कांग्रेस अनुशासन समितिको निर्णय : कार्यवाहकको नाममा दोहोर्‍याएर गतिविधि गरे खड्कालाई कारबाही गर्ने चेतावनी

तारामान गुरुङ, संयोजक कांग्रेस अनुशासन समिति अबदेखि गलत काम गरे विधानअनुसार कानुनी कारबाही अघि बढ्छ । विधानविपरीत गतिविधि गर्ने जो–कोही पनि कारबाहीको दायरामा आउँछन् ।

बिहिबार, १९ चैत, २०८२
डिजिटल संस्करण

कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराएको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले खड्काको नाम नलिई दोहोर्याएर कार्यवाहकको नाममा गतिविधि गरे कारबाही गर्ने चेतावनीसमेत दिएको हो ।

‘विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी २०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ । साथै, अबउप्रान्त यस किसिमको गलत काम गर्ने जो–कोही व्यक्तिउपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गर्दछ,’ अनुशासन समितिको निर्णयमा भनिएको छ ।

खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका थिए । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरेपछि किचलो सतहमा आएको थियो ।

कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले पार्टी अनुशासनको विषय पार्टीका सबै नेता र कार्यकर्तामा लागू हुने बताए । ‘अबदेखि गलत काम गरे विधानअनुसार कानुनी कारबाही अघि बढ्छ,’ उनले भने, ‘विधानविपरीत गतिविधि गर्ने जो–कोही पनि कारबाहीको दायरामा आउँछन् ।’ कांग्रेसमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गर्दै आएको छ । देउवा पक्षको गतिविधिमा नेता शेखर कोइराला पक्ष पनि सहभागी हुँदै आएको छ ।

अनुशासन समितिमा निर्वाचनसम्बन्धी हालसम्म ५०७ उजुरी
अनुशासन समितिमा हालसम्म गत २१ फागुनको निर्वाचनसम्बन्धी ५०७ उजुरी आएको पनि गुरुङले जानकारी दिए । ‘जिम्मेवार पदमा बस्नुभएकाहरूमाथि पनि उजुरी छन् । यो क्रम अझै बढ्दै छ । थप अध्ययन गरेर अगाडि बढ्छौँ,’ उनले भने । अनुशासन समितिका एक सदस्यका अनुसार मन्त्री भइसकेका नेतामाथि पनि अन्तर्घातको उजुरी परेको छ ।

स्वतन्त्र उम्मेदवारी दिएका, प्रस्तावक समर्थक रहेका, उम्मेदवारविरुद्ध प्रत्यक्ष सहभागी भई लागेका, विपक्षलाई टेवा पुर्याएका, मत नमागी बसेका र कांग्रेसकै टिकटबाट जनप्रतिनिधि भए पनि विपक्षीलाई सहयोग गरेकाविरुद्ध उजुरी परेको छ । उजुरी आएकालाई सात दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

‘छानबिनबाट वर्गीकरण गरिएका उजुरीका हकमा अनुशासन उल्लंघन गरेको भनी आरोप लागेका व्यक्तिहरूबाट सात दिनभित्र स्पष्टीकरण (सफाइ) माग गर्ने,’ समितिको निर्णयमा छ । बैठकले २१ फागुनको निर्वाचनमा पार्टी सदस्यले अनुशासन उल्लंघन गरेका भए सोको उजुरी यही चैत मसान्तभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिएको समितिका सचिव दिनेश थापामगरले बताए । तत्पश्चात् प्राप्त हुन आएका उजुरीउपर कुनै कारबाही नहुने पनि समितिले स्पष्ट पारेको छ ।

अदालतको फैसला स्विकार्ने इतर पक्षको निष्कर्ष
कांग्रेसको इतर पक्षले पार्टीको आधिकारिता विवादमा सर्वोच्च अदालतको फैसला स्विकार्ने निष्कर्ष निकालेको छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा मंगलबार र बुधबार राजधानीमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अनौपचारिक बैठकले अदालतको फैसलाअनुसार अघि बढ्ने निष्कर्ष निकालेको हो ।

