सिराहाको मिर्चैयामा प्रहरी भ्यानको ठक्करले घाइते भएका करिब दुई वर्षीय नाबालकलाई थप उपचारका लागि धरान रेफर गरिएको छ । मिर्चैया नगरपालिका– ६, मटियर्वामा बुधबार बिहान पुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाको भ्यानले ठक्कर दिँदा स्थानीय रविन मरिकका छोरा करिब दुई वर्षीय आयुष मरिक घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार ढाड, टाउको र हातमा सामान्य चोट लागेका नाबालकको स्थानीय मनकामना मिड इस्टर्न अस्पतालमा उपचार गरी थप उपचार गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । ‘अवस्था सामान्य नै छ, तर परिवारको सान्त्वनाका लागि धरान पठाइएको छ,’ उनले भने ।
घरपरिवारले हेलाहोचो गरेको र खान–लाउन नदिएको भन्ने स्थानीय एक वृद्धाले गुनासो गरेपछि त्यही बुझ्न गइरहेका वेला बाटोछेउमा खेल्दै गरेका बालक अचानक ठोक्किन पुगेको मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीले बताए । ‘भ्यानचालकले ब्रेक लगाएपछि सामान्य रूपमा ठोक्किएको मात्र हो,’ उनले भने ।
स्थानीयले भने नाबालकलाई ठक्कर दिएपछि भ्यान रोकेर उत्रिएका प्रहरीले उपचारका लागि भन्दै अभिभावकलाई समेत जानकारी नगराई लिएर गएको भन्दै केहीबेर अस्पतालमा हो–हल्ला गरेका थिए । नाबालकको उपचारमा सहजीकरणका लागि पुगेका प्रहरी अधिकृतले भवितव्य घटना भएकाले नाबालकको उपचारलाई उच्च प्राथमिकता दिएर उद्धार गरी अस्पताल ल्याएपछि अभिभावकलाई खबर गरिएकाले त्यसलाई अन्यथा लिन नहुने भन्दै सम्झाइबुझाई गरेका थिए ।