नेपाल आएका पर्यटकलाई हेलिकोप्टरमा जबर्जस्ती ‘उद्धार’ गरी बिमा रकम हुत्याउने धन्दामा संलग्न पर्यटन व्यवसायीले उजुरी गर्ने पर्यटकलाई धम्क्याउन थालेका छन् । आफूविरुद्धका उजुरी फिर्ता लिन भन्दै उनीहरूले पर्यटकलाई धम्क्याउन थालेका हुन् । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोले पानोराम हिमालय ट्रेकिङका सञ्चालक पासाङ शेर्पालाई पक्राउ गरेपछि उनका दाइ तेन्जिङ शेर्पाले एक क्यानेडियन पर्यटकलाई इमेल गरी आफूहरूविरुद्धको उजुरी फिर्ता लिन दबाब दिएका हुन् । सिआइबी स्रोतका अनुसार त्यसबारेमा पनि ती पर्यटकले सिआइबीलाई जानकारी गराएका छन् ।
सो ट्रेकिङका अध्यक्ष पासाङलाई सिआइबीले गत २७ फागुनमा पक्राउ गरेको हो । उनका दाइ तेन्जिङ पनि सिआइबीको छानबिनमा रहेको स्रोत बताउँछ । सो कम्पनीमार्फत ट्रेकिङ गएका ती क्यानेडियन नागरिकलाई उनको इच्छाविपरीत हेलिकोप्टरमा उद्धार गरी उनीहरूकै समूहको एक अस्पतालमा भर्ना गरी लाखौँ बिमा असुली गरिएको थियो । सो विषयमा प्रमाणसहित ती पर्यटकले उजुरी गरेका छन् । सो उजुरीले प्रहरीले छानबिन गर्नुका साथै आफ्नो कम्पनीको व्यवसायसमेत चौपट भएको भन्दै इमेलमार्फत उजुरी फिर्ता लिन लगाइएको छ ।
सिआइबी स्रोतका यसरी हालसम्म चारजना विदेशी पर्यटकले उजुरी दिइसकेका छन् । उनीहरूकै उजुरीका आधारमा सिआइबीले पहिलो चरणको अनुसन्धान पूरा गरेर आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । सिआइबीले १६ ट्रेकिङ कम्पनी, चार हेलिकोप्टर कम्पनी, पाँच रेस्क्यु कम्पनी, तीन अस्पताल, तीनजना बिमा कम्पनीका स्थानीय एजेन्ट र एक ट्रेकिङ गाइडको संलग्नता पुष्टि देखिएको भन्दै ती कम्पनीका ३३ जनाविरुद्ध मुद्दा सिफारिस गरेको छ ।
ब्युरोले चारवटा कसुरमा कारबाहीको सिफारिस गरेको छ । संगठित अपराधसहित राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको ब्युरोले जनाएको छ ।
३३ मध्ये प्रहरीले १० जनालाई थुनामै राखी अनुसन्धान गरिरहेको छ । माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलियालाई पक्राउ गरिसकेको छ । त्यस्तै, श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना, वायुसेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह, रोयल होलिडेजका सन्दीप तिवारी तथा पानोराम ट्रेकिङका पासाङ शेर्पालाई पनि पक्राउ गरी हिरासतमा राखिएको हो । उनीहरूको सम्पत्तिउपर भने दोस्रो चरणमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
रामहरि शर्मा काफ्ले, प्रमुख सरकारी वकिल कार्यालय, काठमाडौं
अनुसन्धान प्रतिवेदनमाथि अध्ययन भइरहेको छ । केही दिनमै अभियोगपत्र दर्ता गर्छाैँ ।