निर्वाचनमा अनपेक्षित हार खाएका एमाले र नेकपाले आत्मसमीक्षा गर्दै

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

चुनावमा अनपेक्षित हार खाएका दुई प्रमुख कम्युनिस्ट घटक एमाले र नेकपा प्रतिनिधिसभा निर्वाचन परिणामबारे आत्मसमीक्षामा जुटेका छन् । औपचारिक समीक्षा सुरु नभए पनि दुवै दल अनौपचारिक छलफलमा सक्रिय छन् र समीक्षा गरी प्रतिवेदन पेस गर्न तल्ला कमिटीहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओली शोकमा रहेकाले एमालेले तत्काल समीक्षा बैठक बोलाउन सकेको छैन । यद्यपि, महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक गर्दै प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रगत रूपमा गम्भीर समीक्षा गर्न निर्देशन दिएका छन् । एमालेमा अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतका मूल नेतृत्वले निर्वाचनमा हार व्यहोरेका छन् । 

यस्तै, निर्वाचनलाई ‘इतिहासकै भावनात्मक निर्वाचन’ को संज्ञा दिएको नेकपाले सबै निर्वाचन क्षेत्रलाई विस्तृत समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएको छ । नेकपाले प्रचार योजना, आर्थिक परिचालन, सामग्री वितरण, डिजिटल तथा सामाजिक सञ्जाल प्रयोग, बुथ व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत सबै पक्षमा विस्तृत समीक्षा गर्न निर्देशन दिइएको छ ।

भर्चुअल बैठकमा महासचिव पोखरेलले हारलाई सहज स्वीकार गर्नुको साटो लोकप्रियतावाद र अराजकताको जगमा नयाँ शक्ति उदाएको आरोप लगाएका छन् । उनले यस्तो शक्तिसँग राष्ट्र, राष्ट्रियता, विचार, सिद्धान्त र स्पष्ट राजनीतिक दृष्टिकोणको अभाव रहेको दाबी मात्र गरेनन्, दीर्घकालीन परिणाम दिन नसक्ने ठोकुवा गरे । 

महासचिव पोखरेलले पराजयका कारण मिहिन ढंगले पहिचान गरी अगाडि बढ्न निर्देशन दिएका छन् । एमाले अध्यक्ष केपी ओली र पार्टीविरुद्ध ‘नयाँ बनाम पुरानो’ भाष्य निर्माण गरी जनतामा भ्रम फैलाइएको पनि पोखरेलको भनाइ छ । भ्रम क्रमश: चिर्दै एमाले पुन: स्थापित हुने उनको दाबी छ ।

एमाले सचिव पद्मा अर्यालले पराजयको सूक्ष्म अध्ययन गरी निष्कर्ष कार्यान्वयन गर्ने बताइन् । ‘सामूहिक हिसाबले छलफल गरेर निष्कर्ष निकालेको छैन । औपचारिक समीक्षा बैठकमा परिणामका कारणहरूको अध्ययन गरिनेछ । यद्यपि नेतृत्व र पार्टीविरुद्ध प्रायोजित भ्रम, विशेष गरी भदौ २३–२४ का घटनासँग जोडिएको प्रचार पराजयका कारणमध्ये देखिन्छन्,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘साथै एमाले भौगोलिक संगठनमा केन्द्रित रहँदा विरोधीहरूले सामाजिक सञ्जालमार्फत प्रभाव विस्तार गरे । पराजयमा यो पनि एउटा कारण बनेको छ ।’

अर्का सचिव छविलाल विश्वकर्माले अपेक्षाअनुसार परिणाम नआएकाले पार्टीले वस्तुनिष्ठ समीक्षा गर्ने बताए । ‘परिणाम जस्तो आएको छ, त्यसलाई हेरेर समग्रमा वस्तुनिष्ठ ढंगले समीक्षा हुन्छ । कार्यकर्ता पंक्तिले कसरी लिएका छन्, प्रदेश, जिल्ला संरचनाहरूले कसरी लिएका छन् ? त्यसको आधारमा निष्कर्षमा पुग्छौँ,’ उनले भने, ‘हारका कारणहरू पक्कै छन्, ती कारणको पहिचान भएपछि समाधान खोज्ने हो र कार्यान्वयन गर्ने गरी अगाडि बढ्ने हो ।’ 

