एपिएफको रोमाञ्चक जित

शनिबार, २८ चैत, २०८२
डिजिटल संस्करण

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेको छ । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा टस हारेर सुरुमा ब्याटिङ गरेको एपिएफले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २६ रनको लक्ष्य दियो । प्रत्युत्तरमा अन्तिम बलमा अल आउट हुँदा कोशीले मात्र दुई सय २० रन बनायो । 

यदि कोशीले एपिएफलाई हराएको भए कीर्तिमान बनाउने थियो । तर, अन्तिम ओभरमा कोशी चुक्न पुग्यो । जितपछि एपिएफ नौ अंकसहित पाँचौँ स्थानमा उक्लिँदै जय ट्रफीको सम्भावना कायम राख्यो । कोशी भने पुछारमा छ । कोशीका लागि ओपनरद्वय सुमन श्रेष्ठ र अंकित सुवेदीले शतकीय साझेदारी गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । अंकितले सर्वाधिक ७२ तथा सुमनले ६५ रन बनाएका थिए । पहिलो विकेटका लागि सुमन र अंकितले एक सय २२ रनको साझेदारी गरेका थिए । तर, एक सय २२ रनमा कुनै विकेट नगुमाएको कोशीले बाँकी १० विकेट गुमाउँदा मात्र ९८ रन बनायो । कोशीका सात ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 
एपिएफका लागि अभिषेक गौतमले चार तथा कप्तान रोहित पौडेलले दुई विकेट लिएका थिए । 

यसअघि पहिलो इनिङ्समा एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ७२ रन बनाए । उनले ९४ बलमा आठ चौका र एक छक्का प्रहार गरेका थिए । सुमित महर्जनले ७३ बलमा ६ चौका र एक छक्कासहित ५७ रनको योगदान गरे । कप्तान रोहित पौडेल २० रन तथा अमरसिंह रउटेला २७ रनमा अविजित रहे । एपिएफका लागि सन्दीप जोरा र सुमितले एक सय ३० बलमा एक सय १४ रनको बलियो साझेदारी गरेका थिए । कोशीका लागि कप्तान सुजन थपलियाले तीन तथा विपिन महतो र दीपेश कँडेलले समान दुई विकेट लिए । 

मधेशविरुद्ध बागमती हाबी 
बलर प्रतिश जिसीले पाँच विकेट लिएपछि बागमती प्रदेशले प्रधानमन्त्री कपमा मधेश प्रदेशलाई ३५ रनले पराजित गरेको छ । शुक्रबार पर्साको वीरगन्जस्थित टिबी शाह क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको बागमतीले ४८.४ ओभरमा सबै विकेट गुमाउँदा दुई सय नौ रनको लक्ष्य दियो । जवाफमा मधेश ३४.३ ओभरमा सबै विकेट गुमाउँदा दुई सय ७३ रन मात्रै भयो । आठौँ खेलमा चौथो जितपछि आठ अंक जोडेको बामगती छैटौँ स्थानमा रहँदै जय ट्रफीको सम्भावना कायम राख्यो । पराजित भए पनि सात खेलमा नौ अंक जोडेको मधेश चौथो स्थानमा छ । 

मधेशका लागि ओपनर मयन यादवले सर्वाधिक ४० रन बनाए । कप्तान अनिल शाह २६, मोहम्मद आदिल आलम २७ तथा विशाल सुंस्लिग २१ रनमा आउट भए । आदिल आलम र विशालबिच छैटौँ विकेटका लागि ३७ बलमा ५२ रनको साझेदारी भएको थियो । बागमतीका लागि प्रतिशले सर्वाधिक पाँच विकेट लिएका थिए । उनले ९.३ ओभरमा ५५ रन खर्चिएर पाँच विकेट लिएका हुन् । रिजन ढकालले दुई तथा कप्तान सन्दीप लामिछाने र सुवास खत्रीले समान एक विकेट लिए ।

त्यसअघि पहिलो इनिङ्समा बागमतीका लागि उत्तम थापा मगरले सर्वाधिक ४४ रन बनाएका हुन् । रिन्जिङ लामा २९, कप्तान सन्दीप लामिछाने ३६ तथा रिजन ढकाल १५ रनमा आउट भए । सन्दीप र रिजनले छैटौँ विकेटका लागि ६२ बलमा ४९ रनको ठुलो साझेदारी गरेका हुन् । मधेशका लागि पवन सर्राफले तीन तथा मोहम्मद आदिल आलम र रञ्जित कुमारले समान दुई विकेट लिए । 

सुझावित समाचार