अमेरिका र इरानबिचको पहिलो चरणको वार्ता सकिएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा भएको वार्ता सकारात्मक भएको दाबी गरिएको छ।
कतारी सञ्चारमाध्यम अरजजिराका अनुसार दुवै पक्षले सहमतिका लागि लिखित विषयहरू आदान–प्रदान गरेका छन्।
वार्तामा अमेरिका इरानको रोक्का राखिएको सम्पत्ति फुकुवा गर्न तयार भएकोसमेत दाबी गरिएको छ। मौखिक वार्तापछि विज्ञ समूहले लिखित प्रस्तावमा छलफल थालेका हुन्। जसकारण पनि वार्तालाई सकारात्मक भनिएको छ।
पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबिच शनिबारदेखि वार्ता सुरु भएको हो । अमेरिका र इरानबिच यसरी प्रत्यक्ष रूपमा ४७ वर्षपछि वार्ता भएको हो ।
वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तान आएको छ। त्यस्तै, इरानको संसद्का प्रवक्ताकाे नेतृत्वको प्रतिनिधिमण्डल पनि इस्लामाबादमा छ।
इरानले न्युक्लियर हतियार बनाइरहेको र त्यसले विश्वको शान्तिमा जोखिम रहेको भन्दै गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले त्यहाँ आक्रमण गरेयता सिंगो मध्यपूर्व अशान्त छ। डेढ महिना लामो युद्धपछि ८ अप्रिलमा दुई साताका लागि युद्धविराम गरेर वार्ता अघि बढेको हो ।