लम्कीमा यातायातको सेवा कार्यालय सञ्चालन

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

कैलालीको लम्कीमा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय सञ्चालनमा आएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थापना गरिएको सेवा कार्यालयको शुक्रबार उद्घाटन गरेका हुन्।

लम्कीचुहा– ४, बलियामा यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै कैलालीको पूर्वी क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुनेछ। लम्कीचुहा र टीकापुर नगरपालिका तथा मोहन्याल, जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकाका नागरिकले यातायातसम्बन्धी सेवा लिन धनगढीस्थित यातायात कार्यालय आउनुपर्ने छैन।

आफ्नो निर्वाचन क्षेत्रमा सेवा कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री शाहले सेवा कार्यालयको सञ्चालनमा ल्याइएपछि यस क्षेत्रका जनताले राहतको अनुभूति गर्ने विश्वास व्यक्त गरे। प्रदेश सरकार जनताप्रति उत्तरदायी रहेर प्रभावकारी सेवा प्रवाहमा प्रतिबद्ध रहेको उनको भनाइ थियो।

यो क्षेत्रको विकासका लागि प्रदेश सरकारले हालै विभिन्न बहुवर्षीय योजनाका लागि स्रोत सहमति दिएको उनले बताए। मुख्यमन्त्री शाहले तीनै तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्वमार्फत मात्र समग्र विकास सम्भव हुने धारणा राखे।

लम्कीमा यातायातको सेवा कार्यालय व्यवस्थापनका लागि स्थानीय झुप्रे रावतले पाँच वर्षका लागि आफ्नो घर निःशुल्क उपलब्ध गराएका छन्। धनगढी र कञ्चनपुरको भीमदत्तनगरमा यातायात कार्यालय तथा डोटी र डडेल्धुरामा सेवा कार्यालय रहेका छन्।

सुझावित समाचार