नेकपाको चुनावी समीक्षा : आन्तरिक र बाह्य कारणले अस्वाभाविक परिणाम

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीले आन्तरिक र बाह्य कारणले निर्वाचनमा अस्वाभाविक परिणाम आएको निष्कर्ष निकालेको छ । आन्तरिक कारणमा क्रान्तिपछि सामाजिक रूपान्तरण नहुनु, संगठनात्मक समायोजन नहुनु, विचारधारात्मक काम नहुनु, युवाहरू पार्टीमा आबद्ध नहुनु, वामशक्ति एकताबद्ध नहुनु, परिवर्तनको महत्व बुझाउन नसक्नु, भएका कामको प्रचार नहुनुलाई औँल्याइएको छ । 

यस्तै, सिद्धान्त र व्यवहारमा अन्तर हुनु, अवसरवादी प्रवृत्ति र व्यक्तिवादी कार्यशैली, प्राविधिक जनशक्ति र स्रोत–साधनको कमी, विकल्पका रूपमा प्रस्तुत हुन नसक्नुलाई कारण मानिएको छ ।नेकपाले बाह्य कारणमा पुराना दलविरोधी अभियान, वामशक्तिमाथिको प्रहार, भूराजनीतिक तथा बाह्य शक्तिकेन्द्रको चलखेल, डिजिटल सुनामी, लोकप्रियतावादी शक्तिको प्रचार र प्रहार, विदेशमा बस्ने नेपालीको भूमिकालाई ठानेको छ । 

‘असामान्य अवस्थामा भएको निर्वाचनको परिणाम पनि असामान्य नै आएको छ । यसले लोकप्रियतावादी शक्तिलाई सत्तासीन बनाएको छ भने पुराना ठुला दलहरूलाई मात्र होइन, राजावादी र पहिचानवादी शक्तिहरूलाई समेत कमजोर बनाएको छ । यस परिणामले अहिलेको निर्वाचन प्रणालीबाट एउटा पार्टीले बहुमत ल्याउन सक्दैन भन्ने धारणालाई खण्डित गरेको छ । र, अब चुनाव विचार र मुद्दामा होइन प्रविधिको प्रतिस्पर्धामा हुन्छ भन्ने मान्यता स्थापित गरेको छ । अब परम्परागत संगठन र प्रचार शैलीले चुनाव जित्न सकिँदैन भन्ने पनि स्थापित गरेको छ । राजनीतिमा प्रविधिको प्रभाव बढ्दै जाने देखाएको छ । यसले दिएका यी शिक्षालाई आत्मसात् गरी अघि बढ्नु जरुरी छ,’ नेकपाले समीक्षामा प्रतिवेदनमा भनेको छ । 

समीक्षा प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुने नेताहरूले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा निर्वाचनमा परिणामको प्रारम्भिक समीक्षा भएको हो । नेकपाको केन्द्रीय कार्यसंयोजक समिति ४५ सदस्यीय छ । संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सहसंयोजक माधवकुमार नेपालले गरेका थिए । प्रचण्डले गम्भीर समीक्षा गरेर रूपान्तरणसहित पार्टी अगाडि बढ्ने बताएका छन् । उनले विकसित परिस्थितिअनुसार ठोस विश्लेष्ण गरेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । 

रचनात्मक प्रतिपक्षको भूमिका
प्रभावकारी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने र राष्ट्र र जनसरोकारका विषय प्रभावकारी ढंगले उठाउने रणनीति नेकपाले लिएको छ । ‘संसद्मा प्रभावकारी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने । राष्ट्र र जनसरोकारका विषयमा प्रभावकारी ढंगले प्रस्तुत हुने,’ नेकपाको योजना छ । यस्तै, प्रदेश र स्थानीय तहमा रहेको पार्टीसँग सम्बन्धित प्रतिनिधिलाई अझ बढी जनपक्षीय काम गर्ने गरी परिचालन गर्ने रणनीति पनि नेकपाले बनाएको छ । पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधार गर्न ठोस कार्ययोजना बनाउने तयारी नेकपाको छ । 

तत्कालै सांगठनिक, वैचारिक, आर्थिक र प्राविधिक कामको ठोस कार्ययोजना बनाएर अगाडि बढ्ने नेकपाको योजना छ । जसअन्तर्गत अबको ६ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना नेकपाको छ । त्यसअघि तत्काल पार्टी संगठन र पार्टीसम्बद्ध जनवर्गीय संगठनहरूलाई नयाँ ढंगले पुनर्गठन र रूपान्तरण गर्ने, एक महिनाभित्र पालिका तहसम्मका सबै संगठन समायोजन गर्ने र नभएका स्थानमा नयाँ संगठन निर्माण गर्ने र तीन महिनाभित्र सबै वडामा संगठन निर्माण गरिसक्ने कार्ययोजना छ ।

अबको तीन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने र पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने नेकपाको योजना छ । पार्टी संगठनको मात्र नभई नेतृत्वको पनि पुनर्गठन र रूपान्तरण गर्न जरुरी रहेको नेकपाले औँल्याएको छ । त्यसका निम्ति ठोस कार्ययोजना बनाएर अगाडि बढ्ने नेकपाको तयारी छ । संगठन समायोजन र पुनर्गठनसँगै सघन रूपमा सैद्धान्तिक÷वैचारिक प्रशिक्षण अभियान सञ्चालन गर्ने र त्यसका लागि व्यवस्थित पाठ्क्रम बनाउने योजना नेकपाको छ । 

सुझावित समाचार