कांग्रेसमा जम्बो केन्द्रीय संरचना

मंगलबार, २० असोज, २०८३
प्रिन्ट संस्करण
  • आकांक्षीहरूको व्यवस्थापन गर्न पदाधिकारीसहित जम्बो केन्द्रीय संरचना । १४औँ महाधिवेशनमा १३ पदाधिकारीसहित १६७ सदस्यीय कार्यसमिति १५औँबाट २५ पदाधिकारीसहित २९७ सदस्यीय, कार्यसम्पादन समिति पनि ३१ बाट ४१ पुग्यो
  • केन्द्रीय सदस्यमा पराजित हुनेले प्रदेश र जिल्लामा प्रतिस्पर्धा गर्न नपाउने
  • बन्दसत्र खुला छलफलजस्तै, खुलामञ्च पुग्ने जोकोही प्रवेश गर्न र सुझाव दिन पाउँछन्

कांग्रेसले १५औँ महाधिवेशनमार्फत इतिहासकै सबैभन्दा ठुलो केन्द्रीय संरचना बनाउने भएको छ । महाधिवेशनबाट २५ पदाधिकारीसहित २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । नेतृत्वका आकांक्षी बढ्दै गएपछि कांग्रेसले विधान संशोधन गरेर केन्द्रीय संरचनाको आकार बढाएको हो ।

अब २५ सदस्यीय पदाधिकारीमध्ये २० जना निर्वाचित हुनेछन् भने केन्द्रीय सदस्यमध्येबाट एक महिलासहित चार सहमहामन्त्री र एक कोषाध्यक्ष सभापतिले मनोनीत गर्नेछन् । यसअघि १४औँ महाधिवेशनबाट १३ पदाधिकारी निर्वाचित भएका थिए भने विशेष महाधिवेशनले १७ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको थियो । १४औँ महाधिवेशनमा १६७ सदस्यीय कार्यसमिति थियो, विशेष महाधिवेशनबाट २४० पुर्याइएको थियो । त्यस्तै, कार्यसम्पादन समिति पनि विशेष महाधिवेशनको ३१ बाट ४१ पुर्याइएको छ ।

१५औँ महाधिवेशनबाट सोमबार पारित नयाँ विधानको व्यवस्थाअनुसार एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिला र एक समावेशीसहित चार उपसभापति, एक महिलासहित तीन महामन्त्री, दुई खुलासहित एक महिला, एक आदिवासी जनजाति, एक दलित, एक मधेशी, एक खसआर्य, एक थारू, एक मुस्लिम, एक पिछाडिएको क्षेत्र र अल्पसंख्यक/अपांगता भएका व्यक्तिबाट एकसहित निर्वाचित ११ सहमहामन्त्री रहनेछन् । केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट एक महिलासहित चार सहमहामन्त्री र एक कोषाध्यक्ष भने सभापतिले मनोनीत गर्नेछन् । यस्तै, सभापतिले कार्यसमिति सदस्यमध्येबाट एक प्रवक्ता र आवश्यकताअनुसार विषयगत रूपमा सहप्रवक्ता मनोनीत गर्न सक्ने व्यवस्था गरिएको छ ।

निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने कारण देखाउँदै विधान मस्यौदा प्रस्ताव सोमबार नै पारित भएको छ । विधान मस्यौदा समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलले महाधिवेशन हलमा संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि समितिले तयार पारेको मस्यौदा खुलामञ्चमै बसेको केन्द्रीय कार्यसमिति बैठकले सोमबार नै अनुमोदन गरेको थियो । राजनीतिक प्रतिवेदनका साथै सांगठनिक र आर्थिक प्रस्तावमाथि भने मंगलबार पनि छलफल जारी रहने भएको छ ।

केन्द्रीय सदस्यतर्फ खुलातर्फ प्रत्यक्ष निर्वाचित ४५ जना रहनेछन् । महिला महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित १५ जना, प्रत्येक प्रदेशबाट एकजना महिलासहित चारजना रहने गरी प्रत्यक्ष निर्वाचित २८ जना र काठमाडौं उपत्यकाबाट एक महिलासहित दुईजना सदस्य निर्वाचित हुनेछन् ।

दलित महाधिवेशन प्रतिनिधिमध्येबाट पाँच महिला र एक मधेशीसहित १४ जना, आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिमध्येबाट आठ

null

महिलासहित २० जना, खसआर्य महाधिवेशन प्रतिनिधिमध्येबाट आठ महिलासहित १८ जना, मधेशी महाधिवेशन प्रतिनिधिमध्येबाट पाँच महिलासहित १३ जना, थारू महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित ६जना, मुस्लिम महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित पाँचजना निर्वाचित हुनेछन् ।

