संघीय संसद् र सरकारमा जबर्जस्त पकडपछि रास्वपा संगठन सुदृढीकरणमा : भदौ–असोजमा पहिलो महाधिवेशन

१५ वैशाखदेखि जिल्ला अधिवेशन,महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

झन्डै चार वर्षअघि स्थापना भएको र दोस्रो निर्वाचनमार्फत संघीय संसद् र सरकारमा जबर्जस्त पकड जमाएको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब पार्टी संगठनलाई व्यवस्थित बनाउनतिर पनि ध्यान केन्द्रित गर्ने भएको छ ।

सोहीअनुसार ६ महिनाभित्र अर्थात् आगामी भदौ–असोजसम्म महाधिवेशन गर्ने गरी रास्वपाले तल्ला कमिटीहरूको अधिवेशन प्रारम्भ गर्ने तयारी गरेको छ । यद्यपि, महाधिवेशन तालिका सोमबार दिउँसो ३ बजे बस्ने केन्द्रीय समितिबाट टुंग्याउने तयारी छ । 

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले १५ वैशाखदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले बताए । अहिले रास्वपा प्रतिनिधिसभामा १८२ सिट प्राप्त गर्दै झन्डै दुईतिहाइको सरकार चलाइरहेको छ । निर्वाचनमा आएको मतलाई  अधिकतम पार्टी सदस्यतामा रूपान्तरण गरेर बलियो राजनीतिक शक्ति बन्ने रास्वपा नेताहरूको रणनीति छ । रास्वपाले महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गरेको छ । 

यसअघि २५ देखि २७ वैशाख ०८२ मा तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै ७–९ फागुन ०८२ का लागि सारिएको थियो । त्यसपछि जेन–जी आन्दोलन र निर्वाचन प्रक्रियापछि रास्वपा चुनावमा केन्द्रित भएको थियो । यसैअनुसार रास्वपाले २१ फागुन ०८२ को चुनावको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त समयसीमाभित्रै महाधिवेशन गर्ने तयारीमा रास्वपा छ ।

सरकारसँग सेवाप्रवाहमा समन्वय गर्दै पार्टीका गतिविधि अगाडि बढाउने र आगामी भदौ–असोजमा महाधिवेशन गर्ने रास्वपा नेताहरूको गृहकार्य छ । ‘पहिला जिल्ला अधिवेशन अगाडि बढाउँछौँ । साथसाथै, सरकारसँग समन्वय गर्ने विषय हुन्छ । अब बजेट ल्याउनुपर्नेछ । त्यसपछि बर्खायामको समय आउँछ,’ सचिवालय सदस्य गणेश पराजुलीले भने, ‘त्यसैले भदौ–असोजकै समयमा महाधिवेशन होला । केन्द्रीय समितिले विस्तृत छलफल गरेर मिति टुंग्याउँछ । अहिले रास्वपाका वडा तह र पालिकाका अधिवेशन सञ्चालन भइरहेका छन् ।’

७ असार ०७९ मा स्थापना भएको रास्वपामा १२८ सदस्यीय केन्द्रीय समिति छ । विभिन आयोग र विभाग छन् । सातवटा प्रदेश समिति र प्रत्येक प्रदेशमा विभाग क्रियाशील छन् । जिल्ला, पालिका र वडास्तरीय समिति छन् । विभिन्न देशमा प्रवास समिति छन् । रास्वपासँग लाखौँ सदस्य र शुभेच्छुक छन् ।

महाधिवेशन र सांगठनिक एजेन्डाका लागि बोलाइएको सचिवालय बैठकमा वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएका छन् । महामन्त्री बुर्लाकोटीले कार्यव्यस्तताले प्रधानमन्त्री उपस्थित हुन नसकेको बताए । ‘आजको निर्णयका विषय पार्टी र संगठनात्मक छन् । प्रधानमन्त्रीको समय पार्टीभन्दा सुशासन र समृद्धिकै दिशामा खर्च गर्ने भन्ने बुझाइ हो । कार्यव्यस्तता पनि हो । उहाँले पार्टीले बोलाएको खण्डमा कुनै पनि बैठकमा म आउनुपर्छ भने भन्नुहोला, म आउँछु भन्नुभएको छ,’ बुर्लाकोटीले भने । 

महामन्त्री बुर्लाकोटीले सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबिच सौहार्दपूर्ण सम्बन्ध रहेको पनि स्पष्ट पारे । ‘बाहिर तिक्तताको हल्ला भए पनि भित्र मिठास छ । उहाँहरूबिच छलफल भएर, सल्लाह भएर एजेन्डा ल्याउने सौहार्द देखिएको छ । बाहिर हल्लाका बिच लोभलाग्दो सौहार्दता छ,’ उनले भने । 

 ४० क्षेत्रमा समानुपातिक सांसद खटाउने रास्वपाको निर्णय
रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नभएका ४० निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । ती क्षेत्रमा पार्टीसँग प्रत्यक्ष जनप्रतिनिधि नभएकाले नागरिकको गुनासो सुन्न र समन्वय गर्न समस्या भएको निष्कर्ष निकाल्दै यस्तो व्यवस्था गर्न लागिएको नेताहरूले बताएका छन् ।

‘हामीले ४० वटा निर्वाचन क्षेत्रमा चुनाव जित्न सकेनौँ । ती क्षेत्रका नागरिकले रास्वपामा कसलाई सम्पर्क गर्ने, हाम्रो कुरा कसले सुनिदिन्छ, हाम्रो सांसद को हो भन्ने जिज्ञासा राख्नुभएको छ,’ महामन्त्री बुर्लाकोटीले भने, ‘यसैलाई मध्यनजर गर्दै ती क्षेत्रमा समानुपातिक सांसदमार्फत समन्वय गर्ने गरी जिम्मेवारी तोक्ने तयारी गरेका छौँ । यसका लागि गृहकार्य भइरहेको छ ।’ यस्तै रास्वपाले पार्टी सुदृढीकरणका लागि विभिन्न क्षेत्रका विज्ञहरूलाई समेत योगदान गर्न आह्वान गरेको छ ।

 प्रवास विभागको प्रमुखमा बोहरा 
रास्वपा केन्द्रीय सचिवालय बैठकले पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको छ । विभाग प्रमुखको जिम्मेवारीमा रहेका उपसभापति डिपी अर्याल सभामुख भई पार्टीको जिम्मेवारीबाट अलग भएपछि रिक्त पदमा बोहरालाई नियुक्त गरिएको महामन्त्री बुर्लाकोटीले बताए । 

See More On

सुझावित समाचार