गीता पाण्डे मृत्यु प्रकरण : पाँचजना पक्राउ, छानबिन समिति गठन

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

गर्भपतन सेवा लिन विभिन्न स्वास्थ्य संस्थामा धाउँदा–धाउँदै गीता पाण्डेको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । प्रहरीले पाण्डे मृत्युको अनुसन्धान गर्ने क्रममा चिकित्सकसहित पाँचजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले दुई चिकित्सकसहित पाँचजनालाई पक्राउ गरिएको बताए । प्रहरीले घटनाको अनुसन्धानका क्रममा प्रारम्भिक सोधपुछदेखि विभिन्न पक्षमा अनुसन्धान अगाडि बढाएको बताए ।

पाण्डे मृत्यु प्रकरणको अनुसन्धान गर्न मेडिकल काउन्सिलले पनि अनुसन्धान टोली गठन गरेको जानकारी आएको उनले बताए । प्रहरीले डा. डिबी खत्री, डा. सतिश रूपाखेती, सन्ध्या बस्नेत, नीलम घर्तीमगर र खगेन्द्र पाण्डेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

सेवा दिँदा स्वास्थ्यकर्मीले लापरबाही गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । पाल्पाको बगनासकाली गाउँपालिका– २ की गीता पाण्डे गर्भ जाँचका लागि श्रीमान्सहित २७ चैतमा बुटवल इँटाभट्टीमा रहेको खत्री नर्सिङ होम पुगेकी थिइन् ।

डाक्टरको सल्लाहअनुसार ४ वैशाखमा पुनः नर्सिङ होम पुगिन् । तर त्यस दिन चेकजाँच नभएपछि भोलिपल्ट श्रीमान्सहित आइन् । गर्भ जाँच गर्दा गर्भ असामान्य भएको भन्दै गर्भपतन गर्न सल्लाह पाएपछि सेवा लिन नर्सिङ होम र क्लिनिक धाउँदा–धाउँदै उनको ज्यान गएको थियो ।

सुझावित समाचार