यस्तै, पिछाडिएको क्षेत्रका महाधिवेशन प्रतिनिधिमध्येबाट एक महिलासहित दुर्ईजना, अल्पसंख्यक महाधिवेशन प्रतिनिधिमध्येबाट एकजना, अपांगता भएका महाधिवेशन प्रतिनिधिमध्येबाट एकजना, श्रमिक महाधिवेशन प्रतिनिधिमध्येबाट एक महिलासहित तीनजना र पेसागत/विषयगत क्षेत्रका महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित सातजना सदस्य निर्वाचित हुनेछन् ।

युवा महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्येक प्रदेशबाट एक महिलासहित दुईजना र खुलातर्फ ७ सहित २१ जना, नेपाली जनसम्पर्क समितिबाट दुई महिला खुला र तोकिएबमोजिम क्षेत्रबाट निर्वाचित हुने पाँच गरी सातजना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । केन्द्रीय सदस्यमा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारका महाधिवेशन प्रतिनिधिमध्येबाट सहिद परिवार एकसहित तीनजना सदस्य निर्वाचित हुनेछन् । प्रतिनिधिसभा संसदीय दलको नेता र प्रदेश कार्यसमितिको सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था गरिएको छ ।

सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले ६६ जना मनोनीत गर्ने वैधानिक व्यवस्था गरिएको छ ।

प्रवक्ता देवराज चालिसेले कांग्रेसको दायित्व र कार्यक्षेत्र विस्तार भएकाले केन्द्रीय संरचनाको संख्या पनि केही बढाइएको दाबी गरे । उनले कांग्रेसमा कोही पनि सदस्य बेरोजगार बस्न नपर्ने जिकिर गरे । ‘कांग्रेसको दायित्व बढ्दै गएको छ । कार्यक्षेत्र पनि विस्तार भएको छ । कोही सदस्य बेरोजगार हुँदैनन्, हरेकले जिम्मेवारी पाउँछन् । मूल नेतृत्वलाई कार्यसम्पादनमा सहयोग पुग्ने गरी पदाधिकारीमा केही संख्या थपिएको हो । छुटेका नेतालाई जोड्न मनोनयनको पनि व्यवस्था गरिएको छ,’ चालिसेले भने, ‘कार्यकारी प्रमुखलाई काम गर्न सजिलो होस् र बढीभन्दा बढी साथीहरूलाई समेट्नुपर्छ भन्ने उद्देश्य हो । कांग्रेसले पदभन्दा परिणामलाई प्राथमिकता दिएको छ । चार पुस्तालाई एउटै ठाउँमा जोडेर कांग्रेसलाई अघि बढाउन लागिएको छ ।’

युवा र ज्येष्ठ सदस्य सल्लाहकार परिषद्को व्यवस्था
कांग्रेसले विधानमै कांग्रेस युवा परिषद्को व्यवस्था गरेको छ । सभापतिले तोकेको युवा केन्द्रीय सदस्यको नेतृत्वमा परिषद् रहनेछ । परिषद्को संरचनालगायतका अन्य विषय तोकिएबमोजिम हुने महामन्त्री प्रदीप पौडेलले बताए ।

यस्तै, ज्येष्ठ सदस्य सल्लाहकार परिषद्को व्यवस्थासमेत गरिएको छ । कांग्रेसमा लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका तथा राष्ट्रिय जीवनका विविध क्षेत्रमा महŒवपूर्ण योगदान पुर्याएका, तर हाल कुनै पदीय जिम्मेवारीमा नरहेका ज्येष्ठ सदस्यका लागि यो व्यवस्था गरेको हो । उनीहरूको योगदानलाई सम्मान गर्न र निजहरूको अनुभव र ज्ञान दक्षतालाई पार्टीमा सदुपयोग गर्न सल्लाह सुझाव लिन ज्येष्ठ सदस्य सल्लाहकार परिषद्को व्यवस्था बताए ।

बाँकी प्रस्तावमा आज छलफल हुँदै 
सोमबार विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्दसत्रले पारित गर्नेछ । सोमबार सभापति गगन थापाले कांग्रेसको आगामी मार्गचित्र र उपसभापति विश्वप्रकाश शर्माले संकल्प–पत्र प्रस्तुत गरेका छन् । निर्वाचन ब्युरोको तर्फबाट उपसभापति पुष्पा भुसालले निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी छिन् । महामन्त्री प्रदीप पौडेलले विधान मस्यौदा र अर्का महामन्त्री गुरुराज घिमिरेले संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन् । कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रस्ताव प्रस्तुत गरेका छन् । मंगलबार बिहान साढे ९ बजे बन्दसत्र सुरु हुनेछ ।

