर्ने सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले बताए । उनका अनुसार सुकुमवासीलाई काठमाडौं उपत्यका वा उनीहरूलाई पायक पर्ने सम्बन्धित जिल्लामा स्थायी वास तथा जग्गा व्यवस्था गरिनेछ ।

देशभरकै अवैध संरचना हटाउने अभियान

सरकारले हाल देशभरकै अवैध संरचना हटाउने अभियान थालेको छ । स्थानीय तहलगायत सम्बन्धित निकायलाई अगाडि लगाएर सरकारले अवैध संरचना हटाइरहेको छ । एक साताअघि पर्साको वीरगन्ज क्षेत्रमा अवैध संरचना भत्काइएको थियो ।

त्यस्तै, शनिबार बागमती करिडोरसँगै पोखराको सहरी क्षेत्रका केही संरचना पनि हटाइएको छ । अन्य धेरै जिल्लामा पनि अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा भत्काउँदै जाने र वास्तविक सुकुमवासीलाई स्थायी वासको व्यवस्था गर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।

सुकुमवासीहरूको स्क्रिनिङसँगै स्वास्थ्य जाँच तथा परामर्श

अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुमवासीहरूलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । 

अहिलेसम्ममा कम रक्तचाप भएका चारजना पुरुष दुईजना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका दुईजना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती दुईजना, काटेर चोटपटक लागेका एकजना र विभिन्न अरू समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ । 

मनोहराको सुकुमवासी बस्तीमा डोजर [तस्बिरहरू]

सरकारले मनोहरा खोलास्थित सुकुमवासी बस्ती भत्काउन सुरु गरेको छ। ठुलो संख्यामा सुरक्षाकर्मी खटाएर डोजरले संरचनाहरू भत्काइरहेको छ।

सरकारले विगतका तथ्यांक र अहिलेको ‘स्क्रिनिङ’पछि वास्तविक सुकुमवासी पहिचान गरेर उनीहरूलाई दीर्घकालीन बसोबास मिलाउने योजना बनाएको छ ।

पुरानाको विरोध गर्दा जनता किन खुसी भए भन्ने समीक्षा गर्नुपर्छ : वर्षमान पुन

नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले पुराना दलहरूको कमजोरीको जगमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको बताएका छन्।

पुनले ३६ वर्ष सत्तामा रहेका कांग्रेस–एमाले र १८ वर्ष सत्तामा बसेका आफूहरूकै कमजोरीको जगमा लोकप्रियतावादीहरूको जन्म भएको स्वीकार गर्न हिच्किचाउन नहुने बताएका हुन् ।

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। भोलि सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।

शनिबारदेखि बिपी राजमार्ग अवरुद्ध, मंगलटारमा रोकिएका सात सय यात्रुको उद्धार

वर्षाका कारण बिपी राजमार्ग शनिबारदेखि नै अवरुद्ध भएको छ। वर्षापछि आएको रोशी खोलाको बाढीले बीपी राजमार्गको डाइभर्सन बगाएपछि सडक अवरुद्ध  भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रविन बिष्टका अनुसार अस्थायी डाइभर्सन बगाएर सडक दुईतर्फी अवरुद्ध भएको हो। उनका अनुसार रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेँसी, बुलढुंगा तथा माम्तीमा गरी आठ स्थानमा डाइभर्सन बगाएको छ। डाइभर्सन बगाएपछि रोशी गाउँपालिका–९, मंगलटारमा ८० वटाभन्दा बढी सवारीसाधनहरू रोकिएको छ। रोशी गाउँपालिका–७ घुमाउनेदेखि मंगलटारसम्म करिब सबै डाइभर्सन बगाएको उनको भनाइ छ।

मूल्य समायोजन वा म्याद थप गर्न निर्माण व्यवसायीको माग

पश्चिम एसियाको तनावले तीन महिनादेखि इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा परेको भन्दै व्यवसायीहरूले सहयोग गर्न सरकारलाई आग्रह गरेका छन्।

‘बेस्ट पुलिस अफ द मन्थ’ बनेका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ

लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो।

महिला च्यालेन्ज ट्रफी : अमेरिकासँग नेपालको लज्जास्पद हार

आइसिसी महिला टी–२० आई च्यालेन्ज ट्रफीमा अमेरिकाविरुद्ध नेपालले लज्जास्पद हार व्यहोरेको छ। रुवान्डामा संघर्षपूर्ण ब्याटिङ गरेको नेपाल सात विकेटले पराजित भएको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र ८६ रनको योगफल बनाएको थियो। विकेटकिपर रुबी पोद्दारले अर्धशतकीय पाली खेल्नुबाहेक अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन्। ५१ बलमा नटआउट ५१ रनको योगदान गरेकी पोद्दारले पाँच चौका र एक छक्का प्रहार गरिन्।

सुझावित समाचार