खड्काले अदालतको विधि, विधान र प्रक्रिया हेर्ने भएकाले पक्षमा फैसला आउने विश्वास लिएको बताएका छन् । ‘अदालतमा मुद्दा विचाराधीन छ । विधि, विधानअनुसार अदालतले फैसला गर्छ । अदालतको फैसलाअनुसार अगाडि बढ्ने हो । षड्यन्त्रका तानाबुना धेरै दिन चल्दैन,’ खड्काको भनाइ उद्धृत गर्दै एक नेताले भने । ती नेताका अनुसार खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गरेका छन् । यद्यपि, निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएकाले अदालतमा जानुपरेको उनको भनाइ थियो ।

कांग्रेसको आधिकारिता विवादमा २२ चैतमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सुनुवाइअघि इतर पक्षले रणनीतिक बैठक गरेको हो । बैठकमा खड्कासहित नेताहरू डा. शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायत करिब ९० जना नेताको उपस्थिति थियो । नेताहरूका अनुसार उपत्यकाबाहिर रहेका नेताहरूले पनि भर्चुअल माध्यमबाट समर्थन जनाएका थिए ।

बैठकले लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने निष्कर्ष पनि निकालेको छ । दुवै पक्षको सहमतिमा तदर्थ समिति बनाएर १५औँ महाधिवेशनमा जान सकिने विषयमा पनि बैठकमा छलफल भएको छ । सभापति गगन थापाको कार्यसमितिले आगामी असोजमा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । 

पूर्वकार्यबाहक सभापति खड्काले कांग्रेसलाई नियोजित रूपमा कमजोर पार्ने खेल भएको बताएका थिए । ‘त्यही खेलअन्तर्गत विशेष महाधिवेशन भयो । रास्वपालाई दुईतिहाइको अवस्थामा पु¥याउन कांग्रेसलाई कमजोर नपारी हुने थिएन, त्यो काम पनि भयो । अनुशासन समितिको नाममा अहिले गरिएको निर्णय पनि त्यसैको निरन्तरता हो । यसप्रति हामी सचेत रहनुपर्छ । देशभरका साथीहरूलाई विषयको गाम्भीर्यता बुझाउनुपर्छ,’ खड्काको भनाइ थियो ।

नेता गुरु बरालले विधि र विधानसम्मत ढंगले निर्वाचित केन्द्रीय समितिलाई वैधानिकता दिएर १५औँ महाधिवेशनमा जानुपर्ने बताए । अदालतको फैसलापछि १५औँ महाधिवेशनको तयारीमा जुट्ने उनले बताए । ‘सबै आग्रह–पूर्वाग्रह त्यागेर १५औँ महाधिवेशनमा जानुपर्छ । निर्वाचित केन्द्रीय कार्यसमितिको भूमिकालाई माइनस गरेर जाने कुरा हुँदैन,’ उनले भने, ‘कांग्रेस विधि, मूल्य र मान्यताअनुसार चल्ने पार्टी हो ।’ 

 खड्कालाई सचेत गराउने निर्णयप्रति शेखरले भने– दुःख लाग्यो
नेता डा. शेखर कोइरालाले पूर्णबहादुर खड्कालाई सचेत गराउने अनुशासन समितिको निर्णयले दुःख लागेको बताएका छन् । उनले कठिन अवस्थामा रहेको भन्दै सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने बताए । ‘पूर्णबहादुरजीलाई सचेत गराउने अनुशासन समिति बैठकको निर्णय सुनेर दुःख लाग्यो । यद्यपि, यसबाट डराउनुपर्ने कुनै कारण छैन,’ कोइरालाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अहिलेको कठिन अवस्थामा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्छ । यसको विकल्प छैन ।’

सुझावित समाचार