सभापतिमा गगनलाई राठोर र खड्कीको चुनौती
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा १५औँ महाधिवेशनबाट सभापतिका स्वाभाविक दाबेदार हुन् । उनले दुई कार्यकालभन्दा बढी सभापति नबन्ने सार्वजनिक घोषणा गरेका छन् । सभापतिमा पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले पनि उम्मेदवारी घोषणा गरेका छन् । राठोर निवर्तमान सभापति शेरबहादुर देउवा प्यानलबाट १४औँ महाधिवेशनमा सहमहामन्त्री बनेका थिए । देउवा पक्षले आयोजना गरेको समानान्तर प्रदेश भेलालाई सम्बोधन गरेर उनी संस्थापनतिर लागेका थिए । पार्टीलाई मिलाउन आफू सभापतिको उम्मेदवार बनेको उनको दाबी छ ।

यस्तै, काठमाडौं ६ का महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्कीले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशनस्थल खुलामञ्चमा रहेको मिडिया सेन्टरमा सोमबार पत्रकार सम्मेलन गर्दै खड्गीले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पदाधिकारीमा कुन पदमा को–को छन् आकांक्षी ?

  • सभापतिमा गगन र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निश्चितजस्तै

nullसभापतिमा गगनकुमार थापा निर्विकल्पजस्तै देखिएका छन् । यद्यपि, बर्दियाका किशोरसिंह राठौर र काठमाडौंका श्यामकृष्ण खड्गीले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । तर, राठौरको अहिलेसम्म प्रतिनिधिमै टुंगो लागेको छैन । खड्गी यसअघि केन्द्रीय सदस्यसमेत छैनन् । त्यस्तै, कांग्रेसले पहिलोपटक वरिष्ठ उपसभापतिको व्यवस्था गरेको हो । जानकारहरूका अनुसार अहिलेका उपसभापति विश्वप्रकाश शर्मा त्यसमा निश्चितजस्तै छैनन् । यो पदका लागि कसैले दाबी गरेका छैनन् ।

वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा
वरिष्ठ उपसभापतिमा हालसम्म उपसभापति विश्वप्रकाश शर्मा एकल दाबेदार देखिएका छन् । वरिष्ठ उपसभापतिमा हालसम्म कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् ।

उपसभापति
महिला उपसभापतिमा वर्तमान उपसभापति पुष्पा भुसाल र सुजाता कोइरालाको चर्चा छ । समावेशी उपसभापतिमा विनोद चौधरी, भीष्मराज आङ्देम्बे, फरमुल्लाह मन्सुर, जीवन परियारलगायत आकांक्षी छन् । खुला उपसभापतिमा सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई र दीपक गिरीलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

महामन्त्री र सहमहामन्त्रीमा आकांक्षीको लर्को
एक महिला महामन्त्रीका लागि सहमहामन्त्री डिला संग्रौला पन्त र पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’बिच प्रतिस्पर्धा हुने देखिएको छ । दुवैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

खुलातर्फ महामन्त्रीका लागि हालमा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे स्वाभाविक दाबेदार छन् । त्यसका साथै, उदयशमशेर राणा, देवराज चालिसे, नैनसिंह महर, सुनील शर्मा, मधु आचार्य, रञ्जित कर्ण, अमरसिंह पुन, आङगेलु शेर्पा, शंकर तिवारी र मीन विश्वकर्माले दाबी गरेका छन् ।

सहमहामन्त्रीमा हालका सहमहान्त्रीहरू बहादुरसिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, प्रकाश स्नेही र मुक्ताकुमारी यादवले दोहोरिने घोषणा गरेका छन् । पूर्वसहमहामन्त्री महेन्द्र यादवसहित तेजुलाल चौधरी, अभिषेकप्रताप शाह, रामहरि खतिवडा, सीता गुरुङ, प्रतिमा गौतम, मनोजमणि आचार्य, जनकराज गिरी, अजयबाबु सिवाकोटी, मनीष मिश्रले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

आज उम्मेदवारी दर्ता, तीन केन्द्रमा मतदान : यस्तो छ निर्वाचन कार्यतालिका
भावी नेतृत्वका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित भएपछि मंगलबार दिउँसो साढे ४ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध, साढे ५ बजेदेखि साढे ६ बजेसम्म दाबी–विरोधउपर जाँचबुझ र बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिको कार्यतालिका छ ।

