बिचौलिया भनी चिनिएका व्यापारी दीपक भट्टको समेत म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरण अभियोगमा जाँचबुझ तथा अनुसन्धानका निम्ति उनलाई बिहीबार मात्र प्रहरीले पक्राउ गरेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा भट्टउपर बिमा ऐनसमेतका विभिन्न कसुरहरूबाट गैरकानुनी आर्जन गर्नुका साथै यसरी आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग छ।
कसुरबाट आर्जन गरेको रकम भट्टले धितोपत्र बजार र अन्य क्षेत्रमा लगानी गरेको र गैरकानुनी स्रोत लुकाउने, छल्ने, सही प्रकृति बदल्नेसमेतका निषेधित कार्य गरे गराएको आरोपमा उनीमाथि अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थपको माग विभागले गरेको थियो । उनलाई हिरासतमै राखी अनुसन्धान गर्नुपर्ने भएका कारण जिल्ला अदालतले जरुरी पक्राउ पुर्जीको समर्थन गरिदिएको छ भने १० दिन म्याद थप गरिदिएको छ।
उनलाई सिआइबीले बिहीबार नै पक्राउ गरेको हो।