सूर्य नेपाल वेस्टर्न ओपन आजदेखि

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

 सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गत २६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि पोखराको हिमालयन गल्फ कोर्समा सुरु हुँदै छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए)द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । तीन दिनसम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ । दोस्रो दिनको खेल समाप्तिपछि कट लागू हुनेछ । जहाँ १८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीले अन्तिम १८ होलका लागि कट बनाउनेछन् । 

सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यसपटक पुरस्कार धनराशि वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले यसपटक एक लाख ७० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले एक लाख २५ हजार र तेस्रो हुने खेलाडीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । साबिक विजेता र नेपालका एक नम्बर प्रोफेसनल गल्फर नीरज तामाङसहित यो कोर्समा कोर्स रेकर्ड बनाएका भुवन नगरकोटी, सञ्जय लामा र जयराम श्रेष्ठलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ । प्रोफेसनल खेलाडीलाई एमेच्योर राहुल विश्वकर्माले कडा चुनौती दिन सक्छन् ।

माछापुच्छ्रे हिमालको मनोरम दृश्य र विजयपुर खोलाको किनारमा रहेको आकर्षक कोर्सलाई नेपालकै चुनौतीपूर्ण गल्फ कोर्स मानिन्छ । यो कोर्सलाई साहसिक गल्फ कोर्समध्ये एक भनेर गल्फ डाइजेस्टले समेत मान्यता दिएको छ । जहाँ गल्फरका लागि पनि उत्कृष्ट प्रदर्शन गर्नु चुनौती हुनेछ । हिमालयन गल्फ कोर्सलाई यो प्रतियोगिताका लागि तयार पारिएको छ । पार–६९ को १६ वटा होल रहेको कोर्समा पहिलो र दोस्रो होल दुईपटक खेलिनेछ । एनपिजिएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले लगातार २६औँ संस्करण आयोजना गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । ‘यसपटक पनि प्रोफेसनल र एमेच्योर खेलाडीबिच रोमाञ्चक र प्रतिस्पर्धात्मक प्रदर्शन हुने अपेक्षा छ,’ श्रेष्ठले भने । 

सुझावित समाचार