वर्षाका कारण बिपी राजमार्ग शनिबारदेखि नै अवरुद्ध भएको छ। वर्षापछि आएको रोशी खोलाको बाढीले बीपी राजमार्गको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रविन बिष्टका अनुसार अस्थायी डाइभर्सन बगाएर सडक दुईतर्फी अवरुद्ध भएको हो। उनका अनुसार रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेँसी, बुलढुंगा तथा माम्तीमा गरी आठ स्थानमा डाइभर्सन बगाएको छ। डाइभर्सन बगाएपछि रोशी गाउँपालिका–९, मंगलटारमा ८० वटाभन्दा बढी सवारीसाधनहरू रोकिएको छ। रोशी गाउँपालिका–७ घुमाउनेदेखि मंगलटारसम्म करिब सबै डाइभर्सन बगाएको उनको भनाइ छ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पहिलो चरणमा मंगलटारमा रोकिएका यात्रुलाई उद्धार गरेको जानकारी दिँदै डाइभर्सन बनाई सडक सुचारु गर्न पहल भइरहेको बताए। वर्षा रोकिएपछि डाइभर्सन बनाई जतिसक्दो छिटो सवारीसाधन सञ्चालनका लागि पहल भइरहेको उनको भनाइ छ। बिपी राजमार्गको रोशी खण्डबाट यात्रा गर्दा प्रहरी प्रशासनसँग बुझेर सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रोशीखोलाको शीर माख्लो रोशी भेग र पनौती क्षेत्रमा भारी वर्षातपछि खोलाको बहाव बढ्न थालेपछि बिपी राजमार्गको सिन्धुलीको नेपालथोक र काभ्रेपलाञ्चोक जिल्लाको मंगलटारमा पूर्वबाट आउने सवारीसाधन रोकिएका थिए। धुलिखेल र भकुन्डेमा पूर्वतर्फ जाने सवारीसाधन रोकिएका थिए। जसले गर्दा जनधनको भने क्षति नभएको प्रहरीले जनाएको छ।
मंगलटारमा रोकिएका करिब ७ सय यात्रुको उद्धार
वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध हुँदा रोशी गाउँपालिका–९, मंगलटारमा अलपत्र परेका ६२७ यात्रुको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले वर्षाका कारण शनिबार साँझदेखि बिपी राजमार्गअन्तर्गत मंगलटारमा अलपत्र परेका यात्रुको आइतबार उद्धार गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन बिष्टले अलपत्र परेका ६२७ यात्रुको आइतबार बिहान उद्धार गरिएको बताए। यात्रुलाई मंगलटारबाट झोलुंगे पुल तारेर तेमाल गाउँपालिका हुँदै भकुन्डेसम्म उद्धार गरिएको बिष्टले जानकारी दिए। अहिले सवारीसाधन काठमाडौं र सिन्धुलीतर्फ जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।
डाइर्भसन बगाएर अलपत्र परेका सवारीसाधनलाई डाइभर्सन बनेपछि गन्तव्यतर्फ पठाइने प्रहरीले जनाएको छ। मंगलटारमा रोकिएका करिब ८० सवारीका यात्रुलाई उद्धार गरिए पनि त्यसका सवारीचालक र सहचालक गरेर १२० देखि १२५ जना आफ्ना सवारी कुरेर बसेका छन्।
उद्धार गरी भकुन्डे बजारसम्म आइपुगेका यात्रुहरूलाई स्थानीय होटेल व्यवसायी तथा नेपाल प्रहरीको सहयोगमा फलफूल, चाउचाउ, पानीलगायतका सामग्री वितरण गरिएको छ।