इटालियन मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेनाले आइतबार लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा गरेका छन् । पहिलोपटक राष्ट्रिय टोली सम्हाल्ने अवसर पाएका प्रशिक्षक एरेनाले २३ सदस्यीय नेपालको टोली घोषणा गर्दा सिनियर खेलाडी अञ्जन विष्ट र एरिक विष्टलाई बाहिर राखेका छन् । एरेनाले त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका मिडफिल्डर पेम्बा दोर्जे लामासहित पाँच नयाँ अनुहारलाई समेटेका छन् । यसैगरी, दोस्रो रोजाइका गोलरक्षक दीप कार्की भने टोलीमै परेनन् ।
लाओसविरुद्ध घोषित टोलीमा गोलरक्षक योगेश धिमाल, मिडफिल्डर रोमन भुजेल, पेम्बा दोर्जे लामासँगै स्ट्राइकरहरू मिलन राई र युवराज खड्का पहिलोपटक टोलीमा स्थान बनाउन सफल भएका छन् । दिनेश हेन्जन, कुशल देउवा र सुवास बम पनि टोलीमा छैनन् । सुवास उमेर समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । माल्दिभ्समा चलिरहेको साफ यू–२० च्याम्पियनसिपमा उनले उपकप्तानको जिम्मेवारी पाएका छन् ।
पेम्बाले गत जनवरीमा भएको साफ फुटसल च्याम्पियनसिपमा नेपालको जर्सी लगाएका थिए । भुटानविरुद्ध उनले दुई गोल पनि गरेका थिए । राखेपको तीन महिना निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी कपअन्तर्गत लाओसविरुद्धको प्रतिस्पर्धाका लागि शनिबार टोलीलाई बिदाइ नगरी पठाएको थियो । नेपाली टोली थाइल्यान्ड हुँदै लाओस पुगेको छ । प्रशिक्षक एरेनाले पठाएको अन्तिम २३ खेलाडीको लिस्ट नै एन्फाले आइतबार सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो । नेपालले एएफसी एसियन कपअन्तर्गत आफ्नो अन्तिम खेलमा लाओसको घरेलु मैदानमा प्रतिस्धर्पा गर्दै छ ।
निर्धारित खेलतालिकाअनुसार लाओसविरुद्ध खेल दशरथ रंगशालामा हुनुपर्ने थियो । तर, एन्फाले एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्रदान नगर्दा खेल लाओसमा सारिएको हो । दशरथ रंगशालामा गत २६ मार्चमा हङकङविरुद्ध हुने तय भएको मैत्रीपूर्ण खेल पनि रद्द भएको थियो । एसिया कपको पहिलो चरणमा नेपाल लाओससँग २–१ ले पराजित भएको थियो । नेपालले पहिलोपटक लाओससँग हारको सामना गरेको थियो । एसियन कप छनोटमा नेपालले तीन अंक जोडेको छ । प्रतियोगिताबाट बाहिरिसकेको नेपालले प्रतिष्ठाका लागि खेल्दै छ । गत नोभेम्बरमा समूह ‘एफ’मा रहेको नेपालले आफ्नो पाँचौँ खेलमा मलेसियाको सामना गरेको थियो । एसियन कप छनोट २०२७ मा नेपाल र भियतनामविरुद्धको प्रतिस्पर्धामा मलेसियाले नक्कली कागजात प्रस्तुत गरी सात खेलाडीलाई मैदानमा उतारेका कारण अंक खोसिएको छ ।
नेपालका लागि १३ गोल गरेका विष्ट
नेपालको फुटबलमा स्ट्राइकर अञ्जनले नीराजन रायमाझी र हरि खड्कासँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका छन् । पछिल्लो दुई वर्षदेखि उनी नेपालका लागि धेरै अन्तर्राष्ट्रिय गोल गर्ने संघर्षरत देखिएका छन् । राष्ट्रिय लिगमा उनले न्युरोड टिम (एनआरटी)बाट खेल्दै आएका छन् । अञ्जनले अन्तिमपटक नेपालका लागि सन् २०२६ को फिफा विश्वकप एसियन छनोटमा लाओसविरुद्ध नै गोल गरेका थिए । सन् २०२३ को १२ अक्टोबरमा उनले अन्तिमपटक गोल गरेका हुन् । यसयता उनी गोलविहीन छन् ।
राष्ट्रिय लिगमा उनको प्रदर्शन सन्तोषजनक छैन । राष्ट्रिय लिगमा समेत उनी गोलका लागि संघर्ष गरिरहेका छन् । नेपालका लागि उनले अहिलेसम्म ६० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २०१४ देखि उनी राष्ट्रिय टोलीमा थिए । खराब प्रदर्शनका कारण नै उनी पहिलोपटक राष्ट्रिय टोलीबाट बाहिरिएका हुन् । एन्फाले यसअघि हङकङविरुद्ध स्थगित भएको खेलका लागि टोलीमा अञ्जनलाई राखेको थियो ।
राष्ट्रिय लिगको सुरुवाती खेल एपेन्डिक्सको शल्यक्रियाका कारण गुमाएका उनले गत फागुनमा राष्ट्रिय लिगमा पुनरागमन गरेका थिए । राष्ट्रिय लिगमा उनले एनआरटीबाट दुई गोल गरेका थिए । पछिल्लो समयम युवा मिडफिल्डर एरिकको प्रदर्शन पनि गतिलो छैन । सन् २०२० देखि उनी राष्ट्रिय टोलीकै अभिन्न अंगका रूपमा थिए । सन् २०२० मा उनले बंगलादेशविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले अहिलेसम्म २३ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनको नाममा एक पनि अन्तर्राष्ट्रिय गोल छैन । दोस्रो रोजाइका दीपकलाई कप्तान तथा नियमित गोलरक्षक किरण चेम्जोङको विकल्पका रूपमा हेरिएको छ । दीपले चर्च ब्वाइजको राष्ट्रिय लिगअन्तर्गत पछिल्लो खेलमा चोट बोकेको थियो ।
पहिलो जित निकाल्ने अवसर
प्रतियोगिताको समूह ‘एफ’मा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि पनि नेपाल लाओससँग पराजित भएको थियो । त्यसअघि मलेसिया र भियतनामसँग पनि दुवै खेलमा पराजित भएको थियो । तर, मलेसियासँगका खेल उल्टिँदा नेपाल ३–० ले विजयी भएको थियो । खेलमा मलेसियाले नेपाललाई पराजित गरे पनि कागजी प्रक्रिया त्रुटि भेटिएपछि नेपालको पक्षमा नतिजा आएको थियो ।
नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ (कप्तान), विशाल सुनार, योगेश धिमाल
डिफेन्डर : अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, रोहित चन्द, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ
मिडफिल्डर : आयुष घलान, दीपेश गुरुङ, कृतिशरत्न छुन्जु, मणिकुमार लामा, मनीष डाँगी, पेम्बा दोर्जे लामा, रोहन कार्की, रोमन भुजेल
स्ट्राइकर : आदित्य शाक्य, जिलेस्पीजंग कार्की, मिलन राई, युवराज खड्का