बुधबार बिहान ९ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारी सच्याउन निवेदन दिने समय दिइएको छ । बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि दिनभर उम्मेदवारलाई प्रचारप्रसारका लागि समय दिइएको छ । बिहीबार बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । खुलामञ्च, राष्ट्रिय सभा गृह र प्रज्ञा भवनमा मतदानस्थल तोकिएको छ ।

राष्ट्रिय सभागृहमा मतदान केन्द्र (क) तोकिएको छ । जहाँ बागमती प्रदेशभित्रका मतदाताले मतदान गर्न पाउनेछन् । मतदान केन्द्र (ख) अर्थात् खुलामञ्चमा कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा भ्रातृ एवं शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट प्रतिनिधिले मतदान गर्न पाउनेछन् । मतदान केन्द्र (ग) अर्थात् प्रज्ञा भवनमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । मतदान सम्पन्न भएपछि मतगणना गरिने र निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले बताए ।

सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवार हुन कति शुल्क ?
सभापतिका लागि उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क लाग्नेछ । उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार केन्द्रीय सदस्यका लागि ११ हजार मनोनयन दस्तुर तोकिएको छ । सभापति पदका लागि प्रस्तावक र समर्थक १०–१० जना हुनुपर्नेछ । उपसभापति र महामन्त्रीका लागि समर्थक र प्रस्ताव सात–सातजना, सहमहामन्त्रीका लागि प्रस्तावक र समर्थक पाँच–पाँचजना तथा सदस्यका लागि प्रस्तावक र समर्थक तीन–तीनजना हुनुपर्नेछ । समर्थक र प्रस्तावको नाम, थर, ठेगाना र मतदाता क्रमसंख्या र दस्तखत मनोनयनपत्रमा अनिवार्य उल्लेख हुनुपर्नेछ ।

मनोनयन दर्ता गर्दा पैसा जम्मा गरेको भौचर, निरन्तर क्रियाशील सदस्यता रहेको सिफारिस, फोटोसहितको परिचयपत्र, महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाणपत्र मनोनयन पत्रसाथ संलग्न गर्नुपर्नेछ । वारेसमार्फत पनि मनोनयन दर्ताको सुविधा दिइएको छ । जसका लागि वारेसनामा र वारेसको नेपाली नागरिकताको फोटोकपी संलग्न गर्नुपर्नेछ । आफूले उम्मेदवार हुन चाहेको पदका लागि सोही पदमा अर्को व्यक्तिको हकमा प्रस्ताव र समर्थक हुन नपाइने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

बन्दसत्र खुल्लै
खुलामञ्चमा सोमबारको बन्दसत्रमा महाधिवेशन प्रतिनिधि नभए पनि सहभागी हुन पाउने गरी व्यवस्था गरिएको थियो । प्रतिनिधि नभएपछि सुझाव दिन पाइने भएकाले छलफल सत्रको रुपमा बन्दसत्रलाई अघि बढाइएको प्रवक्ता चालिसेले बताए । प्रतिनिधि नभएपछि छलफलमा भाग लिन र सुझाव दिन सकिने उनले स्पष्ट पारे । राजनीतिक दलहरू भने सार्वजनिक निकाय हुन् । खुला रुपमा सुझाव दिन सकिन्छ ।

आकार ठुलो भए पनि समावेशितालाई प्राथमिकता
कांग्रेसले पदाधिकारीसहित केन्द्रीय कार्यसमितिलाई समावेशी बनाउने प्रयास गरेको छ । चार उपसभापतिमध्ये १ महिला र १ समावेशी कोटाबाट छानिनेछन् । त्यस्तै, ३ महामन्त्रीमा १ महिला हुनेछिन् । १५ सहमहामन्त्रीमध्ये १ महिला, १ आदिवासी जनजाति, १ दलित, १ मधेशी, १ खसआर्य, १ थारू, १ मुस्लिम, १ पिछाडिएको क्षेत्र र अल्पसंख्यक/अपांगता भएका व्यक्तिबाट छानिनेछन् । कम्तीमा ४ पदाधिकारीसहित ६७ महिलाको केन्द्रीय कार्यसमितिमा उपस्थिति हुने भएको छ । यसबाहेक खुला प्रतिस्पर्धा र मनोनीततर्फबाट पनि संख्या थपिन सक्छ । 

सुझावित समाचार