दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार तीनदिने भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शिष्टाचार भेट गरेका छन् भने सोमबारै उद्यमीहरूलाई सम्बोधन गरेका छन् । नेपालमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट भएको यो पहिलो र उच्चस्तरीय भ्रमण हो ।
अघिल्लो सरकारका पालामा दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अधिकारी डोनाल्ड लू थिए । उनले अबकास पाएसँगै राष्ट्रपति ट्रम्पले कपुरलाई सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । रास्वपा सभापति लामिछानेसँग नेपाल अमेरिका सहकार्य, नयाँ सरकारको विकास प्राथमिकतालगायतका विषयमा छलफल भएको कपुरले बताएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्न पाउँदा खुशी लाग्यो । नयाँ सरकारमा रास्वपाका प्राथमिकताबारे जानकारी लिँदै अमेरिका–नेपाल सहकार्यका सम्भावित क्षेत्रहरूबारे छलफल गरेँ’ भेटपछि अमेरिकी विदेश मन्त्रालयको एक्स पेजमा कपुरले लेखेका छन् ।
सभापति लामिछानेको निवासमा भेटमा परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी थिए । तर परराष्ट्र मन्त्रालय तथा रास्वपाले यो भेटबारे औपचारिक जानकारी सार्वजनिक गरेका छैनन् ।
अमेरिकी राजदूताबासका अनुसार बुधवारसम्मको बसाईमा कपुरले नेपाल–अमेरिका साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।
सोमबारै सहायक विदेशमन्त्री कपुरले नेपालको सूचना तथा प्रविधि क्षेत्रमा अमेरिकी व्यापारिक अवसर विस्तार गर्ने विषयमा सम्बद्ध उद्योग क्षेत्रका नेतृत्वकर्ताहरूसँग छलफल गरेका छन् । उनले आइटी व्यवासायीहरुलाई सम्बोधन गरेका छन् । ‘डिजिटल पूर्वाधार सुदृढ गर्ने, कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग विस्तार गर्ने, साइबर सुरक्षा मजबुत बनाउने र अमेरिकी प्रविधिगत क्षमताको आदान–प्रदान बढाउने उपायहरूबारे पनि विचार–विमर्श गरेँ’ कपुरले छलफलपछि एक्समा लेखेका छन् ।
सहायक विदेशमन्त्री कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा स्वर्णिम वाग्लेलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । कपुर बुधवार स्वदेश फर्किनेछन् ।