नवौँ हिन्द महासागर सम्मेलनलाई शनिबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले हिमाल र महासागर अभिभाज्य रहेको बताएका छन् । ‘हिमालय र महासागर एक–अर्काबाट अलग छैनन् । हाम्रा हिमनदी पग्लिँदा समुद्रको सतह उठ्छ । यो प्रकृतिको नियम हो र यसैले कुनै तटीय राष्ट्रको जस्तै हिन्द महासागरको शासनमा नेपालको सरोकार उत्तिकै गहिरो छ,’ उनले भने, ‘भूपरिवेष्टित राष्ट्रका रूपमा मात्र होइन, सभ्यताको साइनो बोकेको राष्ट्रका रूपमा नेपाल यस मञ्चमा उभियो । करुणा र सामूहिक जिम्मेवारीविना यो संकटको सामना सम्भव छैन चाहे त्यो हिमालयको हिउँ होस् वा महासागरका तटीय समुदाय ।’
परराष्ट्रमन्त्री खनालले पश्चिम एसियामा भएका द्वन्द्वबारे चर्चा गर्दै नेपालका लागि यी टाढाका घटना नभएका र यसले लाखौँ नेपाली नागरिकको सुरक्षा चिन्ता थपेको उल्लेख गरे । ‘पश्चिम एसियाको द्वन्द्वले इनधन मूल्य, आपूर्ति शृंखला र स्वदेशमा जीविकोपार्जनमा असर पारिरहेको छ । यसरी हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग अभिन्न जोडिएको छ,’ उनले भने ।
मन्त्री खनालले साझा प्राकृतिक सम्पदाप्रति जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै यसका लागि समावेशी, पारदर्शी र नियम–आधारित बहुपक्षीय संरचना आवश्यक रहेको बताए । ‘अन्तर्राष्ट्रिय कानुनमा आधारित र सार्वभौमिक समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तद्वारा बहुपक्षीय संरचनाहरू निर्देशित हुनुपर्छ,’ खनालले सम्बोधनमा भने ।
नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि हिन्द महासागरसँगको सम्बन्ध प्राचीन, स्वाभाविक र अविभाज्य रहेको परराष्ट्रमन्त्रीको भनाइ थियो । ‘इतिहासमा नेपाली व्यापारी, तीर्थयात्री र विद्वान्हरूले हिमालदेखि महासागरसम्मका मार्ग प्रयोग गरेका थिए । ती मार्ग केवल व्यापारका लागि मात्र नभई विचारहरूको आदानप्रदानका माध्यम पनि थिए,’ खनालले भने, ‘विशेषतः महासागरका किनारहरूले नेपालमा जन्मेका भगवान् गौतम बुद्धका शिक्षा फैलाएका थिए ।’
परराष्ट्रमन्त्री खनालले नेपालका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको तर्फ ध्यानाकर्षण गराउँदै थपे, ‘यो घटनाले हिमताल विस्फोटको जोखिम बढाएको छ । उता हिन्द महासागर तीव्र रूपमा तातिरहेको छ, जसले समुद्री सतह बढाउँदै तटीय क्षेत्रहरूलाई जोखिममा पारिरहेको छ ।’
हिन्द महासागर विश्व व्यापार र ऊर्जा प्रवाहको केन्द्र भएको उल्लेख गर्दै खनालले यसको स्थिरता विश्वव्यापी जिम्मेवारी रहेको पनि स्पष्ट पारेका छन् । हिमाल र समुद्रका देशहरू केवल भूगोलले मात्र नभएर साझा जिम्मेवारीले पनि जोडिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले थपे, ‘नेपाल संवादको साझेदार, भूपरिवेष्टित राष्ट्रहरूको आवाज र हिमाल–महासागरबिचको पुलका रूपमा तयार छ ।’