- ३१ मार्चमा अफ्रिका कप अफ नेसन्स (एएफकन) छनोट खेलमा सहभागी एरिट्रियाका सात खेलाडी सम्पकविहीन भएको प्रशिक्षक हेसाम याकानले बताए
अफ्रिका कप अफ नेसन्स (एएफकन) छनोट खेलमा इस्वाटिनीसँग प्रतिस्पर्धा गरेको एरिट्रियाका सात फुटबल खेलाडी स्वदेश फर्केका छैनन् । एरिट्रियाले पहिलो लेगमा मोरोक्कोमा इस्वाटिनीलाई २–० ले हराएको थियो । एरिट्रियाको घरेलु मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसार नहुँदा खेल मोरोक्कोमा भएको थियो । दोस्रो लेगमा इस्वाटिनीको सोम्होलो राष्ट्रिय रंगशालामा एरिट्रिया २–१ ले विजयी भयो । समग्रमा एरिट्रियाले छनोट चरण ४–१ ले बाजी मार्यो ।
यसै क्रममा मोरोक्कोको मैदानमा प्रतिस्पर्धा गर्न गएका एरिट्रियाका खेलाडी स्वदेश नफर्केको प्रशिक्षक हेसाम याकानले अन्तर्राष्ट्रिय मिडियालाई जानकारी दिएका छन् । ‘मोरोक्कोबाट नफर्केका सात खेलाडी अधिकांश वैकल्पिक हुन्,’ याकानले भने, ‘३१ मार्चमा भएको दोस्रो लेगपछि ती खेलाडी सम्पर्कविहीन भएका हुन् ।’ मोरोक्कोमा आम्दानी र भविष्य हेर्दै खेलाडीहरू त्यहीँ नै लुकेको प्रशिक्षक याकानले जनाए । ‘रोजगारीका लागि उनीहरू धनी देशमा गएका हुन सक्छन्,’ उनले भने, ‘उनीहरूको देश आर्थिक रूपमा सम्पन्न छैन । अफ्रिकाकै धनी राष्ट्रका रूपमा परिचित मोरोक्कोमा एरिट्रियाका खेलाडी लुकेको प्रशिक्षकले याकानले बताए ।
‘आर्थिक अवस्थाले कमजोर खेलाडीले राम्रो अवसर प्राप्त गरेका छन् । छनोट खेल खेल्दा सहजै भिसा पाएँ,’ उनले भने, ‘यसको फाइदा उनीहरूले लिए ।’ खेलाडी भाग्दा उनीहरूसँगै देशको पनि इज्जत नराम्रो भएको प्रशिक्षक याकानको भनाइ छ । ‘मलाई लाग्दैन उनीहरूले फुटबल खेलिरहन्छन्, अहिले सम्भवतः मोरोक्कोमा काम गरिरहेको हुनुपर्छ,’ उनले भने ।
युगान्डामा पनि भागेका थिए युवा खेलाडी
एरिट्रियाका सिनियर सात खेलाडी मोरोक्कोमा लुकेको यो पहिलो घटना होइन । यसअघि सन् २०१९ मा एरिट्रियाको यू–२० टोली युगान्डामा छनोट खेल्न गएको थियो । खेल सकिएलगत्तै यू–२० टोलीका आधा दर्जन खेलाडी सम्पर्कविहीन भएका थिए । यो घटनासँगै एरिट्रिया सरकारले सिनियर र युवा खेलाडीलाई विदेश भ्रमणमा रोक लगायो । एरिट्रियाका सिनियर र युवा खेलाडीले सात वर्षसम्म अन्तर्राष्ट्रिय फुटबलमा भाग नै लिएनन् । फुटबल टोलीमा व्यापक सुधार भएपछि सरकारले एएफकन छनोटमा सहभागी हुन अनुमति दिएको हो । सन् २००८ पछि एरिट्रियाको सिनियर टोलीले पहिलोपटक एएफकन छनोटमा सहभागिता जनाएको हो । छनोट चरणमा राम्रो नतिजा निकाले पनि सात खेलाडी मोरोक्कोमै लुक्दा सरकार र फुटबल संघमाथि गम्भीर प्रश्न उठेको छ । यस सम्बन्धमा सरकारले टिम अफिसियल, संघका पदाधिकारी र प्रशिक्षक याकानसँग पनि अनुसन्धान गर्ने भएको छ । एरिट्रियाका मुख्य प्रशिक्षक याकानले सन् १९९० को विश्वकपमा इजिप्टबाट प्रतिस्पर्धा गरेका थिए । उनी इजिप्टका पूर्वडिफेन्डरसमेत हुन् ।
खेलाडीको आर्थिक अवस्था कमजोर
अफ्रिकन राष्ट्र एरिट्रियाका खेलाडीको आर्थिक अवस्था कमजोर रहेको एजेन्सीले जनाएको छ । देशकै अर्थतन्त्र कमजोर हुँदा सबैजसो खेलका खेलाडीको दैनिक गुजारा चलाउन गाह्रो भएको प्रशिक्षक याकानले बताए । लामो समयपछि खेलाडीहरूले विदेशमा फुटबल खेल्न पाउँदा त्यसको फाइदा उठाएको उनको भनाइ छ । यसैगरी, विदेशमा बस्ने एरिट्रियालीका लागि काम गर्ने अभियन्ता जर्ज घेब्रेस्लास्सीले पनि मोरोक्कोमा खेलाडीहरू भागेको पुष्टि गरेका छन् । ‘यो पहिलो घटना होइन । अन्य खेलका खेलाडी पनि विदेशमा खेल्न जाँदा त्यहीँ लुकेका उदाहरणहरू छन्,’ उनले भने, ‘यसले एरिट्रियाको अवस्था कस्तो छ भन्ने देखाउँछ । मानिसहरू आफ्नो देशमै निराश भइसकेका छन् ।’ एरिट्रियाका सूचनामन्त्री येमाने गेब्रेमेस्केलले प्रतिक्रिया दिएका छैनन् । यसैगरी फुटबल संघले पनि आधिकारिक केही जानकारी नदिएको एजेन्सीले जनाएको छ ।
गरिबीका कारण खेलाडी निराश
सन् १९९३ मा स्वतन्त्र भएपछि एरिट्रियामा राष्ट्रपति इसायस अफवेर्की सत्तामा छन् । तीन दशकमाथि शासन गरे पनि राष्ट्रपति इसायसले देशको आर्थिक अवस्था उकास्न सकेका छैनन् । सत्ताको आडमा उनले जनतामाथि शोषण गरिरहेको मानव अधिकार संस्थाहरूले दाबी गरेका छन् । मानव अधिकारवादीले इसायसको सरकारलाई बारम्बार दमनकारी भनेर आलोचना गर्दै आएका छन् । देशको आर्थिक अवस्थामा सुधार नहुँदा सबै खेलका खेलाडी निराश बनेका छन् । ‘खेलाडीले परिवर्तन खोजेका छन् । तर, सत्तापक्षले सधैँ उनीहरूमाथि दमन गरिरहेको छ,’ अभियन्ता जर्जले भने, ‘सरकार नै परिवर्तन हुन नचाहेपछि खेलाडीले भविष्य देखेका छैनन् । जसका कारण विदेश भ्रमणमा जाँदा उनीहरूले अवसरका लागि त्यहीँ लुक्ने परम्परा बसालेका छन् । खेलाडीको यो पहिलो हवाई यात्रा थियो । उनीहरू राम्रो आम्दानी र कामको खोजीमा गएका हुन् ।’