चैत अन्तिम साता मात्र बैठक बोलाउने एमालेको तयारी
एमालेले तत्काल बैठक बोलाएर चुनावको समीक्षा नगर्ने भएको छ । पहिले वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहमा चुनावी समीक्षा गरेर माथि प्रतिवेदन प्राप्त भएपछि मात्र केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी छ । चैतको अन्तिम सातातिर केन्द्रीय कमिटी बैठक बोलाउन सकिने महासचिव पोखरेलले भर्चुल बैठकबाट जानकारी गराएका थिए । अध्यक्ष ओली शोकमा रहेका कारण पनि तत्काल बैठकको सम्भावना नरहेको सचिव छविलाल विश्वकर्माको भनाई छ । ‘अध्यक्ष शोकमा हुनुहुन्छ । शोकपछि बैठक बसेर निर्वाचनको वस्तुनिष्ठ समीक्षा हुन्छ,’ उनले भने । ओलीका पिता मोहनप्रसाद ओलीको केही दिनअघि निधन भएको थियो । ०७९ को निर्वाचनमा समानुपातिकतर्फ पहिलो पार्टी बनेको एमाले यसपटक तेस्रोमा खुम्चिएको छ । अघिल्लो चुनावमा प्रत्यक्षतर्फ ४४ स्थानमा जित हासिल गरेको एमालेले योपटक ९ स्थान मात्र जितेको छ । ४१ स्थानमा निकटतम प्रतिद्वन्द्वी भएको छ भने ४९ स्थानमा जमानत जफत भएको छ । 

यस्तै, नेकपाले पनि औपचारिक समीक्षा सुरु गरेको छैन । पार्टीले निर्वाचन क्षेत्रस्तरमै समीक्षा गरी प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएको छ । केन्द्रीय नेताहरूले यस निर्वाचनलाई ‘इतिहासकै भावनात्मक निर्वाचन’को संज्ञा दिएका छन् । निर्वाचनमा प्रतिस्पर्धा विचार र एजेन्डाभन्दा बढी परिवर्तनको चाहना र नयाँप्रतिको आकर्षणमा केन्द्रित भएको नेताहरूको विश्लेषण छ । 

नेकपा प्रचार संयन्त्रका संयोजक अग्नि सापकोटाका अनुसार मतदाताले अपेक्षाभन्दा फरक परिणाम आएको स्वीकार गर्दै विस्तृत समीक्षा गर्ने बताए । ‘औपचारिक समीक्षा गर्न बाँकी छ । यो परिणाम अपेक्षित भएन, राम्रोसित समीक्षा गर्छौँ । अहिलेको निर्वाचन इतिहासकै भावनात्मक देखियो,’ उनले भने, ‘दलका दृष्टिकोण, एजेन्डा, विचार, सिद्धान्तमा प्रतिस्पर्धा भएन । परिवर्तनप्रतिको चाहनाले गर्दा मतदाताले नयाँतिरको आकर्षण मात्र हेरे । उम्मेदवारको योग्यता, क्षमता हेरेनन्, नयाँ र पुरानो भन्ने भाष्य स्थपित गरियो ।’

तल्लो तहसम्म एकता प्रक्रिया पूरा नहुँदा परिणाममा असर परेको प्रारम्भिक निष्कर्ष पार्टीले निकालेको छ । पार्टी एकता प्रक्रिया अपूर्ण रहँदा र संगठन समायोजन नसकिँदै निर्वाचनमा होमिनुपर्दा चुनाव चिह्न जनतामाझ प्रभावकारी रूपमा स्थापित हुन नसकेको निष्कर्ष नेकपाको छ । गत कात्तिकमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित २२ दल र समूहको एकताबाट नेकपा गठन भएको हो ।

प्रत्यक्षतर्फ ८ सिट जितेको नेकपा १५ स्थानमा निकटतम प्रतिद्वन्द्वी बनेको छ भने ९९ क्षेत्रमा जमानत जफत भएको छ । अघिल्लो निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले १८ र एकीकृत समाजवादीले १० सिट जितेका थिए ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले संयुक्त सर्कुलर जारी गर्दै सबै निर्वाचन क्षेत्रलाई विस्तृत समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएका छन् । प्रचार योजना, आर्थिक परिचालन, सामग्री वितरण, डिजिटल तथा सामाजिक सञ्जाल प्रयोग, बुथ व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत सबै पक्षमा विस्तृत समीक्षा गर्न निर्देशन दिइएको छ । 

सुझावित समाचार